विश्वकपमा ६४ टिमलाई सहभागी गराउनु पर्ने सुझावमा समीक्षा गर्न सकिने फिफा अध्यक्ष जियानी इन्फान्टिनोको भनाइ।
डालास — ४८ टिम सहभागी पहिलो विश्वकप फुटबल सकिएको केही दिन पनि भएको छैन । फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले नयाँ अझ ठूलो प्रतियोगिताको बहस सुरु गरिसकेका छन् ।
इन्फान्टिनोले यस्तो सम्भावनालाई अस्वीकारसमेत गरेका छैनन् । केही गरेर यस्तो निर्णय साँच्चै भयो भने फुटबलको अर्थतन्त्रलाई नै जरादेखि फेर्नेछ । विश्वकपको समाप्तिमा अध्यक्ष इन्फान्टिनोले स्विस टेलिभिजनसँग लामै कुराकानी गरेका छन् ।
त्यस क्रममा उनले प्रतियोगिताको समीक्षा गर्न योग्य विभिन्न विचारमध्ये एउटा ६४ टिमको विश्वकप मानेका छन् । उनी अबको विश्वकप अझ ठूलो हुनसक्ने मान्छन् । साँच्चै यस्तै भयो भने फुटबलको अर्थ कति ठूलो हुनेछ भनेर अनुमान सुरु भइसकेको छ ।
जति ठूलो प्रतियोगिता, व्यवस्थापकीयमा अझ धेरै चुनौती तय छ । अनि धेरै रंगशाला, धेरै होटल, धेरै यातायात । समय पनि उत्तिकै धेरै लाग्ने भयो । सबैभन्दा ठूलो असर भने आर्थिक प्रभाव नै रहनेछ । धेरै देशको विश्वकपका अर्थ छनोट प्रतिक्रिया पहिले जस्तो रहने छैन । यसले छनोट प्रतियोगिताको व्यावसायिक मूल्य घटाउने छ, तर फिफाको
आफ्नै प्रमुख प्रतियोगिताको महत्त्व भने बढ्ने छ । छनोटको व्यावसायिक मूल्य घट्नुको अर्थ फुटबलका ६ महादेशका महासंघ फिफाको आर्थिक सहयोगमा बढी निर्भर हुनेछन् ।
यसले स्वाभाविक रूपमा फिफाको आर्थिक हैसियत मात्र बढ्ने छैन, शक्ति पनि उत्तिकै विस्तार हुनेछ । युरोपेली फुटबल महासंघ (यूईएफए) को अध्यक्ष एलेक्जान्डर सेफेरिनले गत वर्ष भनेका थिए, ‘धेरै टिमको विश्वकप न यो मूल प्रतियोगिताकै लागि राम्रो हो न त छनोट चरणका लागि । त्यसैले म यो विचारको समर्थन गर्दिनँ ।’
युरोपको यो अडानमा अहिलेसम्म परिवर्तन आएको छैन । एसियाली फुटबल महासंघ (एएफसी) का अध्यक्ष शेख सलमानले पनि विरोध गरेका थिए । उनको प्रश्न थियो, यो टिम बढ्ने क्रम कहाँ गएर रोकिने हो त ? फिफाले यस्ता प्रश्नको अहिलेसम्म उत्तर दिएको छैन । इन्फान्टिनो आफैं भन्छन्, ‘जब विश्वकपको आयोजना हुनेछ, त्यो पूरा विश्वकै लागि हुनुपर्छ, केवल युरोप र दक्षिण अमेरिकी देशका लागि मात्र हुनुहुँदैन ।’
उनी तर्क गर्छन्, ‘जबसम्म साना देशलाई विश्वकपमा सहभागिताको अवसर दिइन्न, त्यतिबेलासम्म उनीहरूमा खेलको विकासको अवसर कम हुन्छ ।’
अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गरेको यसपल्टको विश्वकपमा सन् १९९८ यताकै सबैभन्दा बढी ठूलो प्रतियोगिता थियो, ३२ टिमलाई छाडेर ४८ मा पुगेको, त्यो पनि ५ साताभन्दा बढीको समय । १ सय ४ खेल । यदि प्रतियोगिता ४ टिमकै समूह हुनेछ भने अन्तिम ३२ को चरण हुनेछ । ६४ टिमको विश्वकपमा १ सय २८ खेल हुनेछ । यो त अहिलेको विश्वकपभन्दा पनि २४ बढी खेल हो, अझ ३२ टिमको विश्वकपभन्दा त दोब्बर नै बढी खेल । यस्तोमा फिफाले खेल तालिका छोट्याएन र एकै समय धेरै खेल खेलाएन भने पनि प्रतियोगिता ५ साताभन्दा बढी चल्नेछ । थप एक साताको बढी समय चाहिनेछ ।
