विश्वकपको ट्रफी नेपाल आउनु गौरवपूर्ण क्षण : राष्ट्रपति पौडेल

नेपालमा विश्वकप ट्रफी ल्याई नेपाली क्रिकेट र जनताको उत्साह एवं आत्मविश्वास अभिवृद्धि गरिदिएको भन्दै राष्ट्रपति पौडेलले आईसीसीलाई धन्यवादसमेत दिए ।

पुस २१, २०८२

कान्तिपुर संवाददाता

It is a proud moment for the World Cup trophy to come to Nepal: President Poudel

काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलले ट्वान्टी-२० विश्वकपको ट्रफी नेपाल आउनु देशका लागि गौरवपूर्ण क्षण भएको बताएका छन् । उनले यस ऐतिहासिक अवसरले नेपाल विश्व क्रिकेटको केन्द्रतर्फ अग्रसर भइरहेको सन्देश विश्वभर फैलाएको धारणा व्यक्त गरेका हुन् । 

राष्ट्रपति भवन, शीतल निवासमा सोमाबार आयोजित विश्वकप ट्रफी सार्वजनिकीकरण समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले भने, 'नेपाल आज खेलप्रेमी राष्ट्रको रूपमा सशक्त तवरले स्थापित हुँदै गएको छ, क्रिकेटले देशलाई एकतामा बाँध्ने महत्वपूर्ण भूमिका निर्वाह गरेको छ, यसको व्यावसायिक विकाससँगै खेल क्षेत्रमार्फत नेपाली युवाहरूको उज्ज्वल भविष्य निर्माण हुने आधारसमेत सुदृढ बन्दै गएको छ ।'

आवश्यक संरचना, अवसर र सम्भावनाहरू क्रमशः विकास हुँदै जानु नेपाली खेलकुद क्षेत्रका लागि सकारात्मक संकेत भएको उनको भनाइ थियो ।

नेपालमा विश्वकप ट्रफी ल्याई नेपाली क्रिकेट र जनताको उत्साह एवं आत्मविश्वास अभिवृद्धि गरिदिएको भन्दै राष्ट्रपति पौडेलले आईसीसीलाई धन्यवादसमेत दिए । 

'नेपालको क्रिकेटले अझ उचाइ हासिल गरोस्, हाम्रा खेलाडीले विश्वमञ्चमा देशको गौरव अझ उच्च बनाउँदै लैजान सफल होउन् भन्ने शुभकामना व्यक्त गर्दछु,' उनले भने । 

आगामी फेब्रुअरी ७ देखि हुने विश्वकपमा नेपाल समूह ‘सी’मा परेको छ । नेपालको समूहमा इङ्ल्यान्ड, वेस्ट इन्डिज, इटाली र बङ्गलादेश छन् ।

कान्तिपुर

Link copied successfully