दक्षिण अफ्रिकाले लियो भारतसँग बदला

सन् २०२४ को पछिल्लो विश्वकपको उपाधि जित्ने क्रममा भारतले दक्षिण अफ्रिकालाई नै हराएको थियो । त्यसकै बदला लिने क्रममा दक्षिण अफ्रिकाले यो जित निकालेर सुपर एटको ‘ग्रुप १’ मा बहुमूल्य २ अंक बटुलेको छ ।

फाल्गुन ११, २०८२

एएफपी

What you should know

अहमदाबाद — दक्षिण अफ्रिकाले ट्वान्टी–२० विश्वकपमा आइतबार सुपर एटको खेलमा भारतमाथि ७६ रनको सानदार जित हात पारेको छ । नरेन्द्र मोदी स्टेडियममा भएको खेलमा भारतले जितका लागि १ सय ८८ रनको लक्ष्य पाएको थियो ।

त्यसलाई पछ्याउने क्रममा भारत १८.५ ओभरमा १ सय ११ रन बनाई अलआउट भयो । यो ब्याटबाट भारतको प्रदर्शन कमजोर रह्यो । 

सन् २०२४ को पछिल्लो विश्वकपको उपाधि जित्ने क्रममा भारतले दक्षिण अफ्रिकालाई नै हराएको थियो । त्यसकै बदला लिने क्रममा दक्षिण अफ्रिकाले यो जित निकालेर सुपर एटको ‘ग्रुप १’ मा बहुमूल्य २ अंक बटुलेको छ । हारले भारतको टी–२० विश्वकपमा लगातार १२ खेलमा जितयात्रामा पूर्णविराम लागेको छ र टोली दबाबमा आएको छ । भारतका लागि शिवम दुवेले ३७ बलमा सबैभन्दा बढी ४२ रन बनाए । तर त्यसको खासै अर्थ भएन । 

भारतबाट कुनै पनि उल्लेखनीय साझेदारी पनि भएन । लगातार शून्यको प्रदर्शनपछि ओपनर अभिषेक शर्माले १५ रन बनाए । कप्तान सूर्यकुमार यादव र हार्दिक पाण्ड्येले समान १८ रन जोडे । दक्षिण अफ्रिकी बलरमध्ये मार्को जेन्सनले २२ रनमा ४ विकेट लिए । केशव महाराजले पनि २४ रनमा ३ विकेट लिए । केशवले १४ औं ओभरमा हार्दिक, रिंकु सिंह र अर्सदीप सिंहको विकेट लिए । 

भारतको सुरुआत पनि राम्रो रहेन । इशान किसन शून्यमै आउट भए भने तिलक बर्माले पनि १ रनमात्र जोडे । टस जितेर पहिले ब्याटिङको निर्णय गरेको दक्षिण अफ्रिकाले कमजोर सुरुआतलाई निस्तेज पार्दै ७ विकेटमा १ सय ८७ रनको सम्माजनक स्कोर खडा गरेको थियो ।

दक्षिण अफ्रिकाले २० रन बनाउँदासम्म ३ विकेट गुमाएको थियो । यसक्रममा दबाबमा देखिएको थियो । तर त्यसयता मध्यक्रमका तीन ब्याटरले दक्षिण अफ्रिकी इनिङ्स सम्हाले । सबैभन्दा पहिले डेवाल्ड ब्रेभिस र डेविड मिलरले चौथो विकेटका लागि ९७ रनको साझेदारी गरे । दक्षिण अफ्रिकाका विश्वकपमा चौथो विकेटमा भएको यो ठूलो साझेदारी थियो । यसअघि एबी डी भिलियर्स र जेपी डुमिनीको नाममा ७६ रनको साझेदारी थियो ।

भारतविरुद्ध ब्रेभिसले २९ बलमा ४५ रन बनाए । उनले ३–३ चौका र छक्का प्रहार गरे । त्यसपछि मिलरले स्ट्रिस्टन स्टब्ससँग मिलेर पाँचौं विकेटका लागि थप ३७ रन थपे । मिलरले सबैभन्दा बढी ६३ रन बनाए । उनले ३५ बलमा ७ चौका र ३ छक्का प्रहार गरे । स्टब्सको ब्याटबाट भने ४४ निस्केको थियो । उनले २४ बलको सामना गर्दा १ चौका र ३ छक्का प्रहार गरे । 

स्टब्स आउट भएयता दक्षिण अफ्रिकाले थप २ विकेट सस्तोमा गुमाएको थियो । भारतीय बलरमध्ये जसप्रित बुमराहले १५ रनमा ३ विकेट लिए । उनी सबैभन्दा घातक देखिए । विश्वकपमा उनी भारतका लागि सर्वाधिक विकेटकर्ता बनेका छन् । उनले कुल ३३ विकेट लिइसके । उनले रविचन्द्रन अश्विनको नाममा रहेको ३२ विकेटको कीर्तिमान उछिने ।

बुमराहले सुरुमै क्विन्टन डी कक र रायन रिकेल्टनलाई आउट पारे । अर्सदीप सिंहले पनि २८ रनमा २ विकेट लिए । उनले अर्का ओपरन तथा कप्तान एडेन मारक्रमलाई सस्तोमै पेभिलियन फर्काए ।

एएफपी

Link copied successfully