नेपाल प्रिमियर लिगमा बुधबार काठमान्डु गोर्खाजविरुद्ध सुदूरपश्चिमको २९ रनको रोमाञ्चक जित
What you should know
काठमाडौँ — फेरि एकपल्ट सिद्ध भएको छ, ट्वान्टी–२० क्रिकेटमा त्यही टिम जित्छ, जसले टिकेर खेल्नेछ । केही आवश्यक साझेदारी गर्छ अनि ब्याटबाट कोही एकजनाले ठोस योगदान दिन्छ । नेपाल प्रिमियर लिग (एनपीएल) को आफ्नो पहिलो खेलमा बुधबार सुदूरपश्चिम रोयल्स यस्तै छनक दिँदै विजयी रह्यो । ‘हामी विजयी रह्यौं, किनभने हाम्रो टिमले आज राम्रो क्रिकेट खेल्यो,’ प्रशिक्षक जगत टमाटाको विश्लेषण थियो ।
उनको आशय थियो, सुदूरपश्चिम टिमले जितका लागि चाहिने सबै आवश्यकता पूरा गरेको थियो । खराब सुरुआत लिएको सुदूरपश्चिमले अन्ततः काठमान्डु गोर्खाजले तेर्स्याएको कडा चुनौती पार गर्दै २९ रनको जित निकालेको हो । टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले एक समय ४ रन बनाउँदासम्म तीन विकेट गुमाएको थियो, अझ २७ रन हुँदा ४ विकेट ।
त्यति मात्र होइन, ५२ रन जेनतेन जोड्दा पनि ५ विकेट झरिसकेको थियो । यहींनिरबाट अमेरिकी खेलाडी हरमित सिंहले निर्णायक इनिङ्स खेलिदिए । उनले २० बलमात्र सामना गरेर ५३ रन बटुले । त्यसमा २ चौका र ६ छक्का सामेल थियो । उनी नै निर्विवाद ‘प्लेयर अफ द म्याच’ पनि भए । त्यसमै टिकेर सुदूरपश्चिमले २० ओभरमा १ सय ४७ रन बनाएको थियो, जुन चुनौतीपूर्ण स्कोर नै रह्यो ।
‘हामीले पावर प्लेमै ३ विकेट गुमाएका थियौं, त्यसैले हामीलाई गाह्रै भएको थियो । यही स्थितिमा हरमितले उत्कृष्ट प्रदर्शन गरे । हामीले जति रन जोडेका थियौं, त्यही बेला लागिसकेको थियो, जित हाम्रो हुनसक्ने छ,’ प्रशिक्षक टमाटाले थपे । सुदूरपश्चिमका लागि केही निर्णायक साबित साझेदारी भए । सबैभन्दा पहिले आरिफ शेखले इशान पाण्डेसँग पाँचौं विकेटका लागि २५ रन थपे ।
आरिफले छैटौं विकेटका लागि कप्तान दीपेन्द्रसिंह ऐरीसँग मिलेर थप २० रन जोडे । त्यसपछि दीपेन्द्रले हरमितसँग मिलेर सातौं विकेटका लागि ६१ रनको साझेदारी निभाए । काठमान्डु गोर्खाजका कप्तान करण केसीले ३० रन मात्र खर्चेर ४ विकेट लिए । त्यसमध्ये सुरुआती तीन विकेट उनकै नाममा थियो । मिलिन्द कुमार, सन्नी पटेल र रसिद खानले पनि समान दुई विकेट लिएका थिए ।
हरमितको अलराउन्ड प्रदर्शन
हरमित ब्याटबाट मात्र चम्केनन्, बलबाट पनि असरदार रहे । उनले २१ रनमा २ विकेट लिए । सुदूरपश्चिमका लागि ओपनर बलिङ जोडी स्कट कुग्लेजिन र हेमन्त धामीले पनि उत्तिकै धारिलो बलिङ प्रदर्शन गरे । ‘काठमान्डुले ब्याटिङ गर्दा उसले पनि पावर प्लेमा ३ विकेट गुमाइसकेको थियो, त्यसले हामीलाई मजबुत बनायो,’ प्रशिक्षक टमाटाले भने । काठमान्डुले नियमित अन्तरमा विकेट गुमाइरह्यो ।
