बैतडीका संक्रमित डिस्चार्ज, अस्पतालबाट सिधै थुनामा

जेष्ठ २१, २०७७

तृप्ति शाही

बैतडी — बैतडीका पहिलो कोरोना संक्रमित बुधबार निको भएर डिस्चार्ज भएका छन् । शिवनाथ गाउँपालिका २ का २२ वर्षका पुरुषको जिल्ला अस्पतालको आइसोलेसन कक्षमा उपचार भइरहेको थियो । 

जिल्ला अस्पतालका प्रमुख वसन्तराज जोशीका अनुसार उनी भर्ना भएको १३ दिनमा निको भएका हुन् । २४ घण्टाको फरकमा उनका दुईवटा रिपोर्ट नेगेटिभ आएपछि उनलाई अस्पतालले डिस्चार्ज गरेको जोशीले बताए । 

भारतबाट र्फर्केका उनी ज्यान मुद्दामा जिल्ला प्रहरी कार्यालय बैतडीको हिरासतमा थिए । त्यहीबेला पीसीआर परीक्षण गर्दा उनमा कोरोना पुष्टि भएको थियो । उनमा लक्षण भने देखिएको थिएन । अस्पतालले डिस्चार्ज गरेसँगै उनलाई थुनामा पठाइएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख किसन चन्दले बताए । जिल्ला अदालतले थुनामा पठाएकै दिन उनलाई कोरोना देखिएको थियो । 

गत वैशाख १३ गते १९ वर्षीया किशोरीको हत्या आरोपमा उनी वैशाख १५ गते पक्राउ परेका थिए । विहे गर्छु भनेर लगेकी किशोरी खोलामा मृत अवस्थामा भेटिएकी थिइन् । चैतको ६ गते उनी भारतको दिल्लीबाट फर्किएका थिए ।

बैतडीमा अहिले पाटन नगरपालिकाका एकजना कोरोना पोजेटिभ पुरुषको  पाटन प्राथमीक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

कोरोना भाइरस

तृप्ति शाही कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully