स्पेनले बेल्जियमविरुद्ध क्वाटरफाइनल खेल्नुअघि कुनै गोल खर्चेको थिएन । केवल ६ पटकमात्र स्पेनविरुद्ध पोस्टमा आक्रामण भएको थियो ।
काठमाडौँ — फ्रान्सको आक्रमणलाई सेमिफाइनलमा रोक्नुपर्ने चुनौती एमेरिक लापोर्टे नेतृत्वमा रहेको स्पेनको रक्षापंक्तिसामु आएको छ । स्पेनले बेल्जियमविरुद्ध क्वाटरफाइनल खेल्नुअघि कुनै गोल खर्चेको थिएन । केवल ६ पटकमात्र स्पेनविरुद्ध पोस्टमा आक्रामण भएको थियो ।
फ्रान्समा जन्मिएर फ्रान्सकै विभिन्न उमेर समूहबाट खेलेका लापोर्टे बुधबार फ्रान्सविरुद्ध नै उत्रँदै छन् । फ्रान्समा युवावस्था बिताएपछि लापोर्टेले २०२१ देखि स्पेनको राष्ट्रिय टोलीबाट खेल्दै आएका छन् । उनले पहिलो युरो २०२० मा खेले, जुन कोभिडका कारण २०२१ मा भएको थियो ।
२०२४ को युरोपियन च्याम्पियनसिप दिलाउन प्रमुख भूमिका खेलेका उनले स्पेनबाट ५२ खेल खेलिसके । यस विश्वकपमा ३२ वर्षे लापोर्टेले सबै ६ खेल खेलेका छन् । सेन्ट्रल डिफेन्सको भूमिकामा खेल्ने उनले २ गोल गरेका छन् ।
उनी लेफ्ट ब्याकको पोजिसनमा पनि खेल्न सक्छन् । एथलेटिक बिलबाओबाट २०१२ देखि खेलेपछि उनी ५ करोड ७० लाख पाउन्डमा २०१८ मा प्रिमियर लिग टोली म्यानचेस्टर सिटी गएका थिए, जहाँ उनले २०१९ तेहेरो उपाधि जितेका थिए । २०२३ मा साउदी अरेबियाको टोली अल नासर गएका उनी गत वर्ष पुनः बिलबाओ फर्केका थिए ।
