दाङका एक जना कोरोना संक्रमितलाई निमोनिया, अवस्था चिन्ताजनक

सन्जु पौडेल

तिलोत्तमा, रुपन्देही — कोरोना संक्रमित एक युवालाई निमोनिया भएपछि अवस्था चिन्ताजनक भएको छ । जेठ १७ गतेदेखि दाङको बेलझुण्डी अस्पतालमा भर्ना भई उपचार गराइरहेका दाङको बबई गाउँपालिका–६ का ३० वर्षीय कोरोना संक्रमित पुरुषमा निमोनिया देखिएको बुटवल कोरोना अस्पतालका फोकल पर्सन डाक्टर सुदर्शन थापाले बताए ।

दाङका एक जना कोरोना संक्रमितलाई निमोनिया, अवस्था चिन्ताजनक

उनलाई बेलझुण्डीबाट मंगलबार बुटवलस्थित कोरोना अस्पताल रिफर गरिएको थियो । बिरामीको अवस्था चिन्ताजनक रहेको डा. थापाले बताए ।

‘कोरोनाको सिम्प्टोमेटिक लक्षणमा निमोनिया देखिएको छ,’ उनले भने, ‘यो गम्भीर केस हो ।’ संक्रमित युवाको आईसीयूमा राखेर उपचार भइरहेको र श्वासप्रश्वासमा सहजताका लागि अक्सिजन दिइराखिएको डा. थापाले बताए । बिरामीलाई दाङमा ज्वरो धेरै आएपछि जाँच गर्दा डेंगुको संक्रमण पनि देखिएको थियो । बुटवलमा एक्सरे गर्दा निमोनिया पनि देखिएको उनले बताए ।

गत जेठ ११ गते भारतको गुजरातबाट आई १ रात तुलसीपुरको क्वारेन्टाइनमा बसेका उनी र उनका ३ साथी १२ गते बबई गाउँपालिकाको हापुरेस्थित क्वारेन्टाइनमा गएका थिए ।

जेठ १७ गते कोरोना पुष्टि भएका ती व्यक्तिका ३ जना साथीको पहिलो रिपोर्ट नेगेटिभ आएको र दोस्रो रिपोर्टका लागि बुधबार परीक्षण गरिने बबई गाउँपालिकाका स्वास्थ्य संयोजक हरिबहादुर खड्काले बताए ।

प्रकाशित : जेष्ठ २१, २०७७ १५:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?