कप्तान रोहित पौडेल ज्वरो आएका कारण शनिबारको प्रशिक्षणमा सामेल थिएनन् । तर टसमा आएसँगै उनी खेल्ने भएका छन् ।
मुम्बई — नेपालले ट्वान्टी-२० विश्वकपमा पहिला ब्याटिङ गर्ने भएको छ । वेस्ट इन्डिजका कप्तान शाई होपले आइतबार मुम्बईको वानखडे रंगशालाको मैदानमा टस जितेपछि पहिला फिल्डिङ गर्ने निर्णय गरेका हुन् ।
कप्तान रोहित पौडेल ज्वरो आएका कारण शनिबारको प्रशिक्षणमा सामेल थिएनन् । तर टसमा आएसँगै उनी खेल्ने भएका छन् । नेपालले देव्रेहाते स्पिनर ललित राजवंशीको स्थानमा मिडियम पेस अलराउन्डर सोमपाल कामीलाई खेलाएको छ । प्रतियोगितामा यो उनको पहिलो खेल हो । उनी तेस्रो पटक विश्वकपमा प्रतिस्पर्धा गरिरहेका छन् ।
नेपालले सेप्टेम्बरमा यूएईको शारजहाँमा वेस्ट इन्डिजसँगको तीन खेलको ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखला एतिहासिक रूपमा २-१ ले जितेको थियो । त्यो टोलीका केवल दुई खेलाडी अकेल हुसैन र जेसन होल्डरमात्र अहिलेको वेस्ट इन्डिजको टोलीमा रहेका छन् । वेस्ट इन्डिजले धेरै नयाँ खेलाडीलाई मौका दिँदा हुसैनले शारजहाँमा क्यारेबियन टोलीको नेतृत्व गरेका थिए ।
नेपाल समूहको ‘सी’ को पुछारमा छ भने वेस्ट इन्डिज शीर्ष स्थानमा । नेपाल पहिलो दुई खेलमा इंग्ल्यान्डसँग ४ रनले र इटालीसँग १० विकेटले पराजित भएको थियो । वेस्ट इन्डिजले पहिलो दुई खेलमा स्कटल्यान्डलाई ३५ रनले र इंग्ल्यान्डलाई ३० रनले पराजित गरेको थियो ।
नेपाललाई पराजित गरेमा वेस्ट इन्डिजको सुपर एटमा स्थान पक्का हुनेछ । नेपालको अर्को चरणमा प्रवेश गर्ने सम्भावना गणीतिय हिसाबमा मात्र रहेको छ ।
