एनपीएल दोस्रो संस्करण आजदेखि : नेपाली क्रिकेट फेरिने विश्वास

देशले धेरै ठूला व्यवधान सामना गर्नुपरेको छ, त्यसैले यसपालि क्यानको नारा छ, ‘क्रिकेटले नेपाललाई एकताबद्ध गर्छ’। प्रतिस्पर्धाले एउटा टिमलाई च्याम्पियन बनाउनेछ तर एनपीएलले समग्र नेपाली क्रिकेटलाई उचाइमा पुर्‍याउनेछ।

मंसिर १, २०८२

हिमेश, विनोद पाण्डे

NPL second edition starts today: Nepali cricket will change for the better

What you should know

काठमाडौँ — नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट सोमबारदेखि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा सुरु हुँदै छ र यो यस्तो प्रतियोगिता रहेको छ, जसले नेपाली क्रिकेट भविष्यमा कस्तो हुनेछ, त्यसको धेरै हदसम्म निर्णय गर्नेछ । धेरैभन्दा धेरै सम्भावना छ, यही प्रतियोगितासँगै समग्र नेपाली क्रिकेट नै फेरिने संघारमा हुनेछ । 

गत वर्षको पहिलो संस्करणले प्रतियोगिताको जग बसाएको थियो, यसपल्टको संस्करणले तला थप्ने काम गर्नेछ । प्रतियोगिताले दोस्रो वर्ष छुँदा यससँग जोडिएको सबैभन्दा ठूलो परिवर्तन भनेकै त्रिवि क्रिकेट मैदान कीर्तिपुरको सानदार देखिने पुनःसंरचना र दर्शकदीर्घा हुनेछ । सँगै फ्लड लाइट्स पनि । 

अब नेपाली क्रिकेट समर्थकले पनि नयाँ स्वादले यो खेल आफ्नै आँखा अगाडि हेर्न पाउने छन् । दिनमा हुने क्रिकेटभन्दा राति फ्लड लाइट्समा हुने क्रिकेट धेरै अर्थमा फरक हुने गर्छ । खेलमा पार्ने प्रभाव त स्वाभाविक नै छ । त्योभन्दा ठूलो अबदेखि दर्शकले फुर्सदमा आरामले बिदाको मानसिकतामा क्रिकेट हेर्न पाउने छन् । 

कुरा यत्तिकैमा सकिन्न, अबको यही प्रतियोगिताले एउटा अर्को तथ्य पनि सावित गर्न सक्नेछ, नेपाली क्रिकेटको सबैभन्दा बलियो र निर्णायक पक्ष नै आम दर्शक हुनेछन् । त्यसै पनि केही खास–खास टेस्ट मान्यता प्राप्तबाहेक दर्शकको घुइँचो लाग्ने भनेकै नेपालमा मात्र हो ।

यो तथ्य त अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सुरुदेखि नै मान्दै आएको छ । अब यिनै समर्थकले नेपाली क्रिकेटलाई धेरै अगाडिसम्म बढाउन सक्नेछ । जनकपुर बोल्ट्स र काठमान्डु गोर्खाजबीचको खेलसँगै प्रतियोगिता सुरु हुनेछ र यसबारे सुन्न पाइएको सबैभन्दा खुसीको समाचार हो, यसका सबै टिकट बिक्री भइसके । बिक्रीका लागि टिकट खुलेको २४ घण्टा नबित्दै सकिएको थियो । 

अब नेपाली दर्शकले मैदानमै गएर क्रिकेट हेर्नुको रोमाञ्चकता बुझिसकेका छन् । त्यसमाथि यी दर्शक फ्लड लाइट्समा हुने क्रिकेट कस्तो हुने हो, त्यसको ‘फर्स्ट ह्यान्ड’ अनुभव बटुल्न चाहन्छन् । प्रतियोगिताको प्रत्यक्ष प्रसारण कान्तिपुर म्याक्स टीभीबाट हुनेछ । यी दुई विकल्पबाहेक अब एनपीएल यू–ट्युबसहित कुनै पनि सामाजिक सञ्जालबाट हेर्न पाइने छैन, हेर्ने नै हो भने ओटीटीमा निर्भर हुनुपर्नेछ ।

त्यसको अर्थ के हो भने कोही क्रिकेट समर्थकले एनपीएल अर्को कुनै विकल्पमा हेर्ने हो भने निश्चित शुल्क तिर्नुपर्नेछ । त्यस्तै अब नेपाली क्रिकेटले यो खेल मन पराउने दर्शकबाट ठूलै रकम उठाउन सक्नेछन् र अन्ततः यो नै पछि गएर नेपाली क्रिकेटको विकासको आधार हुन सक्नेछ । 

यही दर्शकका साथमा क्यानले एनपीएलमा ४० करोड संकलन गर्ने विश्वास गरेको छ । त्यसमध्येको १५ करोड क्यानले टिकट बिक्री, ओटीटी र टेलिभिजन अधिकारबाट उठाउने लक्ष्य राखेको छ । त्यसबाहेक फ्रेन्चाइज नवीकरण शुल्कबाट क्यानले ९ करोड रुपैयाँ पाउनेछ । 

