नेपाली क्रिकेट टोली विश्वकप तयारीका लागि कोलम्बोतिर

फेब्र्रुअरी ७ देखि हुने आईसीसी ट्वान्टी–२० विश्वकपका लागि नेपालले श्रीलंकाको कोलम्बोमा तीन अभ्यास खेल खेल्ने

माघ ४, २०८२

कान्तिपुर संवाददाता

Nepali cricket team heads to Colombo for World Cup preparations

What you should know

काठमाडौँ — आईसीसी ट्वान्टी–२० विश्वकप खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ गरिएको छ । भारत र श्रीलंकामा फेब्र्रुअरी ७ देखि हुने ट्वान्टी–२० विश्वकप खेल्न जान लागेको नेपाली टोलीलाई शनिबार नेपाल क्रिकेट संघ (क्यान) ले बिदाइ गरेको हो ।

नेपाली टोली आइतबार श्रीलंका जाने छ । नेपालले कोलम्बोमा श्रीलंका ‘ए’ सँग जनवरी २०, २२ र २४ मा गरी तीन अभ्यास खेल खेल्ने कार्यक्रम छ । त्यतैबाट नेपाली टोली भारतको मुम्बई पुग्नेछ । त्यहाँ टोलीले मुम्बई क्रिकेट एसोसिएसनको प्रेसिडेन्ट–११ सँग जनवरी २७ र २९ मा थप दुई ट्वान्टी–२० अभ्यास खेल खेल्नेछ । 

फेब्रुअरी पहिलो साता नेपालले विश्वकपको दुई आधिकारिक अभ्यास खेल खेल्नेछ । ती खेलको अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले टुंगो लगाइसकेको छैन । नेपालले विश्वकपका सबै खेल मुम्बईमा खेल्ने कार्यक्रम छ । नेपालले फेब्रुअरी ८ मा इंग्ल्यान्डसँग खेलेर विश्वकपको यात्रा सुरु गर्नेछ । 

नेपालले त्यसपछि फेब्रुअरी १२ मा इटाली, १५ मा वेस्ट इन्डिज र फेब्रुअरी १७ मा बंगलादेशसँग खेल्ने तालिका छ । नेपालले इंग्ल्यान्ड र इटालीसँग पहिलो पटक खेल्न लागेको हो । क्यानका अध्यक्ष चतुरबहादुर चन्द, उपाध्यक्ष रोशन सिंह, कोषाध्यक्ष पदम खड्का र सचिव पारस खड्कालगायतले टोलीलाई बिदाइ गरे । सचिव खड्काले नेपाली टोलीबाट धेरै नै अपेक्षा राखेको सुनाए । उनले भने, ‘हामीलाई हाम्रो टोली र क्षमतामाथि विश्वास छ ।’

अध्यक्ष चन्दले विविध कारणले विश्वकपअघि टेस्ट राष्ट्रलाई घरेलु शृंखलाका लागि निम्त्याउन नसकिएको जानकारी गराए । तर श्रीलंका ‘ए’ सँगको अभ्यास खेलले राम्रो तयारी दिने दाबी गर्दै उनले भने, ‘तयारीलाई लिएर प्रश्न गर्ने कुनै ठाउँ छैन । व्यक्तिगत प्रदर्शनमा पनि खेलाडीहरूको ध्यान जाओस् ।’

नेपालका अस्ट्रेलियन प्रशिक्षक स्टुवार्ट लले विश्वकप आउनु तीन साता बाँकीको अवस्थामा तयारी तीव्र गतिमा अगाडि बढेको बताए । कप्तान रोहित पौडेलले तयारी सोचेअनुरुप नै भइरहेको स्पष्ट पारे । ‘हाम्रो तयारीका हिसाबमा राम्रो भइरहेको छ । हाम्रो तिलोत्तमास्थित एक्स्ट्राटेक ओभलमा गरेको तयारी राम्रो भयो । त्यहाँको रातो माटोको विकेट मुम्बईसँग मिल्दोजुल्दो थियो । त्यसैले हामी सबै उत्साही छौं,’ कप्तान रोहितले भने, ‘वर्ष सन् २०२५ हाम्रा लागि राम्रो भएको थियो । हामी विश्वकप खेल्दै २०२६ को सुरुआत पनि राम्रो गर्नेछौं ।’

नेपाली टोलीलाई ३० लाख प्रदान

नेपाली क्रिकेट टोलीलाई पूर्व सांसद एवं नोबेल अस्पतालका प्रबन्ध निर्देशक सुनिल शर्माले ३० लाख रुपैयाँ प्रदान गरेका छन् । सेप्टेम्बरमा यूएईको शारजहाँमा भएको वेस्ट इन्डिजसँगको तीन खेलको ट्वान्टी–२० शृंखलामा विजय हात पारे नेपाली टोलीलाई ३० लाख प्रदान गर्ने घोषणा गरेका थिए । 

टेस्ट राष्ट्रसँग पहिलो पटक शृंखला खेल्नेक्रममा नेपालले वेस्ट इन्डिजसँगको उक्त शृंखला ऐतिहासिक रूपमा २–१ ले जितेको थियो । विश्वकप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ कार्यक्रममा उनले कप्तान रोहित पौडेललाई घोषित रकमको चेक हस्तान्तरण गरे । विश्वकपको सुपर एटमा पुगेमा उनले नेपाली टोलीलाई २० लाख प्रदान गर्ने घोषणा पनि गरेका छन् । निर्देशक शर्माले टोलीका खेलाडी र परिवारलाई दुई वर्ष निःशुल्क उपचार गरिदिने पनि घोषणा गरे । 

‘घोषित नगद पुरस्कार खोइ ?’