अहिलेसम्म सन् २०३० को विश्वकपका अधिकांश खेल स्पेन, पोर्चुगल र मोरक्कोमा हुनेछ । उरुग्वे, अर्जेन्टिना र पाराग्वेले पहिलो चरणका एक–एक खेल आयोजना गर्नेछन् । ६ आयोजक देशका लागि ६४ टिमको आतिथ्यता गर्नु कम्ती ठूलो चुनौती रहने छैन । पछि गएर यति धेरै टिमको विश्वकप एउटै देशमा गर्नु त असम्भव नै हुनेछ ।
सन् २०३४ को विश्वकप साउदी अरेबिया एक्लैले आयोजना गर्दै छ । अहिले नै साउदीले कसरी पो यो प्रतियोगिताको आयोजना गर्नेछ भनेर प्रश्न उठिसकेको छ । त्यो वर्ष सम्भवतः नोभेम्बर मध्यतिर रमजान सुरु हुने अनुमान छ । त्यसैले विश्वकपका लागि फेरि नोभेम्बर–डिसेम्बरमा फर्किनुपर्नेछ । कतारमा भएको विश्वकपमा यही समय प्रयोग गरिएको थियो ।
यसले विश्व फुटबलको क्यालेन्डरलाई फेरि एकपल्ट प्रभावित पार्नेछ । यसलाई अभूतपूर्व रूपमा पुनर्संरचना गर्नुपर्नेछ । बढी टिमको अर्थ अझ बढी प्रशिक्षण केन्द्र, होटल, यातायातको क्षमता, स्वयंसेवक आदि पनि आवश्यक पर्नेछ । यसले आयोजक देशको पयर्टन उद्योगलाई पनि दबाबमा राख्नेछ, आफ्नो पूर्वाधार बनाउनका लागि । विश्वकप ४८ टिमको हुने भन्दै साउदी अरेबियाले १५ आयोजनास्थलको प्रस्ताव गरेको छ ।
त्यसमा रियादमा मात्रै ८, जेद्दामा ४ र अन्य रंगशाला खोबार, नियोम र आभामा छन् । सन् २०२७ को एसिया कप अगाडि नै साउदी अरेबियाले त्यसको निर्माण र पुनर्निर्माण सक्ने भनेको छ । त्यसै अनुसार काम पनि भइरहेको छ । विस्तारित विश्वकपले पहिले नै व्यस्त अन्तर्राष्ट्रिय क्यालेन्डरलाई अझ बढी तनाव थप्नेछ । घरेलु लिग दबाबमा आउने छ ।
यी अधिकांश घरेलु लिग युरोपको परम्परागत समय हुने गर्छ, अगस्टमा सुरु भएर । जापानको जे–लिग अचेल अगस्टतिर सुरु हुन्छ भने अमेरिकाको मेजर लिग फुटबल (एमएलएस) ले पनि आफूलाई त्यही समयअनुसार मिलाउँछ । त्यसैले तय छ, भविष्यमा हुने कुनै पनि हिउँदको समयको विश्वकपले युरोपका ठूला लिगलाई विशेषतः प्रभावित पार्नेछ ।
विश्वकप त्यस्तो स्थितिमा कुनै पनि देशको संघका लागि असाध्यै महँगो साबित हुनेछ । फ्रान्स जस्तो धनी संघका लागि पनि । फ्रान्सेली फुटबल संघले यो विश्वकपका लागि २ करोड ८० लाख डलर खर्च हुने अनुमान गरेको थियो । त्यसका अध्यक्ष फिलिप डियालोले भनेका थिए, फ्रान्स घाटामा नजान आफ्नो टिम कम्तीमा सेमिफाइनल पुग्नुपर्नेछ ।
त्यसैले भ्यानकोभरमा भएको अप्रिलको फिफा कंग्रेसमा उनले फिफाले सहयोगी देशलाई अझ बढी आर्थिक सहयोग गर्नुपर्ने बताएका थिए । अहिले ४८ टिमको विश्वकपले नै सहभागी टिमलाई आर्थिक रूपमा अप्ठ्यारो पारिरहेको छ भने अझ ६४ टिमको विश्वकपले कस्तो प्रभाव पार्ने हो, त्यो अनुमान
गर्न सकिन्न । ठूलो विश्वकपले खेलाडीमाथि पनि दबाब बढाउन छ । उनीहरूले अझ बढी शारीरिक श्रम गर्नुपर्नेछ ।
त्यसले खेलाडीको स्वास्थ्य स्थितिमा प्रभाव पार्न सक्नेछ । अझ ठूलो विश्वकपको अर्थ समर्थकको खर्च पनि उत्तिकै बढ्नेछ । कुरा यत्तिकैमा सकिन्न, सबैभन्दा ठूलो विश्वकपमा आफ्नो विशिष्ट परिचय गुमाउने छ, यसप्रतिको आकर्षण घट्नेछ । यति भन्दाभन्दै पनि अहिलेको ४८ टिमको विश्वकपलाई कसरी मूल्यांकन गर्ने हो, त्यसमा पनि धेरथोक निर्भर हुनेछ ।