आठ फ्रेन्चाइज टिम उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । फ्रेन्चाइज क्रिकेटको अर्थ के हो भन्दा यस्ता प्रतियोगिताबाट कुनै पनि देशको सर्वोच्च संस्थाले मात्र कमाउने होइन, टिमले पनि कमाउनुपर्छ भन्ने हो । सायद यी फ्रेन्चाइज टिमले पहिलो वर्ष लगानी मात्रै गरे, कमाउनै पाएनन् । दोस्रो संस्करण आइपुग्दा अब कमाउने बाटो पनि तयार हुनेछ । अबदेखि यो एनपीएल खालि प्रतियोगिता मात्रै हुने छैन, यो त अबदेखि एउटा ठूलो उद्योग हुनेतर्फ अग्रसर हुनेछ, लगानी गर्नेले कमाउने पनि छन् ।

अर्को एउटा ठूलो कारणले पनि यसपल्टको प्रतियोगिता सफल हुन आवश्यक छ । यसको पृष्ठभूमि के छ भन्दा पछिल्ला केही समय देशकै लागि अनुकूल रहेन । देशले धेरै ठूला व्यवधान सामना गर्नुपरेको छ । तर जहिले पनि देश यसरी त चल्दैन । देश एकजुट र एकढिक्का हुनु नै पर्नेछ । त्यसैले क्यानले नारा नै दिएको छ, ‘क्रिकेट युनाइट्स नेपाल’ । अर्थात् ‘क्रिकेटले नेपाललाई एकताबद्ध गर्छ ।’

अब यही सन्देशयुक्त लोगो सबै आठै टिमको जर्सीमा हुनेछ, बीचमै सबैले देखिने गरेर । नेपाली क्रिकेटकै दृष्टिकोणबाट यो किन पनि आवश्यक छ भने जनवरीमा महिला ट्वान्टी–२० विश्वकपको छनोट नेपालमै हुँदै छ । नेपाली क्रिकेट इतिहासमै नेपालमै हुन लागेको यो नै अहिलेसम्मको सबैभन्दा ठूलो प्रतियोगिता हुनेछ अनि आईसीसीको मान्यता प्राप्त प्रतियोगिताका रूपमा पनि ।

आईसीसीले नेपालको पछिल्लो घटनाक्रमलाई हेरेर यस प्रतियोगितालाई लिएर संयमित नीति अपनाएको छ र अहिलेसम्म यस्तै हुनेछ भनेर भनेको छैन । अहिलेको एनपीएल सफलतापूर्वक आयोजना हुने हो भने नेपालले मज्जाले भन्न सक्छ, हामी यो प्रतियोगिता आयोजना गर्न तयार छौं । आईसीसी आफैं पनि नेपालमा यो प्रतियोगिता कुनै व्यवधानबिना हुनेछ भनेर ढुक्क हुन सक्नेछ ।

ट्वान्टी–२० विश्वकप खेल्न जानु ठीक अघि नेपालले वेस्ट इन्डिजसँग तीन खेलको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखला खेलेको थियो । पछिल्लो घटनाक्रमले देश अस्तव्यस्त भइरहेको समयमा यस शृंखलालाई ‘युनिटी कप’ नाम दिएको थियो । जित–हार आफ्नो ठाउँमा छ तर युनिटी कपले नेपाली जनतालाई राहतको मलम लगाउने कार्य गरेको थियो । 

जति बेला प्रतियोगिता सुमधुर रूपमा सञ्चालन हुँदै मंसिर २७ मा हुने फाइनलसँगै च्याम्पियन हुने टिम निश्चित हुनेछ, त्यति बेला एउटा टिमले मात्र जित्ने छैन, नेपाली क्रिकेट नै विजयी हुनेछ । 

नटराजनको स्थानमा सोनु

काठमान्डु गोर्खाजले एनपीएलका लागि सोनु देवकोटालाई टोलीमा समावेश गरेको छ । ट्यालेन्ट हन्टबाट आएका आइकोनिक खेलाडी नटराजन साह घाइते भएपछि सोनु देवकोटालाई आफ्नो टोलीमा समावेश गरिएको काठमान्डु गोर्खाजले जनाएको छ । 

कात्तिक १९ मा भएको ट्यालेन्ट हन्टबाट उत्कृष्ट हुँदै नटराजन ‘आइकोनिक खेलाडी’ का रूपमा गोर्खाजको टोलीमा समावेश भएका थिए । तर अभ्यासका क्रममा उनी घाइते भएको गोर्खाजका प्रशिक्षक वसन्त शाहीले जनाए । शाहीका अनुसार नटराजनको बायाँ खुट्टाको मांसपेशी तन्किएको छ र उनी कम्तीमा दुई साता खेल्न सक्दैनन् । 

ट्यालेन्ट हन्टबाट गोर्खाजले ५ खेलाडीलाई डेभलपमेन्ट टोलीमा राखेको थियो । सोही टोलीमा रहेका सोनु देवकोटाले नटराजनको स्थानमा गोर्खाजको टोलीमा स्थान लिएका हुन् । लेग स्पिन अलराउन्डर सोनुले यसअघि नै बागमती प्रदेशबाट राष्ट्रिय प्रतियोगिता खेलिसकेका छन् ।

हिमेश

विनोद पाण्डे कान्तिपुरका खेलकुद ब्यूरो प्रमुख हुन् ।

Link copied successfully