मुम्बई — बलरहरूको उत्कृष्ट प्रदर्शनमा मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा बिहीबार सनराइजर्स हैदराबादमाथि ४ विकेटको महत्त्वपूर्ण जित हात पारेको छ । सातौं खेलमा मुम्बईको यो तेस्रो जित हो । विजयका बावजुद मुम्बई सातौं स्थानमा यथावत् छ ।
टस हारेर ब्याटिङमा आएको हैदराबादले वाङ्खडे क्रिकेट रंगशालामा २० ओभरमा ५ विकेट गुमाई १ सय ६२ रनमात्र बनाउन सक्यो । हैदराबादले आफ्नो इनिङ्समा कुल ५ छक्का हानेको थियो । त्यो सबै १८ र २० औं ओभरमा थियो । नत्र हैदराबादको १ सय ५० रन पुग्ने सम्भावना पनि देखिएको थिएन ।
ओपनर ब्याटरद्वय अभिषेक शर्मा र ट्राभिस हेडले ८ ओभरभित्र ५९ रन जोडे पनि त्यसपछि पूरा समय हैदराबाद दबिएर खेलेको थियो । अभिषेकले २८ बलमा ७ चौका प्रहार गर्दै ४० र हेडले २९ बलमा ३ चौका प्रहार गर्दै २८ रन बनाए । इशान किसन २ रनमै आउट भए ।
नितिशकुमार रेड्डी २१ बलमा १९ र हेनरिक क्लासेन २८ बलमा ३ चौका र २ छक्कासहित ३७ रनमा आउट भए । अनिकेत बर्मा ८ बल खेल्दै २ छक्कासहित १८ रनमा आउट भए । मुम्बईबाट विल ज्याक्सले ३ ओभरमा १४ रनमात्र खर्चेर २ विकेट लिए । जसप्रित बुमराहले ४ ओभरमा २१ रन खर्चेर १ विकेट लिए । ट्रेन्ट बोल्ट र कप्तान हार्दिक पाण्ड्येको नाममा पनि १–१ विकेट रह्यो ।
मुम्बईले १८.१ ओभरमा १ सय ६६ रन बनाउदै खेल आफ्नो पक्षमा पार्यो । स्कोर बराबरी भएको समयमा पाण्ड्ये र नमन धिर आउट भएका थिए । त्यसपछि तिलक बर्माले विजयी चौका प्रहार गरे । उनी १७ बल खेल्दै २१ रनमा अविजित रहे । पाण्ड्येले ९ बल खेलेर ३ चौका र १ छक्कासहित २१ रन नै बनाए । रोहित शर्माले १६ बलमा ३ छक्कासहित २६, रायन रिकेल्टनले २३ बलमा ५ चौकासहित ३१, ज्याक्सले २६ बलमा ३ चौका र २ छक्कासहित ३६ तथा सूर्यकुमार यादवले १५ बलमा समान २ चौका र छक्कासहित २६ रन बनाएर आउट भए । हैदराबादबाट प्याट कमिन्सले ४ ओभरमा २६ रन खर्चेर ३, इशान मालिङ्गाले ४ ओभरमा ३६ रन खर्चेर २ तथा हर्शल पटेलले १ विकेट लिए । ७ खेलमा पाँचौं हार भोगेको हैदराबाद नवौं स्थानमा छ ।
