पर्याप्त स्वास्थ्य सामग्री नहुँदा उपचारमा कठिनाइ 

चैत्र २०, २०७६

तृप्ति शाही

बैतडी — सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशनालयले स्वास्थ्य सेवा विभागसँग सय थान थर्मामिटर माग गरेकोमा १० वटा मात्र प्राप्त भएपछि बैतडीको हिस्सामा एक थान परेको छ । विभागले सोमबार निर्देशनालयलाई उपलब्ध गराएका स्वास्थ्य सामग्रीहरु बुधबार सुदूरपश्चिमका विभिन्न जिल्लामा पठाइएको हो । प्राप्त सामग्रीहरु मागभन्दा निकै थोरै रहेको बैतडी स्वास्थ्य कार्यालयले जनाएको छ । 

६५ वटा स्वास्थ्य संस्था, दुई प्राथमिक स्वास्थ्य केन्द्र र एक जिल्ला अस्पताल रहेको बैतडीमा ३० थान मात्र गाउन आएको छ । व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) किट भनिए पनि पूरा शरीर नछोपिने गाउन मात्र आएको स्वास्थ्य कार्यालयका प्रमुख योगेश भट्टले बताए । उनका उनुसार ३० वटा मात्रै एन ९५ माक्स आएको छ । सर्जिकल माक्स २५ सय र तीन हजार ग्लोभ्स आएको छ । 

अहिले प्राप्त भएका स्वास्थ्य सामग्री आपूर्तिको ठेक्का सम्झौता रद्द भएको र कमसल सामान आएको भन्ने चर्चा भए पनि आफूहरुले प्रयोग गर्न थालेको भट्टले बताए । ‘केन्द्रबाट प्रयोग गर्ने वा नगर्ने भन्नेबारे केही खबर आएको छैन । हामीले प्रयोग गर्ने नै भनेका छौं,’ उनले भने । उनले केही स्वास्थ्य सामग्री जिल्ला अस्पताललाई दिएको र बाँकी पालिकामा पठाउने तयारी गरेको जानकारी दिए । 

४५ जना स्वास्थ्यकर्मीले सेवा दिइरहेको जिल्ला अस्पतालका कर्मचारीहरु भने ती सामग्री आइपुगेको खबर पाएर सुरुमा निकै खुसी देखिए पनि अहिले निरास छन् । सोचेजस्तो सामग्री नभएको अस्पतालका प्रमुख डा. वसन्तराज जोशीले बताए । ‘हामी सन्तुष्ट छैनौ, सामान गुणस्तरीय पनि छैन,’ उनले भने । 

सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थीले सोमबार प्राप्त भएका सामग्रीहरु विभिन्न जिल्लामा पठाई प्रयोगसमेत हुन लागेको जानकारी दिए । ‘विभागबाट जेजति परिमाणमा प्राप्त भयो सबै बाँडफाँट गरी पठाएका हौं,’ उनले भने, ‘आपूर्ति कम भएको छ, अर्को लटमा आउने सामग्री छिटोभन्दा छिटो पठाउन केन्द्रमा माग गरिरहेका छौं ।’

तृप्ति शाही कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully