प्रिंयाश अर्या र प्रभसिमरन सिंहले दिलाएको सानदार सुरुआतमा कप्तान श्रेयस ऐरले अर्धशतक बनाएपछि पन्जाब किंग्सले चेन्नई सुपर किंग्सद्वारा दिइएको २ सय १० रनको लक्ष्य १८.४ ओभरमा पूरा गरी विजय हात पारेको हो ।
What you should know
चेन्नई — पन्जाब किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा शुक्रबार चेन्नई सुपर किंग्सलाई ५ विकेटले पराजित गरेको छ । पन्जाबको यो लगातार दोस्रो विजय हो । टोलीले पहिलो खेलमा गुजरात लायन्सलाई हराएको थियो । चेन्नईको लगातार दोस्रो हार हो । टोली पहिलो खेलमा राजस्थान रोयल्ससँग पराजित भएको थियो ।
प्रिंयाश अर्या र प्रभसिमरन सिंहले दिलाएको सानदार सुरुआतमा कप्तान श्रेयस ऐरले अर्धशतक बनाएपछि पन्जाबले २ सय १० रनको लक्ष्य १८.४ ओभरमा पूरा गर्यो । अर्या र सिंहले ४.२ ओभरमै ६१ रन जोडेका थिए । म्याट हेनरीले अर्यालाई बोल्ड गरीे साझेदारी तोडेका थिए । अर्याले ११ बल खेल्दै ३ चौका र ४ छक्का प्रहार गरी ३९ र सिंहले ३४ बल खेल्दै ६ चौका र १ छक्कासहित ४३ रन बनाए ।
पन्जाबको अघिल्लो खेलका हिरो कुपर कोनोलीले २२ बल खेल्दै ६ चौकासहित ३६ रन जोडे । ऐरले ५० रन जोडे । उनले २९ बलमा ४ चौका र ३ छक्का प्रहार गरे । उनी आउट भएको अर्को बलमा नेहल बाधेरा ११ रनमा आउट भए । मार्कुस स्टोइनिस ३ बल खेली ९ र सशांक सिंह ६ बल खेली १४ रनमा अविजित रहे । चेन्नईका अंशुल कम्बोज र हेनरीले २–२ विकेट लिए ।
यसअघि टस हारेपछि ब्याटिङ निम्तो पाएको चेन्नईले निर्धारित २० ओभरमा ५ विकेट गुमाई २ सय ९ रन बनाएको थियो । आयुश महात्रेले सर्वाधिक ७३ रन बनाए । ओपनरद्वय सञ्जु सामसन ७ र कप्तान रितुराज गायकवाड २८ रन बनाई आउट भएपछि महात्रेले ४३ बलमा ६ चौका र ५ छक्का प्रहार गरे ।
शिवम दुबे ४५ रन बनाई अविजित रहे । उनले २७ बल खेल्दै ५ चौका र १ छक्का प्रहार गरे । कार्तिक शर्मा १ रनमा आउट भए भने सरफराज खानले १२ बलमा ६ चौका र १ छक्कासहित ३२ रनमा आउट भए । प्रशान्त वीर ६ रनमा अविजित रहे । पन्जाबका विजयकुमार वैशाकले २ तथा जेभियर बार्टलेट, मार्को यान्सेन र युजभेन्द्र चाहलले १–१ विकेट लिए । चेन्नईले हेनरी र नुर अहमद गरी २ विदेशी खेलाडीमात्र खेलाएको थियो ।
