दिनको खेलमा मैदानमा उत्रिने दुई टोली विराटनगर र सुदूरपश्चिमले पहिलो २ खेलमा विजय हात पारिसकेका छन् र टोलीले विजयक्रमलाई निरन्तरता दिए प्ले अफतर्फको स्थानलाई थप मजबुत बनाउनेछ ।
What you should know
काठमाडौँ — एक दिनको विश्रामपछि नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा सोमबार दुई खेल हुँदै छन्, जहाँ विराटनगर किंग्सले जनकपुर बोल्ट्ससँग र सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सको सामना गर्दै छन् ।
अंक तालिकाको समीकरणपछि यसलाई ‘हाई भोल्टेज’ खेलका रूपमा लिइएको छ । दिनको खेलमा मैदानमा उत्रिने दुई टोली विराटनगर र सुदूरपश्चिमले पहिलो २ खेलमा विजय हात पारिसकेका छन् र टोलीले विजयक्रमलाई निरन्तरता दिए प्ले अफतर्फको स्थानलाई थप मजबुत बनाउनेछ ।
विराटनगरले पहिलो दुई खेलमा पोखरा एभेन्जर्स र काठमान्डु गोर्खाजलाई पराजित गरिसकेको छ । जनकपुर भने पहिलो खेलमा गोर्खाजसँग स्तब्ध भएको थियो । स्कटिस ब्याटर जर्ज मन्सी, दक्षिण अफ्रिकन तीव्र बलर मर्चेन्ट डी ल्याङ्गे र अमेरिकी अलराउन्डर शुभम रञ्जनेको आगमनपछि विराटनगर बलियो देखिएको छ ।
गत सिजन प्ले अफबाट टाढा रहेको विराटनगरले पहिलो दुई खेलबाट उपाधिका लागि दाबेदारिता देखाएको छ । गोर्खाजलाई शनिबार पराजित गर्दा डी ल्याङ्गेले ४ ओभरमा १७ रन खर्चेर २ विकेट लिई प्लेयर अफ द म्याच बनेका थिए भने मन्सीले १६ बल खेली ५ चौका र २ छक्कासहित ३६ रन बनाएका थिए । विराटनगरको टोलीमा यसअघि घोषणा गरिएको बहुचर्चित दक्षिण अफ्रिकाका फाफ डु प्लेसिस नेपाल आउन बाँकी नै छ ।
टोलीले प्रमुख प्रशिक्षकमा घोषणा गरेको पुबुदु दासानायके पनि विराटनगरको ‘डग आउट’ मा देखिएका छैनन् । तर अर्का श्रीलंकाली प्रशिक्षक धम्मिका प्रसादको नेतृत्वमा विराटनगरले उत्कृष्ट सुरुआत गरेको छ । प्रसादले विशेष गरी नेपाली खेलाडीमा ध्यान दिएको स्पष्ट देखिन्छ । ओपनर लोकेश बमले ‘परिपक्व’ खेल देखाउँदै पहिलो खेलमा पोखराविरुद्ध ४८ बलमा ७ छक्कासहित ७२ रन बनाएका थिए ।
गोर्खाजसँगको खेल हेर्दा जनकपुरले स्टार अलराउन्डर जिम्मी निसम र प्रशिक्षक दासानायके दुवैलाई ‘मिस’ गरेको देखिन्छ । जनकपुरले टेस्ट ‘क्याप’ खेलाडीको कोटा नपाएपछि निसम पोखरा लागेका छन् । दासानायकेको स्थानमा जनकपुरले वेस्ट इन्डिजका ब्याटिङ हस्ती शिवनारायण चन्द्रपाललाई ल्याएको छ । यस पटकको एनपीएलमा आएका उनी सबैभन्दा ठूला नाम हुन् तर चन्द्रपालले आफ्नो प्रशिक्षणबाट यो प्रमाणित गर्न बाँकी नै रहेको छ ।
अधिकांश टोली विदेशी खेलाडीमा निर्भर रहेका छन् । जनकपुरलाई उकास्न यान निकोल लफ्टी इटन र सञ्जय कृष्णमुर्थीले ब्याटिङमा ठूलो भूमिका निभाउनुपर्ने हुन्छ । त्यसका साथै कप्तान अनिल साहले जिम्मेवारीका साथ खेल्न पनि जरुरी छ । जनकपुरको टोलीमा किशोर महतो, रूपेश सिंह र ललित राजवंशीबाहेक स्तरीय बलर देखिएका छैनन् ।
दीपेन्द्रसिंह ऐरीको कप्तानीमा सुदूरपश्चिमले उच्चस्तरीय प्रदर्शन गरेको छ, विशेष गरी गोर्खाजसँगको खेलमा टोलीले ४ ओभरमा ३ विकेट गुमाई ३ रनको स्थितिबाट १ सय ४७ रन बनाउँदै खेल जितेको थियो । दोस्रो खेलमा कर्णाली याक्समाथि १८ रनको विजय हात पार्दै सुदूरपश्चिमले गत सिजनकै उच्च प्रदर्शनलाई निरन्तरता दिएको थियो ।
दीपेन्द्रसहित अनुभवी विनोद भण्डारी, हेमन्त धामी, जस ब्राउन, क्रिस लिन, हरमित सिंह र स्कट कुग्लेनले पहिलो दुई खेलमा देखाएको प्रदर्शनले सुदूरपश्चिमलाई बलियो बनाएको छ । आरिफ शेख र ईशान पाण्डेले मध्यक्रमको ब्याटिङमा लय भेट्टाएमा सुदूरपश्चिमलाई पराजित गर्न अरू टोलीलाई हम्मे पर्न सक्छ ।
कर्णाली पहिलो खेलमै चितवन राइनोजसँग स्तब्ध भएको थियो । भारतीय प्रियांक पञ्चालले ४८ बलमा ९० रन बनाएपछि कर्णालीले पहिलो खेलमा १ सय ६६ रन बनाए पनि चितवनले ५ बल अगाडि नै लक्ष्य पूरा गरेको थियो । त्यसयता कर्णालीले उत्कृष्ट पुनरागमन गरिसकेको छ । टोलीले अघिल्लो खेलमा मार्क वाटको शतकमा लुम्बिनी लायन्सलाई ९ विकेटले पराजित गरेको थियो । वाटले ४४ बलमै अविजित १ सय १४ रन बनाएपछि कर्णालीले १ सय ५७ रनको लक्ष्य १३ ओभरभित्रै पूरा गरेको थियो ।
बलियो देखिएको चितवन अघिल्लो खेलमा लुम्बिनीसँग पराजित भएको थियो । पहिलो खेलमा विजय हात पारेर हौसिएको काठमान्डु त्यसपछि दुई खेलमा पराजित भइसकेको छ । लुम्बिनी पनि २ खेलमा १ जित र १ हारको स्थितिमा छ । पोखरा पहिलो दुवै खेलमा पराजित भइसकेको छ । विराटनगर र सुदूरपश्चिमले सोमबारको खेल जितेमा अन्य ६ टोलीका लागि प्ले अफको स्थान खुला बन्नेछ ।
