दिल्ली क्यापिटल्सका आशुतोषले आफूले सामना गरेको अन्तिम ११ बलमा ४६ रन बनाए
विशाखापट्टनम — आशुतोष शर्माले अविश्वसनीय इनिङ्स खेलेपछि दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सोमबार लखनउ सुपर जायन्ट्सलाई १ विकेटले पराजित गरेको छ ।
२ सय १० रनको लक्ष्य पाएको दिल्लीले ७ ओभरभित्र ६५ रन बनाउँदा ज्याक फ्रेजर म्याकग्रुक (१), अभिषेक पोरेल (०), समीर रिज्भी (४), कप्तान अक्षर पटेल (२२) र फाफ डु प्लेसिस (२९) लाई गुमाइसकेको थियो । ट्रिस्टन स्टब्सले २२ बल खेल्दै १ चौका र ३ छक्कासहित ३४ रन बनाए ।
‘इम्प्याक्ट प्लेयर’ को रूपमा आएका आशुतोष र विपराज निगमले सातौं विकेटमा २२ बलमा ५५ रन जोडेपछि दिल्लीले सानदार पुनरागमन गरेको थियो । निगमले १५ बल खेल्दै ५ चौका र २ छक्कासहित ३९ रन बनाए । मिचेल स्टार्क २ र कुलदीप यादव ४ रनमा आउट भए । आशुतोषले १९ औं ओभरको अन्तिम ३ बलमा १२ रन बनाएपछि दिल्लीलाई अन्तिम ओभरमा विजयनिम्ति ६ रन आवश्यक थियो ।
अन्तिम ओभरको पहिलो बल डट खेलेका मोहित शर्माले दोस्रो बलमा १ रन लिदै आशुतोषलाई स्ट्राइक दिएका थिए । आशुतोषले तेस्रो बलमा स्ट्रेट छक्का प्रहार गरेपछि दिल्लीले ३ बलअगाडि नै २ सय १२ रन बनाएको थियो । प्लेयर अफ द म्याच आशुतोषले ३१ बल खेल्दै समान ५ चौका र छक्का प्रहार गरी ६६ रन बनाए ।
भैरहवास्थित होटल पौवामा सोमबार कान्तिपुर म्याक्सबाट दिल्ली क्यापिटल्स र लखनउ सुपर जायन्ट्सबीचको प्रत्यक्ष प्रसारण हेर्दै समर्थक ।
यसअघि लखनउले ८ विकेट गुमाई २ सय ९ रन बनाएको थियो । मिचेल मार्स र निकोलस पुरनले ६६ बलमा कुल १ सय ४७ रन बनाउँदा लखनउको बाँकी टोलीले ५५ बलमा ५५ रनमात्र बनाउन सक्यो । एक समय २ सय ५० माथिको स्कोर बनाउने सम्भावना देखाएको लखनउलाई दिल्लीले उत्कृष्ट बलिङ गर्दै रोकेको थियो ।
एडेन मारक्रम १३ बलमा १५ रनमा आउट भएपछि मार्स र पुरनको जोडी जमेको थियो । मार्सले ३६ बलमा समान ६ चौका र छक्काको सहयोगमा ७२ र पुरनले ३० बलमा ६ चौका र ७ छक्काको मदतमा ७३ रन बनाए । दिल्ली छाडेर लखनउ पुगेका कप्तान ऋषभ पन्त ६ बल खेल्दै शून्यमा आउट भए । इनिङ्सको अन्तिम २ बलमा क्रमशः छक्का र चौका प्रहार गरेका डेविड मिलर १९ बलमा २७ रनमा अविजित रहे ।
दिल्लीबाट स्टार्कले ४ ओभरमा ४२ रन खर्चेर ३ विकेट लिए । देव्रेहाते स्पिनर कुलदीप यादवले निकै किफायती बलिङ गरे । उनले ४ ओभरमा २० रनमात्र खर्चेर २ विकेट लिए । मुकेश कुमार र निगमको नाममा १–१ विकेट रह्यो ।
