जनकपुर बोल्ट्सका प्रबन्ध निर्देशक निरोज खतिवडा र रमपम नुडल्सका निर्देशक आशिष जाजुले सम्झौतामा हस्ताक्षर गर्दै व्यापारिक साझेदारीलाई औपचारिक बनाएका छन्।
काठमाडौँ — नेपाल प्रिमियर लिगको च्याम्पियन टोली जनकपुर बोल्ट्सले रमपम नुडल्ससँगको साझेदारीलाई निरन्तरता दिएको छ । जनकपुर बोल्ट्ससँग रमपम नुडल्स एसोसिएट पार्टनरका रूपमा रहने भएको छ ।
सम्झौतामा जनकपुर बोल्ट्सका प्रबन्ध निर्देशक निरोज खतिवडा र रमपम नुडल्सका निर्देशक आशिष जाजुले हस्ताक्षर गरेका थिए । जनकपुर बोल्ट्स र रमपमबीचको सम्बन्ध केवल व्यापारिक साझेदारी होइन, वर्षौँदेखि बनेको निष्ठा, विश्वास र आपसी सम्मानको प्रतीक भएको च्याम्पियन टोलीले जनाएको छ ।
पहिलो सिजनदेखि नै रमपमले जनकपुर बोल्ट्सलाई निरन्तर विश्वास गर्दै आयो र यही भरोसाले बोल्ट्सलाई च्याम्पियन बन्ने बाटोमा महत्त्वपूर्ण ऊर्जा दियो । जनकपुरको उल्लेखनीय प्रदर्शनमा रमपम उनीहरूको सबैभन्दा विश्वसनीय समर्थकको रूपमा साथ भएको जनकपुरको विश्वास छ ।
‘यही निरन्तर साथ तथा टिम र ब्रान्ड बीचको विश्वासले यो साझेदारीलाई अझ बलियो बनाएको छ,’ जनकपुर बोल्ट्सका प्रबन्ध निर्देशक निरोज खतिवडाले भने, ‘रमपम जस्तो राष्ट्रिय ब्रान्डले हामीमाथि देखाएको भरोसा र निरन्तर समर्थनले हाम्रो टोलीलाई उच्च प्रदर्शन गर्न प्रेरित गरिरहेको छ ।’
खतिवडाका अनुसार जनकपुर बोल्ट्सको जर्सीको पछाडिको भागमा रमपमको लोगो हुनेछ ।