त्यसैले जितका लागि १ सय ४८ रन पछ्याएको काठमान्डु गोर्खाज अन्ततः १६.५ ओभरमात्र टिक्यो र १ सय १८ रनमै अलआउट भयो । टोलीका लागि ओपनर आकाश त्रिपाठीले सर्वाधिक ३४ रन जोडे । तर, उनको अर्को छेउबाट लगातार विकेट झरिरह्यो । भीम सार्कीले १२, जोन सिमसनले २४, मिलिन्द कुमारले ११ र सन्नी पटेलले १० रन जोडे । तर कसैले ठोस साझेदारी गर्न सकेनन् ।
काठमान्डु गोर्खाजका प्रशिक्षक मोन्टी देसाईले माने, सुदूरपश्चिमले राम्रो खेल्यो । ‘हाम्रो सुरुआत त राम्रो रह्यो, तर त्यसलाई पछिसम्म कायम राख्न सकिएन,’ उनले भने, ‘मलाई लागेको थियो, १ सय ४७ रनको लक्ष्य पछ्याउन सकिने खालको छ ।’ उनले पनि माने हरमितको प्रदर्शन निर्णायक रह्यो । हरमित सुरुमा बलरमात्रै थिए, तर अहिले आएर उनले आफ्नो ब्याटिङमा पनि धेरै सुधार गरेको प्रशिक्षक मोन्टीले बताए ।
जनकपुर बोल्ट्सविरुद्धको पहिलो खेल जितेको गोर्खाज अबका खेलमा पुनरागमन गर्नेमा मोन्टी विश्वस्त रहे । खेलका क्रममा अम्पायरका केही निर्णय भने सटिक रहेनन् । त्यसमध्ये केही निर्णय सुदूरपश्चिमको प्रतिकूल देखिए भने केही काठमान्डुको प्रतिकूल । यसबारे मोन्टीले खासै केही बोल्न चाहेनन् । उनले माने यो पनि खेलको एउटा पक्ष हो, यसबारे बोल्न खासै आवश्यक हुन्न, यस्तो भइरहन्छ ।
प्रतियोगिताको सुरुआती तीन दिन शीतले धेरै प्रभाव नपारे पनि अबका दिनमा त्यसले भूमिका खेल्न सुरु गर्ने विश्लेषण प्रशिक्षक टमाटाको थियो । ‘अहिलेका लागि सबै परिस्थिति नयाँ छ । हाम्रा धेरै खेलाडीका लागि फ्लडलाइटमा खेल्ने नयाँ अनुभव रहेको छ । प्रयोगमा आएका पिचको व्यवहार पनि परक–फरक छ । अबका साता दिनपछि अझ चिसो हुनेछ र शीतले पक्कै पनि खेल प्रभावित हुनेछ ।’
दुवै प्रशिक्षक खुसी
एनपीएल सिजन–२ जसरी अगाडि बढेको छ, त्यसमा दुवै टिमका प्रशिक्षकले खुसी व्यक्त गरे । ‘सन् २०२३ सम्म कसैले यस्तो प्रतियोगिता हुन्छ भनेर सोचेकै थिएनन्, तर २०२५ आइपुग्दा साँच्चै सफल भएको छ । हामी सबैका लागि यो सपना पूरा भएजस्तै हो । त्यसैले हामी सबै बधाईका पात्र हौं । यस्तो प्रतियोगिता साँच्चै सबैको सपना थियो, अब त्यो पूरा भएको छ ।’
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान चौथो खेल आइपुग्दा पनि भरिभराउ थियो । त्यसमा अधिकांश सुदूरपश्चिमकै समर्थक थिए । त्यसैले सुदूरपश्चिमले १२ औं खेलाडी पनि पाएको थियो । यसलाई भने मोन्टीले खास टिमको समर्थकभन्दा पनि नेपाली क्रिकेटकै प्रशंसक रहेको भनेर तारिफ गरे । उनका समकक्षी टमाटाले थपे, ‘हाम्रो टिमलाई यसरी नै माया गरिरहनु, हाम्रो समर्थनका लागि टीयू मैदानमा आइरहनु ।’
