मुख छोपेका कारण रातो कार्ड

क्यालिफोर्नियाका सान्टा क्लारामा भएको समूह ‘डी’ को खेलको इन्ज्युरी टाइममा उनले टर्किएका मेर्ट मुल्डुरलाई आफ्नो मुख छोपेर केही भनेका थिए ।

असार ७, २०८३

एएफपी

Red card for covering the face

What you should know

सान्टा क्लारा —  

पाराग्वेका मिगुएल अल्मिरोनले फुटबल इतिहासमा नचाहिने कीर्तिमान आफ्नो नाममा लेखाउन पुगेका छन् । टर्किएसँग शनिबार बिहान विश्वकप २०२६ को खेलमा मुख छोपेर विपक्षी खेलाडीसँग कुरा गरेपछि अल्मिरोनलाई सोझै रातो कार्ड देखाइएको थियो । फिफाको नयाँ नियमपछि उनी यस हिसाबमा रातो कार्ड पाउने पहिलो खेलाडी भए । 

क्यालिफोर्नियाका सान्टा क्लारामा भएको समूह ‘डी’ को खेलको इन्ज्युरी टाइममा उनले टर्किएका मेर्ट मुल्डुरलाई आफ्नो मुख छोपेर केही भनेका थिए । त्यसपछि उनलाई सिधै रातो कार्ड देखाइएको थियो । भीएआरको सहयोगमा उनलाई मैदानबाहिर पठाउने निर्णय गर्नु अगाडि पाराग्वे १–० ले अगाडि थियो । अन्त्यमा सोही स्कोरमा खेल जितेको थियो । 

फिफाले अप्रिलमा यदि कोही खेलाडीले आफ्नो मुख छोपेर विपक्षी टोलीका खेलाडीसँग वादविवाद गर्छ भने सिधै रातो कार्ड दिने नियम अगाडि ल्याएको थियो । विश्वकपमा यो नियम पहिलो पटक प्रयोग गरिएको हो । जातीय र रंगभेदी विवादको अन्त्य गर्न यसले ठूलो सहयोग पुग्ने जनाउँदै फिफाले यो नियम ल्याएको थियो, जसमा अल्मिरोन रातो कार्ड पाउने पहिलो खेलाडी बनेका थिए । 

यसै वर्षको फेब्रुअरीमा बेन्फिकाका विङ्गर जियानलुका प्रेस्टिनीले रियल म्याड्रिडका स्टार भिनिसियस जुनियरलाई च्याम्पियन्स लिगको एक खेलमा जर्सीले मुख छोपेर रंगभेदी गाली गरेको पाइएपछि उत्पन्न विवादले यो नियम जन्माएको थियो । प्रेस्टिनीले आफू निर्देश रहेको जनाउँदै आए पनि युरोपेली फुटबलले उनलाई ६ खेलको निलम्बन लगाएको थियो । यो नयाँ नियम अत्यावश्यक रहेको फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले बताएका थिए ।

खेलपछि पाराग्वेका प्रशिक्षक गुस्ताभो अल्फारोले अल्मिरोनको रातो कार्डमा कुनै प्रतिवाद गरेनन् । ‘यदि तपाईं मुख छोप्नुहुन्छ भने त्यसमा रातो कार्ड पाउनु हुनेछ, जुन नियमै लेखिएको छ,’ ६३ वर्षे अर्जेन्टिनी प्रशिक्षक अल्फारोले भने, ‘त्यसमा मैले केही गर्न सक्दिनँ, त्यसैले यसमा हामीले कुनै धारणा बनाइराख्न जरुरी छैन ।’ पाराग्वे २०१० यता पहिलो पटक विश्वकपमा खेलिरहेको छ । १६ वर्षअघि टोली विजेता बनेको स्पेनसँग क्वाटरफाइनलमा पराजित भएको थियो । 

‘अल्मिरोनले आफ्नो गल्तीका लागि खेलाडीसँग माफी मागिसकेका छन्, आफ्नो गल्तीले गर्दा आफ्नै टोलीका खेलाडीहरू कुन अवस्थामा पुग्नुपरेको उनले बुझेका छन्,’ अल्फारोले भने । 

विश्वकप २०२६

एएफपी

Link copied successfully