ट्वान्टी–२० विश्वकपमा पुगे पनि घोषित पुरस्कार नपाएकोमा कप्तान रोहित पौडेलले गुनासो पोखेका छन् । अक्टोबरमा ओमानमा भएको ट्वान्टी–२० विश्वकप छनोट जित्दै नेपालले तेस्रो पटक विश्वकपमा पुगेको थियो ।

नेपाल सरकारको पुरस्कार कार्यविधिअनुसार विश्वकप छनोट जित्ने टोलीका खेलाडीले जनही १९ लाख ५० पाउने छन् । तर सरकारको कार्यविधिमै उल्लेख भएको पुरस्कार रकम नपाउँदा खेलाडीलाई अप्ठ्यारो परेको उनले सुनाए । 

‘हाम्रो अधिकार जे छ, त्यो चाहिँ पाउनुपर्छ जस्तो लाग्छ । खेलाडी जीवनपछि यो गरिदिन्छु, त्यो गरिदिन्छु भन्दा पनि अहिले जे पाउनुपर्ने हो, त्यो दिनुपर्छ जस्तो लाग्छ । त्यसपछि संन्यासपछिको कुरा गरौंला,’ रोहितले भने, ‘४ महिना भइसक्दा पनि हामीले घोषित पुरस्कार पाएका छैनौं । केही प्रक्रिया पनि अगाडि बढेको जस्तो लाग्दैन । यो पक्ष हामीले मिस गरिरहेका छौं । विश्वकप अगाडि घोषित पुरस्कार आयो भने खेलाडीको मनोबल बढ्छ । खेलाडीलाई पनि पैसा आवश्यक छ, सरकारले यसमा हेरिदियो भने राम्रो हुन्छ ।’

सन् २०२३ मा नेपालमै भएको विश्वकप छनोटमा उपविजेता भएर विश्वकप पुगेको नेपाली टोलीका हरेक खेलाडीलाई सरकारले जनही १३ लाख प्रदान गरेको थियो । यसपालि ओमानमा नेपाली टोलीले विश्वकप छनोटको उपाधि नै जितेको थियो ।

मल्ल विश्वकपमा नजाने

नेपाली टोलीका सहायक प्रशिक्षक ज्ञानेन्द्र मल्ल ट्वान्टी–२० विश्वकपमा नजाने भएका छन् । क्यान प्रवक्ता छुम्बी लामाले विश्वकप जाने टोलीबाट मल्लले यसअघि नै नाम फिर्ता लिएको बताए । 

गत वर्षदेखि मल्ल प्रशिक्षण टोलीमा थिए । उनी नेपाली टोलीसँगै विश्वकप जाने तयारीमा थिए । तर दुई साताअघि नेपाली टोली रूपन्देहीको एक्स्ट्राटेक ओभल रंगशालामा तयारीका लागि जाँदादेखि नै मल्ल थिएनन् । त्यहाँ वसन्त शाहीले सहायक प्रशिक्षकको जिम्मेवारी निभाएका थिए । 

रास्वपाले उनलाई फागुन २१ मा हुने भनिएको संसदीय निर्वाचनका लागि समानुपातिक सूचीमा राखेको छ । सोही कारण आफूले विश्वकप जाने नेपाली टोलीबाट नाम फिर्ता लिएर क्यानलाई जानकारी गराएको मल्ले बताए । 

‘नैतिकताका आधारमा पनि नेपाली टोलीसँग बस्न उचित नभएपछि मैले नाम फिर्ता लिएको हुँ,’ मल्लले कान्तिपुरसँग भने । नेपालले पहिलो पटक २०१४ को विश्वकप खेल्दा उनी उपकप्तान थिए । सन् २००५ देखि नेपाली टोलीमा रहेका उनले २०२३ मा खेलाडी जीवनबाट संन्यास लिएका थिए । 

पारस खड्कापछि उनी २०२० मा नेपाली टोलीको कप्तान भएका थिए । नेपालले विश्वकपका लागि अस्ट्रेलियाका पूर्वअलराउन्डर इआन हार्भीलाई बलिङ कन्सलटेन्टको जिम्मेवारी दिएको छ । कन्सल्टेन्ट प्रशिक्षक दक्षिण अफ्रिकाका निक पोथास पनि टोलीमा समावेश हुने बताइएको छ । 

विश्वकपमा प्रशिक्षक मल्ललाई निकै मिस गर्ने कप्तान रोहित बताउँछन् । उनले भने, ‘उहाँ प्रशिक्षकमात्र नभएर हामीसँग दाइ, साथीको रूपमा पनि रहनुहुन्थ्यो । किनभने उहाँले आफ्नो अनुभव हामीसँग सेयर पनि गर्नुहुन्थ्यो । त्यो पक्षचाहिँ हामी मिस गर्नेछौं । हामी ज्ञानु दाइलाई नयाँ यात्राका लागि शुभकामना दिन चाहन्छौं ।’

ट्वान्टी-२० विश्वकप

कान्तिपुर

Link copied successfully