फ्रान्सेली कप्तान केलियन एमबाप्पेले विश्वकप फाइनल प्रवेश गर्न असफल रहेकामा जहिल्यै गुनासो रहने बताउँदै आफ्नो टिमको तर्फबाट रणनीतिक र प्राविधिक भुल भएको स्वीकारेका छन् ।
डालास — फ्रान्सेली कप्तान केलियन एमबाप्पेले विश्वकप फाइनल प्रवेश गर्न असफल रहेकामा जहिल्यै गुनासो रहने बताउँदै आफ्नो टिमको तर्फबाट रणनीतिक र प्राविधिक भुल भएको स्वीकारेका छन् ।
स्पेनको हातबाट सेमिफाइनलमा २–० ले पराजित फ्रान्स प्रतियोगिताबाट बाहिरिएको हो । अन्तिम चारसम्मको यात्रामा एमबाप्पे सबैभन्दा प्रभावशाली खेलाडी रहेका थिए । उनले यसक्रममा ८ गोलसमेत गरेका थिए । तर २७ वर्षीय एमबाप्पेको लगातार तेस्रो फाइनल खेल्न सपना भने पूरा हुन सकेन ।
फ्रान्सेली ब्रोडकास्टर एम–सिक्ससँगको कुराकानीमा एमबाप्पेले आफू असाध्यै निरास भएको बताएका छन् । उनले भनेका छन्, ‘हामीले चाहेजस्तो खेल्नै सकेनौं । हामी रणनीतिक र प्राविधिक खेलमै चुक्यौं । एउटा टिमका रूपमा हाम्रो प्रदर्शन उच्च रहेन । विश्वकपको सेमिफाइनल चरणमा आफूले चाहे जस्तो खेल्न सकेनौं भने हार नै हुन्छ ।’
‘हाम्रो लक्ष्य तीव्र गतिमा खेलेर आक्रमण गर्ने थियो र स्पेनलाई सुस्त बनाउने थियो । खेलमाथि बढी नियन्त्रण लिने पक्षमा हामी स्पेनभन्दा राम्रो थियौं । तर हामीले त्यही गर्न सकेनौं,’ एमबाप्पेले थपे, ‘फाइनल पुग्ने हाम्रो सपना थियो, त्यो पूरा भएन, यसलाई स्वीकार्नैपर्छ ।’ एमबाप्पेले माने स्पेनविरुद्धको हार
आफ्नो टिमले मध्यपंक्तिमा गरेको कमजोर प्रदर्शनकै कारण थियो ।
स्पेनका रोड्रीसँगै डानी ओल्मो र फाबिन रुइज मैदानको चारैतर्फ छाए, त्यहीं फ्रान्सका लागि एडरिन राबोट र एरेलिन चोमेनी आफैंमा सीमित रहे । एमबाप्पेको विश्लेषण थियो, ‘स्पेनका तीन मध्यपंक्तिका खेलाडीसामु हाम्रा दुई साथीले केही गर्न सकेनन् । यो नै हाम्रो प्रमुख समस्या जस्तो लाग्छ । जुन प्रकारले हामी पराजित रह्यौं, त्यो निराशाभन्दा अरू केही हुन सक्दैन ।’
फ्रान्सको समस्या मध्यपंक्तिमै मात्र रहेन, आक्रमणमा पनि रह्यो । ओसमन डेम्बेले पनि पूरा खेल अवधिमा चुपचाप जस्तै देखिए । उनको स्थानमा मैदानमा छिरेका डिजायर डोउ र ब्राडली बार्कोला पनि अपेक्षाअनुसार प्रदर्शन गर्न असफल भए । यसले फ्रान्सको आक्रमणमा धार नै रहेन । अझ एमबाप्पे आफैंले पनि अघिल्ला खेलहरूमा जसरी जादुयी प्रदर्शन गर्न सकेनन् ।
त्यसैले फ्रान्सेली समर्थकले सबैभन्दा ठूलो आवाजमा त्यतिबेला खुसी व्यक्त गरे, जब रंगशालामा राखिएको ठूलो स्क्रिनमा डेबिड बेकह्याम र भिक्टोरियालाई देखाइएको थियो । फ्रान्सको रक्षापंक्तिले पनि दुई अवसरमा भुल गर्यो र दुवैपल्ट स्पेन गोल गर्न सफल रह्यो । सबैभन्दा पहिले पेनाल्टीमा मिकेल ओयारजाबलले गोल गरे र पछि पेड्रो पोरोले दोस्रो गोल थपे ।
जब खेल सकिएको सिटी बज्यो, एमबाप्पे मैदानमा एक्लै देखिए । उनका केही सहकर्मीहरू मैदानमा घुँडाले टेकेर झुकिरहेका थिए । अझ केहीले आफ्नो मुख छोपेर आफूभित्रको प्रतिक्रिया पनि देखाउन चाहेनन् । सेमिफाइनल अगाडिसम्म अब्बल दर्जाको खेल प्रदर्शन गरेको फ्रान्सेली टिम सेमिफाइनलमा एकाएक सामान्य टिमभन्दा बढी पनि रहेन, भावनात्मक रूपमा पनि ।
