फकल्यान्ड टापुको स्वामित्वलाई लिएर अझै पनि विवाद छ, यही पृष्ठभूमिमा फुटबलका दुई महाशक्ति राष्ट्र भिडेका थिए।
What you should know
एटलान्टा — लियोनल मेसी विश्वकप २०२६ मा इंग्ल्यान्डमाथि प्राप्त बुधबारको जित विशेष रहेको मान्छन् । उनी त्यसमा खुसी पनि रहे । उनी आफैं केन्द्रविन्दुमा रहेको खेलमा अर्जेन्टिना २–१ को पुनरागमन जित रच्न सफल भएको हो । इंग्ल्यान्डले एन्थोनी गोर्डनको गोलमा अग्रता लिएको थियो । तर ३९ वर्षीय मेसीको पासमा इन्जो फर्नान्डेजले बराबरी गोल फर्काए । त्यो ८५ औं मिनेटको समय थियो ।
त्यसपछि मेसीको क्रसमा लाउटारो मार्टिनेजले इन्ज्युरी समयमा निर्णायक र विजयी गोल गरे । मेसीले इंग्ल्यान्डमाथिको जितलाई किन विशेष मानेका हुन् भने त्यसमा ऐतिहासिक अर्थ लुकेको छ । फकल्यान्ड टापुको स्वामित्वलाई लिएर अर्जेन्टिना र इंग्ल्यान्डबीच अझै पनि विवाद छ । यही पृष्ठभूमिमा फुटबल मैदानमा यी दुई महाशक्ति भिडेका थिए ।
सन् १९८२ मा अर्जेन्टिनाले फकल्यान्ड टापुलाई आफ्नो नियन्त्रणमा लिएको थियो । इंग्ल्यान्ड त्यसलाई छुटाउने युद्धमा होमिएको थियो । यस विश्वकपमा अर्जेन्टिनाले कहिल्यै हार नमान्ने खेल खेलिरहेको छ र इंग्ल्यान्डविरुद्ध पनि त्यही नमुना पेस गर्न सफल रह्यो । अर्जेन्टिनाको नकआउट चरणको यात्रा यस्तै विशेषताले भरिएको छ । अन्तिम १६ मा पनि अर्जेन्टिना इजिप्टविरुद्ध दुई गोलले पछाडि रहेको स्थितिबाट खेल जित्न सफल भएको थियो ।
खेलपछि भने, ‘मैले विशेष खुसीको अनुभव गरिरहेको छु । यो यस्तो खेल थियो, जसमा हामी नै जितोस् भनेर अर्जेन्टिनी समर्थकले कामना गरेका थिए । हामीले यो काम गरेर पनि देखायौं ।’
मेसीले आफ्नो खेल जीवनमा इंग्ल्यान्डको सामना गरेको यो नै पहिलो पटक हो । मेसीले सन् १९८६ को विश्वकपमा जस्तै इंग्ल्यान्डविरुद्ध दुई गोल गरेनन्, त्यतिबेला ती दुवै गोल डिएगो म्याराडोनाले गरेका थिए । तर अहिले मेसीले अर्जेन्टिनाका दुवै गोलमा सहयोगी भूमिका निभाए ।
चार वर्षअगाडि कतारमा भएको विश्वकप जितेर ‘लिजेन्ड’ भइसकेका मेसी अहिलेको जितले अझ धेरै माथिल्लो स्तरका खेलाडी भएका छन् । अर्जेन्टिनाले अहिलेसम्म विश्वकपको सेमिफाइनलमा हार सामना गर्नुपरेको छैन र यो क्रम अहिले कायमै रह्यो । अब दक्षिण अमेरिकी टिमसामु लगातार दोस्रोपल्ट विश्वकप जित्ने अवसर छ, सन् १९६२ यता पहिलो पटक ।
