बेंगलुरु — पन्जाब किंग्सले रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) लाई चिन्नास्वामी स्टेडियममा ५ विकेटले पराजित गरेको छ । इन्डियन प्रिमियर लिग (आईपीएल) को शुक्रबारको यो खेल वर्षाका कारण १४ ओभरमा घटाइएको थियो । दुई घण्टा ढिला सुरु भएको थियो ।
न्युन स्कोरको लक्ष्य पाएको पन्जाबले ११ बल बाँकीमा खेल जितेको थियो । नेहाल वाधेराले आक्रामक इनिङ्स खेल्दै टोलीलाई जिताए । पाँचौं नम्बरमा आएका उनले १९ बलमा ३ छक्का र ३ चौका प्रहार गरी आविजित ३३ रन बनाए । ओपनर प्रियान्स अर्याले १ चौका र १ छक्कासहित १६ र प्रभसिमरन सिंहले २ चौकासहित १३ रन बनाए । कप्तान श्रेयस ऐरले १० बल खेलेर ७ रन जोडे । मार्कस स्टोइनिसले छक्का प्रहार गर्दै विजयी रन बटुले । आरसीबीका जोस हेजलउडले ३ विकेट लिए । उनले यस सिजन आईपीएलमा १२ विकेट लिइसकेका छन् ।
अघिल्लो खेलमा पन्जाबले १११ रन रक्षा गर्ने क्रममा कोलकाता नाइट राइडर्सलाई ९५ रनमा समेटेको थियो । पन्जाब सात खेलमा पाँचौं जित निकाल्दै १० अंकसहित दोस्रो स्थान उक्लेको छ । आरसीबी ८ अंकसहित चौथोमा यथावत् छ ।
घरेलु मैदानमा आरसीबीले कमजोर स्कोर बनाएको थियो । टोलीले १४ ओभरमा ९ विकेट गुमाई ९५ रन बनाएको हो । त्यसमा टिम डेविडको अर्धशतक मात्र हेर्नलायक थियो । ४२ रनमै ७ विकेट गुमाएको आरसीबीलाई डेविडले उकासेका थिए । उनले २६ बलमा ५० रन बनाउँदा ५ चौका र ३ छक्का प्रहार गरे । उनको ब्याटबाट अन्तिम ओभरमात्र २१ रन निस्केको थियो । डेविडबाहेक आरसीबीका लागि रजत पाटिदार २३ रन उल्लेखनीय थियो । उनले १८ बलमा १ चौका र १ छक्का हाने । पन्जाबका अर्शदीप सिंह, मार्को जेसन, युजभेन्द्र चाहल र हरप्रित ब्रारले २–२ तथा जाभियर ब्राटलेटले १ विकेट लिए ।
