लकडाउनले कुञ्चा सार्न ढिलाइ

वैशाख २३, २०७७

मनोज बडू

दार्चुला — व्यासबाट भारतको बाटो हुँदै कात्तिकतिर उनीहरु दार्चुला सदरमुकाममा कुञ्चा सरेका हुन् । वर्षेनी हिउँदका ६ महिना चिसो छल्न उनीहरु बेसी झर्ने गरेका छन् । गर्मी सुरु हुन थालेपछि आफ्नै थातथलो बसाइँ सर्ने गर्छन् । यसरी वर्षेनी बसाइँ सर्ने परम्परालाई शौका समुदायले कुञ्चा सार्ने भन्ने गरेका हुन् । तर यसपटक भने कोरोनाको महामारीका कारण नेपाल र भारत दुवैतर्फ लकडाउन भएपछि भारततर्फको बाटो बन्द भएर उनीहरु व्यास फर्कन पाएका छैनन् ।

‘कात्तिकतिर बेसी झरेका हाैँ,’ व्यास गाउँपालिका–१ तिंकरका दानसिंह तिंकरीले भने, ‘भारतको बाटो भएर जानुपर्छ, यसपाला लकडाउनले आउजाउ बन्द छ वैशाख तेस्रो सातासम्म घर फर्कन पाएका छैनौं ।’ उनका अनुसार कात्तिकतिर कुञ्चा सारेर बेसी झरेका शौकाहरु आफ्ना वस्तुभाउसहित यतिबेलासम्म व्यासतिर फर्किसकेका हुन्थे, यो वर्ष भने कहिले उता उक्लने हो ठेगान छैन । ‘यो वर्ष कोरोना भाइरसका कारण लकडाउनले सीमा क्षेत्रको बाटो डेढ महिनादेखि बन्द छन्,’ तिंकरीले भने, ‘जनावरलाई गर्मीसँंगै व्यासमा खेती लाउने समय पनि घर्किरहेको छ ।’ 

‘व्यासको तिंकर गाउँमा वैशाख तेस्रो सातापछि लगाएको खेती फल्दैन’ स्थानीय मोहनसिंह तिंकरीले भने, ‘अहिलेसम्म कुञ्चा जाने वातावरण बनेको छैन ।’ चैतको दोस्रो साताबाट कुञ्चा सार्ने विषयमा सरोकारवाला निकायलाई जानकारी गराएपनि अहिलेसम्म कहाँबाट भएर व्यास उक्लने हो भन्ने बिषयमा ठेगान हुन नसकेको उनको भनाइ छ । 

केही वर्षदेखि व्यास जाने पैदल बाटोसमेत नहुँदा उनीहरुले भारतीय बाटो प्रयोग गरी कुञ्चा सार्ने गरेका छन् । दानसिंहले भने,  ‘व्यास जाने घोरेटो बाटो पहिले राम्रै थियो । अहिले एक दशकदेखि बिगँ्रदै गएको बाटो विगत चार/पाँच वर्षदेखि बन्द नै भएको अवस्था छ ।’ बाटो नभएकै कारण उनीहरुलाई भारतीय भूभाग भएर आउजाउ गर्नुपरेको हो ।

खलंगाबाट छाङरु र तिंकर पुग्न चौपायासहित ५/६ दिनको पैदलयात्रा गर्नुपर्ने छाङरुका स्थानीय शंकर बोहराले बताए । पहिलो दिन खलंगाबाट ऐलागाड, तवाघाट, दोस्रो तिउतला, बर्ति तेस्रो गर्भाधार, चौथो दिन घाटीबगड, पाँचौ दिन गब्र्याङ, छाङरु र अन्तिम दिन तिंकर गाउ पुगिने मोहनसिहले बताए । ‘भारतको बाटोबाट कुञ्चा सार्न धेरै समस्या छ’ उनले भने, ‘गाईबस्तुको क्वारेनटाइन चेक गर्नुपर्छ, ठाउँ–ठाउँमा भारतीय सुरक्षाकर्मीको दुव्र्यवहार खेप्नुपर्छ ।’ 

‘विगतको द्वन्द्वकालसम्म स्वदेशको बाटो नै प्रयोग गरी खलंगा–व्यास कुञ्चा आवतजावत गर्थे,’ तिंकरका निरञ्जन बुढाथोकीले भने, ‘पञ्चायतकाल अघि केही भारतीय नागरिकका कुञ्चासमेत हाम्रो बाटो प्रयोग गरी व्यास क्षेत्रमा गएका छन् । अहिले हामीले भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता सिर्जना भएको छ ।’ प्रत्येक वर्ष व्यास जाने घोरेटो बाटो मर्मतका लागि व्यास गाउँपालिकाले पनि बजेट छुट्याउँदै आएपनि अझै व्यास जाने बाटो बन्न सकेको छैन । 

अहिले भारतीय क्षेत्रमा पनि लिपुलेक जाने सडक निर्माणाधीन भएकोले घाटीबगड दोपखे क्षेत्रमा बाटो समस्याग्रस्त छ । बुढाथोकीले भने, ‘त्यो क्षेत्रमा नेपाल भारत, भारत नेपालको भूभागमा हिँड्नुपर्ने हुन्छ । करिब दुई–तीन किलोमिटर क्षेत्रमा नेपालतर्फको बाटो प्रयोग गर्नुपर्छ । 

व्यासको तिंकर र छाङरु गाउँमा गरी १ सय १७ परिवारको बसोबास रहेको छ । वर्षमा एक मात्रै खेती हुने व्यासका स्थानीय फापर, जाैं, उवा र नप्पल लगायतका अन्नबाली लगाउने गर्दछन् ।  आदिवासी जनजाती व्यासी शौकाहरु व्यास गाउँपालिकाको तिंकर, छाङरु, दुम्लिङ, राप्ला तथा अपि हिमाल गाउँपालिकाको वडा नम्बर ६ सितोलामा बसोबास रहेको छ । 

लकडाउन

मनोज बडू कान्तिपुरका दार्चुला संवाददाता हुन् ।

Link copied successfully