वेस्ट इन्डिजले नेपालाई सम्मान गर्नेछ : अकिल हुसेन

नेपाली टिमबारे आफूहरूलाई पूर्ण जानकारी रहेको पनि उनले दाबी गरे ।

फाल्गुन २, २०८२

कान्तिपुर संवाददाता

मुम्बई — वेस्ट इन्डिजका स्पिनर अकिल हुसेनले ट्वान्टी-२० विश्वकप २०२६ मा आइतबार नेपालको सामना गर्दा प्रतिद्वन्द्वीका रूपमा पूर्ण सम्मान हुने बताएका छन् ।

उनले नेपाल निकै राम्रो टिम रहेको पनि स्वीकारे । नेपालले वेस्ट इन्डिजलाई सारजहामा भएको ट्वान्टी-२० सिरिजमा वेस्ट इन्डिजलाई हराउँदा उनी नै कप्तान रहेका थिए । नेपालविरुद्धको खेल अगाडि आयोजित प्रि-म्याच कन्फ्रेन्समा उनले नेपाली टिमबारे आफूहरूलाई पूर्ण जानकारी रहेको पनि दाबी गरे ।

उनले भने, ‘हाम्रो एक मात्र उद्देश्य विश्वकप जित्नु रहेको छ, त्यसैले जति बेला हामीले कुनै पनि टिमका सामना गर्नेछौं, त्यही यात्राको एक भाग मान्नेछौं । नेपालप्रति पनि हाम्रो दृष्टिकोण यस्तैअनुसार रहेको छ । हाम्रा लागि विश्वकपको यो एउटा अर्को महत्त्वपूर्ण खेल रहेको छ ।’

उनले यस विश्वकपमा नेपालले गुमाउनुपर्ने केही नभएको बताउँदै एउटा टिमका रूपमा लामो समयदेखि नेपालले सँगसँगै खेलिरहेको हुनाले त्यो बलियो पक्ष रहेको बताए ।

हुसेनले अगाडि थपे, ‘सारजहामा भएको ट्वान्टी-२० सिरिजमा हाम्रा धेरै सिनियर खेलाडी थिएनन् । अहिलेको वेस्ट इन्डिज टिम त्यो भन्दा धेरै फरक छ । त्यसैले पनि हामीले भोलिको खेलमा नेपालको सामना गर्न उत्सुक छौं ।’

वेस्ट इन्डिज यस विश्वकपमा आफ्ना दुवै खेल जितेर ४ अंकसहित समूह 'सी'को शीर्ष स्थानमा छ । नेपाल भने आफ्नो दुवै खेलमा पराजित रहेको थियो ।

कान्तिपुर संवाददाता

Link copied successfully