सनराइजर्सको पहिलो जित

सनराइर्जसले दोस्रो खेलमा पहिलो जित निकालेको हो । टोली पहिलो खेलमा रोयल च्यालेन्जर्ससँग पराजित भएको थियो । कोलकाताको भने लगातार दोस्रो हार हो ।

चैत्र १९, २०८२

एजेन्सी

Sunrisers' first win

What you should know

कोलकाता —  

सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा बिहीबार कोलकाता नाइटराइडर्सलाई ६५ रनले पराजित गरेको छ । पहिलो ओभरमै २५ रन जोडे पनि २ सय २७ रनको लक्ष्य लिएर आएको कोलकाता इडेन गार्डेन मैदानमा १६ ओभर खेली १ सय ६१ रनमा अलआउट भयो । 

सनराइर्जसले दोस्रो खेलमा पहिलो जित निकालेको हो । टोली पहिलो खेलमा रोयल च्यालेन्जर्ससँग पराजित भएको थियो । कोलकाताको भने लगातार दोस्रो हार हो । पहिलो खेलमा टोलीमाथि मुम्बई इन्डियन्सले जित हासिल गरेको थियो । 

पहिलो ओभरमा ३ चौका र २ छक्का प्रहार गरेका फिन एलन दोस्रो ओभरमा ७ बल खेल्दै ४ चौका र २ छक्का प्रहार गरेर २८ रनमा आउट भए । उनले अघिल्लो महिना ट्वान्टी–२० विश्वकपको सेमिफाइनलमा दक्षिण अफ्रिकाविरुद्ध यही मैदानमा शतक बनाउँदै न्युजिल्यान्डलाई फाइनलमा पुर्‍याएका थिए । 

ओपनर एवं कप्तान अजिन्क्या रहानेले १० बलमा ८ रनमात्र बनाउन सके । क्यामरन ग्रिन २ रन  र अंगकृष रघुवंशी दुवै रनआउट भए । रघुवंशीले २९ बल खेली ६ चौका र २ छक्कासहित ५२ रन बनाए । अनुकुल रोयले पहिलो बलमै क्याच दिन पुगे ।  

कोलकाताको ठूलो आशा रिंकु सिंहमा थियो । उनी पनि २५ बल खेल्दै ४ चौका र १ छक्का प्रहार गरी ३५ रनमा आउट भए । आफूले सामना गरेको पहिलो दुई बलमै छक्का प्रहार गरेका सुनिल नारिन ४ बल खेली १२ रनमै आउट भए । इशान मालिङ्गाले सोही ओभरमा रमनदिप सिंहलाई १० रनमा आउट गरे । जयदेव उनडकडले लगातार बलमा कार्तिक त्यागी र वरुण चक्रवर्तीलाई आउट गरी सनराइजर्सलाई विजयी दिलाए । उनडकडले कुल ३ तथा मालिङ्गा र नितिशकुमार रेड्डीले २–२ विकेट लिए । 

यसअघि टस हारेपछि ब्याटिङको निम्तो पाएको सनराइजर्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाई २ सय २६ रन बनाएको थियो । ट्राभिस हेड र अभिषेक शर्माले सधैंझै सनराइजर्सलाई सानदार सुरुआत दिलाए । यी दुईले पहिलो ६ ओभरको पावर–प्लेभित्र ८२ रन जोडेका थिए ।

हेडले २१ बल खेल्दै ६ चौका र ३ छक्का प्रहार गर्दै ४६ रन बनाए । अभिषेक पनि अर्धशतक पूरा गर्न थोरैले चुके । उनले २१ बल खेल्दा समान ४ चौका र छक्कासहित ४८ रन बनाए । कप्तान इशान किसन ९ बलमा १४ र अनिकेत बर्मा १ रन बनाई आउट भए । 

हेनरिक क्लासेन र रेड्डीले पाँचौं विकेटमा ८२ रन जोडे । सनराइजर्सको आईपीएलमा पाँचौं विकेटमा यो सबैभन्दा ठूलो साझेदारी हो । रेड्डीले २४ बल खेल्दा ४ चौका र १ छक्कासहित ३९ रन बनाए । अन्तिम ओभरमा आउट हुनुपूर्व क्लासेनले ३५ बलमा ५२ रन बनाए । उनले ४ चौका र १ छक्का प्रहार गरे । 

अन्तिम ओभरमा क्लासेन र शिवाङ्ग कुमारलाई आउट गरेका जिम्बावेका तीव्र गतिका बलर ब्लेसिङ मुजारबानीले कुल ४ विकेट लिए । उनले ४ ओभरमा ४१ रन खर्चे । वैभव अरोराले ४ ओभरमा ४७ रन खर्चेर २ तथा त्यागी र अनुकूलले १–१ विकेट लिए ।

एजेन्सी

Link copied successfully