ट्वान्टी-२० विश्वकप : इंग्ल्यान्ड जितेपछि सुपर एट नजिक

कोलकाताको इडेन गार्डेनमा भएको खेलमा स्कटल्यान्डले पहिले ब्याटिङ गर्दै १९.४ ओभरमा अलआउट हुन अगाडि १ सय ५२ रन बनाएको थियो । त्यसमा कप्तान रिची बेरिंटनले सबैभन्दा बढी ४९ रन बनाए ।

फाल्गुन २, २०८२

कान्तिपुर संवाददाता

मुम्बई — दुईपल्टको च्याम्पियन इंग्ल्यान्डले शनिबार स्कटल्यान्डलाई ५ विकेट पराजित गर्दै ट्वान्टी ट्वान्टी विश्वकप २०२६ को सुपर एटमा प्रवेशको सम्भावनालाई बलियो बनाएको छ । यो जितपछि समूह सी मा वेस्ट इन्डिज र इंग्ल्यान्डको चार/चार अंक भएको छ । उनीहरूको पछाडि स्कटल्यान्ड र इटाली दुई/दुई अंकमा छन् । नेपालले भने अहिलेसम्म कुनै अंक बटुल्न सकेको छैन । कोलकाताको इडेन गार्डेनमा भएको खेलमा स्कटल्यान्डले पहिले ब्याटिङ गर्दै १९.४ ओभरमा अलआउट हुन अगाडि १ सय ५२ रन बनाएको थियो । त्यसमा कप्तान रिची बेरिंटनले सबैभन्दा बढी ४९ रन बनाए । यस्तै माइकल जोन्सले ३३ र टम ब्रुसले २४ रनको योगदान गरे । इंग्लिस बलरमध्ये अदिल रसिदले तीन र लियाम डसनले दुई विकेट लिए ।

त्यसको जवाफमा इंग्ल्यान्डले टम ब्यान्टनको नटआउट ६३ रनको मद्दतले १८.२ ओभरमा ५ विकेट गुमाएर १ सय ५५ रन बनायो । ब्यान्टनले ४१ बलमा ४ चौका र ३ छक्का प्रहार गरे ।

यस्तै ज्याकोब बेथलले २८ बलमा ३२ रन बनाए । साम करनले २८ र विल ज्याक्सलेले १६ रन जोडे ।

कान्तिपुर

Link copied successfully