भिनिसियसले यस विश्वकपमा मोरक्को र हाइटीविरुद्धको पहिलो दुई खेलमा १–१ तथा स्कटल्यान्डविरुद्ध २ गोल गरेका थिए ।
काठमाडौँ — भिनिसियस जुनियर ब्राजिलका यस्ता पाँच खेलाडी हुन्, जसले विश्वकप फुटबलको समूह चरणको सबै ३ खेलमा गोल गरेका छन् । यसपालि विश्वकपको समूह चरणका तीन खेलमै गोल गर्दै भिनिसियसले जर्जिन्हो, रोमारियो, रोनाल्डो, रिभाल्डोसँगै आफ्नो नाम लेखाएका छन् ।
भिनिसियसले यस विश्वकपमा मोरक्को र हाइटीविरुद्धको पहिलो दुई खेलमा १–१ तथा स्कटल्यान्डविरुद्ध २ गोल गरेका थिए । विश्वकपको ठीकअघि भने उनलाई लिएर धेरै अन्योल थियो । विशेष गरी स्पेनिस टोली रियल म्याड्रिडबाट खेल्दा उनले जुन उत्कृष्ट प्रदर्शन दिँदै आएका छन्, त्यो ब्राजिलबाट खेल्दा धेरै मिलेको थिएन ।
प्रशिक्षक कार्लो एन्सेलोट्टीले उनीमाथि पूर्ण विश्वास देखाएका थिए, जसका कारण २५ वर्षे उनी प्रतियोगितामा निरन्तर गोल गर्न सकिरहेका छन् । रियलबाट खेल्दा उनले २ सय ४२ खेलमा ७७ गोल गरेका छन्, जबकि विश्वकपअघि उनले ब्राजिलबाट खेल्दा ४९ खेलमा ९ गोलमात्र गर्न सकेका छन् । लेफ्ट विंग्स र फरवार्डको भूमिकामा खेल्ने उनी ब्राजिल टोलीका मुख्य आधार हुन् । भिनिसियस तीव्र गति, टेक्निक र ड्रिब्लिङका कारण विश्वको उत्कृष्ट खेलाडी सूचीमा रहेका छन् । भिनिसियसले २०२२ को विश्वकपमा पनि दक्षिण कोरियाविरुद्ध गोल गरेका थिए ।
