लक्षितले नै पाएनन् खोप

‘खोपको मात्रा थोरै छ, लगाउन चाहने धेरै छन्’

जेष्ठ २८, २०७८

मोहन बुढाऐर, भवानी भट्ट

कञ्चनपुर/धनगढी — कञ्चनपुरको महेन्द्रनगर बजारस्थित नेपाल परिवार नियोजन संघको कार्यालयमा तीन दिनदेखि कोरोनाविरुद्धको खोप लगाउनेको भीड लागेको छ । बिहानदेखि साँझसम्मै खोप लगाउनेहरू आइरहेका छन् । बजार क्षेत्रमा मात्रै होइन ग्रामीण भेगमा समेत खोप लगाउनेको भीड त्यति नै छ । स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई भीड व्यवस्थापनमै समस्या देखिएको छ ।

खोपको मात्रा सीमित आउनु र लगाउन चाहने धेरै भएका कारण हरेक केन्द्रमा भीड बढी भएको हो । सरकारले पछिल्लो पटक भेरोसेल कम्पनीको खोप ६२ देखि ६४ वर्ष उमेर समुहका वृद्धवृद्धालाई लगाउने नीति लिएको छ । सोहीअनुसार खोप र स्वास्थ्यकर्मीको व्यवस्थापन गरिएको छ ।

तर दोस्रो लहरको कोरोना संक्रमणको त्रासका कारण अहिले खोप लगाउन धेरैले चाहेका छन् । जसका कारण तोकिएको उमेर समूह मात्रै नभई अन्य उमेर समूहले समेत लगाउन चाहेको देखिन्छ, कतिपय ठाउँमा तोकिएको उमेर बाहेककाले लगाएका पनि छन् । बुधबार प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले एक सूचना जारी गरी तोकिएको समूहबाहेकलाई खोप लगाउने स्वास्थ्यकर्मी र खोप पाउने व्यक्ति दुवैलाई कारबाही गरिने चेतावनीसमेत दिएका छन् । तोकिएको उमेर समूह बाहेककाले समेत खोप लगाएको सूचना आएपछि प्रजिअ महतोले उक्त चेतावनीयुक्त सूचना जारी गरेका हुन् ।

‘खोपको मात्रा थोरै छ, लगाउन चाहने धेरै छन्,’ जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका जनस्वास्थ्य निरिक्षक सिद्धराज भट्टले भने, ‘कहींकतै तोकिएको उमेर समूह बाहेककाले पनि लगाउन खोज्दा केही समस्या भएको देखिन्छ ।’ दोस्रो लहरको संक्रमणका कारण यसअघि खोप लगाउन छुटेकाहरूसमेत खोप केन्द्रमा धाइरहेको उनले बताए । उनका अनुसार जिल्लामा ६२ देखि ६४ वर्ष उमेर समूहको जनसंख्याबारे यकिन विवरण संकलन भएको छैन ।

स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा साढे ७ हजार खोप आएको छ । तोकिएको उमेर समूहलाई खोप लगाइसके पनि फ्रन्ट लाइनमा काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र कर्मचारीहरूलाई समेत लगाउने योजना रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । बुधबारसम्म ४ हजार ५ सय ५३ जनाले खोप लगाइसकेका छन् । बिहीबारको विवरण संकलन भइसकेको छैन । यसअघि ८ हजार ७ सय २३ ले खोप लगाएका छन् । जसमध्ये ६ हजार ७४० ले दोस्रो डोजसमेत लगाइसकेका छन् ।

‘दोस्रो लहरको संक्रमणको असर देखेर यसअघि छुटेकाहरू पनि खोप लगाउन खोजिरहेका छन्,’ स्वास्थ्य कार्यालयका प्रमुख शिवराज सुनारले भने, ‘तर अहिले हामीसंँग सीमित खोप भएकाले तोकिएको उमेर समूह बाहेकलाई लगाउन सकिने अवस्था छैन ।’ उनका अनुसार यसअघि छुटेका ६५ वर्षभन्दा माथिको समूहलाई पनि खोप लगाइँदै छ ।

‘तोकिएको बाहेकलाई पनि खोप लगाएको गुनासो आएपछि सम्बन्धित कार्यालयलाई सचेत पारिएको हो,’ प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले भने, ‘ठोस रूपमा गुनासो आएको भए कारबाही गरिन्थ्यो तर त्यस्तो आएको छैन ।’ उनका अनुसार सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, जनप्रतिनिधि र पत्रकारहरू धेरै मात्रामा छुटेको जानकारी आएको छ । तर अहिले खोपको मात्रा नै कम भएकाले अन्य समूहलाई दिन सकिने अवस्था नरहेको उनले बताए ।

लक्षित समूहकै वञ्चित 

कैलालीको धनगढी उपमहानगरपालिकामा ६२ देखि ६४ उमेरकालाई लक्षित गरी आएको कोरोना भाइरसविरुद्धको खोप ५ हजार ७ सय जनाले लगाउन पाएका छन् । ‘उपमहानगरपालिकाका लागि आएको ५ हजार ७ सय डोज खोप पूरै लगाइयो,’ स्वास्थ्य शाखाका कृष्ण बोहराले भने, ‘कुन वर्गले कति लगाए त्यो रेकर्ड निकाल्दै छौं ।’ उनले ६२ देखि ६४ वर्षको उमेर समूहलाई लक्षित गरी खोप आएको भए पनि अन्यले पनि लगाएको बताए । पहिलो र दोस्रो चरणमा छुटेका स्वास्थ्यकर्मी, सञ्चारकर्मी, कर्मचारी र सुरक्षाकर्मीले पनि लगाएको उनले बताए ।बोहराले खोप अपुग भए नभएको तथ्यांकको विश्लेषण गरेपछि मात्रै थाहा हुने बताए । बिहीबार अन्तिम दिन अन्तिम समयसम्म पनि लाइन नै थियो,’ उनले भने, ‘जति खोप प्राप्त थियो । सबै लगायौं ।’

लक्षित समूहले भन्दा धेरै अन्य उमेर समूहकाले लगाएकाले विरोध पनि भएको छ । लक्षित समूहकाहरू धेरै जना खोपबाट वञ्चित भएको धनगढी ५ का सिद्धराज भाटको दाबी छ । ‘सबैले खोप पाउनु राम्रो हो,’ उनले भने, ‘तर उमेर समूहकालाई पहिला भनेपछि वृद्धवृद्धाको लाइनमा युवा किन कसरी आए ।’ नगरपालिका कर्मचारी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, राजनीतिक पहुँच भएका आफन्तले १८ वर्षमाथिका घरका सबै परिवारलाई खोप लगाएको उनको दाबी छ । धनगढीका ६१ वर्षीय सिद्धराज भट्टले वृद्धवृद्धाले सहज रूपमा खोप पनि लगाउन नपाएको बताए । ‘अन्य उमेर समूहका भीडमा आफूले लाइनमा निकै धक्कामुक्की सहनुपर्‍यो,’ उनले भने, ‘सरकारले वृद्धवृद्धाहरूलाई सहज रूपमा खोप लगाउने व्यवस्था गर्न सकेन ।’

प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. गुणराज अवस्थीले लक्षित समूहभन्दा बाहिरका समूहलाई लगाएको गुनासोसम्बन्धी छानबिन भइरहेको बताए ।

कोरोना खोपकोरोना भाइरस

मोहन

भवानी भट्ट कान्तिपुरका कञ्चनपुर संवाददाता हुन् ।

Link copied successfully