एनपीएलमा समर्थक ओइरिने आस छ : निसम

मंसिर ८, २०८१

कान्तिपुर संवाददाता

NPL hopes to lose supporters: Nisam

काठमाडौँ — जेम्स (जिम्मी) निसम नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट खेल्न काठमाडौं आउन लागेको ठूला नाममध्ये एक हुन् । एनपीएलको फ्रेन्चाइज टोली जनकपुर बोल्ट्सले उनलाई ल्याउन लागेको हो । मिडियम पेस अलरान्डर निसमले न्युजिल्यान्डबाट १२ टेस्ट, ७६ एकदिवसीय अन्तर्राष्ट्रिय र ७९ ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलेका छन् । 

विश्वका प्रायः सबै फ्रेन्चाइज लिग खेल्दै आएका निसमले आफ्नो पछिल्लो टेस्ट ७ वर्ष अगाडि खेलेका थिए । गत वर्ष भारतमा भएको विश्वकपयता निसमले एकदिवसीय अन्तर्राष्ट्रिय खेलेका छैनन् । 

उनले न्युजिल्यान्डबाट ट्वान्टी–२० अन्तर्राष्ट्रिय भने खेल्दै आएका छन् । उनले ट्वान्टी–२० अन्तर्राष्ट्रियमा १५४ माथिको स्ट्राइक रेटमा रन बनाएका छन् । निसमले दिल्ली डेरडेभिल्स, किंग्स इलेभेन पञ्जाव, कोलकाता नाइट राइडर्स, मुम्बई इन्डियन्स, राजस्थान रोयल्सबाट इन्डियन प्रिमियर लिगमा खेलेका छन् । त्यसबाहेक उनले भाइटालिटी ब्लास्ट, बंगलादेश प्रिमियर लिग, दक्षिण अफ्रिका टी–२०, द हन्ड्रेड, पाकिस्तान सुपर लिग, बिग–बास, क्यारेबियन प्रिमियर लिग, च्याम्पियन्स लिगलगायतका प्रतियोगिता खेलेका छन् । निसम अहिले यूएईमा अजमान बोल्ट्सबाट दुबई टी–१० लिगमा खेलिरहेका छन् । यसलगत्तै उनी एनपीएल खेल्न काठमाडौं आउने छन् । बोल्ट्स ग्रुपबाट यसअघि पनि उनले जिम्बावेको टी–१० लिगमा खेलेका थिए । निसमसँग कान्तिपुरका लागि विनोद पाण्डेले इमेलमार्फत गरेको कुराकानीको सारसंक्षेप : 

नेपाल प्रिमियर लिग खेल्न काठमाडौं आउँदै हुनुहुन्छ, एनपीएल र नेपाली क्रिकेटबाट तपाईंले के कस्तो अपेक्षा राख्नुभएको छ ?

म नयाँ ठाउँ (देश) मा गएर क्रिकेट खेल्न आतुर छु । नेपालको सुन्दरता र क्रिकेटप्रति नेपालीहरूको लगावबारेमा मैले धेरै सुनेको छु । त्यसैले एनपीएल खेल्दा मैले ठूलो समर्थन पाउने आशा गरेको छु । 

विश्व क्रिकेटमा अलराउन्डरको रूपमा तपाईंले ठूलो छाप छोड्दै आउनुभएको छ । यसलाई एनपीएलमा अझै प्रभावकारी बनाउन तपाईंको कस्तो योजना छ ? 

मेरो उद्देश्य विश्वका अन्य लिगहरूमा खेल्दा जस्तै हुनेछ । मलाई लाग्छ, क्रिकेटमा सबै क्षेत्रमा योगदान दिन सक्छु । मेरो पहिलो उद्देश्य पनि यही हो ।

तपाईंले विश्वका उत्कृष्ट खेलाडीहरूविरुद्ध खेल्दै आउनुभएको छ, तपाईको यो अनुभवले जनकपुर बोल्ट्सलाई कस्तो फाइदा पुग्ला ? 

हाम्रो टोलीका स्थानीय खेलाडीहरू त्यहाँको कन्डिसन र विपक्षीबारे जानकार छन् भन्नेमा म निश्चित छु । तर म आफ्नो अनुभवले जनकपुर बोल्ट्सलाई सघाउने छु । ट्वान्टी–२० क्रिकेट भनेको परिस्थितिअनुसार खेल्नु पनि हो । मैले त्यसैमा ध्यान दिनेछु ।

जनकपुर बोल्ट्समा अनुबन्धित हुन तपाईंलाई मुख्य गरी कुन पक्षले आकर्षित गर्‍यो ?

मैले बोल्ट्स परिवारबाट यसअघि पनि विश्वका अन्य देशका लिगहरूमा खेल्दै आएको छु । म त्यो सम्बन्धलाई एनपीएलबाट बोल्ट्ससँग जारी राख्न चाहन्छु । अहिलेसम्म मैले बोल्ट्स परिवारबाट सकारात्मक अनुभवहरू पाएको छु ।

तपाईं सामाजिक सञ्जालहरूमा निकै सक्रिय हुनुहुन्छ । सेन्स अफ ह्युमरका लागि परिचित हुनुहुन्छ । जनकपुर बोल्ट्स र नेपाली समर्थकसँग कसरी जोडिने योजना छ त ?

म जहाँ खेले पनि समर्थकहरूसँग समय बिताइरहेको हुन्छु । हाम्रो खेलको आधार नै समर्थक हुन् । समर्थकविनाको खेल निकै खल्लो हुनेछ । मैले अघि पनि भनेको थिएँ, नेपालीहरू आफ्नो टिमको खेलप्रति निकै उत्सुक र लगाव राख्छन् भन्ने सुनेको छु । आशा छ मेरो प्रदर्शनले यसलाई अझ प्रकाश पार्नेछ । 

क्रिकेटबाहेक एनपीएल दौरानमा तपाईंको नेपालमा अरू के–के गर्ने योजना छ ?

जहिले पनि नयाँ ठाउँमा जादा म सधैं स्थानीय संस्कृति अनुभव गर्नलाई उत्सुक हुन्छु । नेपालको सौन्दर्यबारे सबै स्पष्ट नै छ, त्यसैले पहिला यो रोमाञ्चक अनुभव गर्न तयार छु ।

न्युजिल्यान्डका पूर्व विकेटकिपर एडम परोरेले सर्वोच्च शिखर सगरमाथा आरोहण गर्नुभएको थियो । एनपीएलमा आउँदा तपाईंको यस्तो कुनै एभरेस्ट ट्रेकको योजना त छैन ?

भविष्यमा अवसर आयो भने अवश्य विचार गर्नेछु, अहिलेलाई मेरो ध्यान क्रिकेटमै रहनेछ । 

अन्त्यमा, जनकपुर बोल्ट्सका समर्थकलाई के सन्देश दिन चाहनुहुन्छ ?

मैदानमा आएर हाम्रो टोलीलाई समर्थन गर्नुस् । तपाईंहरूलाई यादगार बनाउने प्रयास मैदानबाट हाम्रो हुनेछ ।

एनपीएल

कान्तिपुर

Link copied successfully