अस्ट्रिया तीन अंकसहित समूहको दोस्रो स्थानमा रहेको छ ।
काठमाडौँ — अस्ट्रियाले विश्वकप २०२६ को समूह ‘जे’ मा बुधबार जोर्डनमाथि विजयी सुरुवात लिएको छ । सान फ्रान्सिस्को बे एरिया स्टेडियमा अस्ट्रियाले विश्वकपमा डेब्यु गरिरहेको जोर्डनलाई ३–१ ले हराएको हो । यससँगै अस्ट्रिया तीन अंकसहित समूहको दोस्रो स्थानमा रह्यो ।
समूहको यसअघि भएको पहिलो खेलमा अर्जेन्टिनाले अल्जेरियालाई ३-० ले हराएको थियो । गोल अन्तरको आधारमा डिफेन्डिङ च्याम्पियन समूहको शीर्ष स्थानमा रहेको छ । अस्ट्रियाले २१औं मिनेटमा अग्रता लिएको थियो । रोमानो स्मिडलेले लामो दूरीबाट गरेको प्रहार आकर्षक गोलमा परिणत भएको थियो ।
जोर्डनले खेलको ५० औं मिनेटमा अस्ट्रियाविरुद्ध बराबरी गोल फर्काएको छ । अली ओलवनले उत्कृष्ट खेल प्रदर्शन गर्दै जोर्डनका लागि विश्वकपमा पहिलो गोल गरे । खेलको ६७औं मिनेटमा याजन अल अरबले आत्मघाती गोल गरेपछि अस्ट्रियाले फेरि अग्रता लिएको हो ।
इन्ज्युरी समयको १२ औं मिनेटमा मार्को आरनटोभिचले पेनाल्टीबाट तेस्रो गोल थपे । त्यस अगाडि खेलको ६७औं मिनेटमा मार्को आरनटोभिचले नजिकको दूरीबाट गोल गरे पनि त्यसले मान्यता पाएको थिएन ।
जोर्डन पहिलोपल्ट विश्वकप खेलिरहेको छ भने अस्ट्रिया ८औं पल्ट सहभागी भइरहेको छ ।