त्यति बेला यस्तै प्रदर्शन ब्राजिलको थियो । अब ब्राजिलकै काफुपछि मेसी विश्वकपको तीन फाइनल खेल्ने पहिलो खेलाडी हुनेछन् । मेसीले भनेका छन्, ‘लगातार दोस्रो फाइनल खेल्नु आफैंमा अद्वितीय छ । हामीले ती सबै खेल जितेका छौं, त्यसमा हाम्रो स्थिति अनुकूल थिएन । हामी त्यस्तो टिम हौं, जसलाई आफूमाथि जहिल्यै विश्वास रह्यो ।’
मेसीको यो कीर्तिमान छैटौं विश्वकप हो । यसक्रममा उनले विश्वकपका ३३ खेल खेलेर कीर्तिमान पनि बनाएका छन् । अब अर्जेन्टिनाले आइतबार हुने फाइनलमा स्पेनको सामना गर्नेछ । स्पेनविरुद्ध पनि माथिल्लो स्तरमा मेसीको पहिलो खेल हुनेछ । त्यति मात्र होइन, उनका लागि यो विशेष खेल हुनेछ, किनभने उनी १३ वर्षको उमेरमै बार्सिलोनाबाट खेल्न स्पेन गएका थिए, दुई दशकभन्दा अगाडि ।
बार्सिलोनाबाट खेल्ने क्रममै उनले सबथोक जितेका छन् । यसैक्रममा आफूलाई महान् खेलाडी साबित भए । सन् २०२१ मा मात्र उनले पेरिस सेन्ट जर्मेन (पीएसजी) सँग आबद्ध हुन बार्सिलोना छाडेका थिए । मेसीसँग स्पेनिस पासपोर्ट पनि छ । के पनि विश्वास गरिन्छ भने उनले कुनै दिन पछि गएर बार्सिलोनालाई नै आफ्नो घर बनाउने छन् । तर त्यस अगाडि यिनै मेसी स्पेनको विश्वकप जित्ने अभियानमा बाधा पुर्याउन चाहन्छन् ।
पेले र म्याराडोनाले दुईपल्ट मात्र विश्वकपको फाइनल खेले । त्यसमध्ये म्याराडोनाले एकपल्ट मात्र विश्वकप जितेका थिए । मेसीलाई ती दुवै इतिहास उछिन्ने अवसर छ । अर्कोतर्फ मेसी विश्वकप इतिहासमै सर्वाधिक धेरे २१ गोल गर्ने खेलाडी हुन् । सन् २०२२ मा फ्रान्सलाई हराएर अर्जेन्टिनाले विश्वकप जित्दा मेसीसामु सानले यो खेलबाट बिदा लिने अवसर थियो । तर उनी अहिलेसम्म सक्रिय छन् र आफ्नो जादुयी प्रदर्शन गरिरहेका छन् ।
युरोपेली फुटबल छाडेर पछिल्लो समय अमेरिकामा इन्टर मियामीका लागि खेलिरहेका मेसी यस विश्वकपमा पनि पूर्णतः छाएका छन् । उनको प्रशंसा गर्न इंग्ल्यान्डका प्रशिक्षक थोमस टचेल पनि चुकेनन् । उनले भने, ‘उनी सबै प्रभाव पार्न सक्ने कप्तानी खेलाडी हुन् । उनी जुन टिमबाट खेल्दा पनि उनको प्रभाव हुन्छ ।’ इंग्लिस कप्तान ह्यारी केनले पनि मेसी विशेष रहेको मानेका छन् ।
केनले भने, ‘हामीलाई के लागेको थियो भने खेलको अधिकांश समय मेसीलाई चुप राख्न सफल रह्यौं । तर विश्व फुटबलका उत्कृष्ट खेलाडीले जे गर्छन्, उनले त्यही गरे । अर्जेन्टिनाले लगातार आक्रामण कायम राख्यो र अवसर सिर्जना गरिरह्यो । सबैलाई थाहा छ, उनी कति उत्कृष्ट खेलाडी हुन् । उनले आज फेरि प्रमाणित गरे, उनी वास्तवमै कस्तो खेलाडी हुन् भनेर ।’
