प्लेयर्स टु वाच : जुड बेलिङघम (इंग्ल्यान्ड)

२२ वर्षीय बेलिङघमले सन् २०२० मा इंग्ल्यान्डबाट डेब्यु गरेका थिए, उनले युरोपियन कप २०२४ मा फाइनलसम्म टोलीलाई सम्हालेका थिए ।

असार ३, २०८३

कान्तिपुर संवाददाता

Players to watch: Jude Bellingham (England)

काठमाडौँ — जुड बेलिङघम युरोपको ठूलो प्रतिभा हुन् र दोस्रो पटक विश्वकप खेलिरहेका छन् । २०२२ को विश्वकपमा उनले इरानविरुद्ध गोल गरेका थिए । स्ट्राइकरको पछाडि रहेर २२ वर्षे उनले टोलीलाई सम्हाल्ने गर्छन् ।

मिडफिल्डमा छरिएर खेल्नुका साथै राम्रो ड्रिब्लिङ गर्ने हुनाले उनलाई फ्रान्सका महान खेलाडी जिनेदिन जिदानसँग पनि तुलना गर्ने गरिन्छ । उनले २०२४ को युरोपियन कप खेलेका थिए, जहाँ उनले सर्बियाविरुद्ध हेड गोल गरेका थिए । इंग्ल्यान्डको फाइनलसम्म यात्रामा उनी प्रमुख खेलाडीको रूपमा रहेका थिए । 

१७ वर्ष १३६ दिनको उमेरमा खेलेर उनले सन् २०२० मा ‘डेब्यु’ गरेका थिए । उनी कम उमेरमा खेल्ने इंग्ल्यान्डका तेस्रो कान्छो खेलाडी भएका थिए । उनले इंग्ल्यान्डबाट ४८ खेलमा ६ गोल गरिसकेका छन् । २०१९ मा बर्मिङघमबाट खेल यात्रा सुरु गरेका उनी त्यसको अर्को वर्ष बोरुसिया डर्टमन्ड लागेका थिए । त्यसपछि २०२३ मा उनी १० करोड युरोभन्दा बढी रकममा रियल म्याड्रिड पुगेका थिए । उनले रियलबाट ८७ खेलमा ३४ गोल गरिसकेका छन् ।  

कान्तिपुर

Link copied successfully