काठमाडौँ — नेपाल प्रिमियर लिग (एनपीएल) मा सहभागी टोली सुदूरपश्चिम रोयल्स र नेपाल टेलिकमबीच प्रायोजनसम्बन्धी समझदारी पत्र आदान-प्रदान भएको छ । समझदारीअनुरुप एनपीएल प्रतियोगितामा सुदूरपश्चिम रोयल्स टिमका लागि नेपाल टेलिकम पार्टनरका रूपमा रहनेछ ।
यही मंसिर १५ देखि काठमाडौंमा आयोजना हुन गइरहेको एनपीएलको प्रथम संस्करणमा सुदूरपश्चिम रोयल्ससँग नेपाल टेलिकमले प्रायोजन समझदारी गरेको हो ।
समझदारी पत्रमा नेपाल टेलिकमका तर्फबाट प्रबन्ध निर्देशक संगीता पहाडी अर्याल र सुदूरपश्चिम रोयल्सका तर्फबाट टिमका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख छ ।
टेलिकमकी प्रबन्ध निर्देशक पहाडीले नेपालको खेलकुद क्षेत्रको बृहत्तर विकासका लागि कम्पनीले सदैव योगदान दिँदै आएको र नेपाली क्रिकेटसँग पनि लामो समयदेखि जोडिइरहेको उल्लेख गरिन् ।
सुदूरपश्चिम रोयल्समार्फत एनपीएलमा जोडिन पाउँदा खुशी लागेको उनले बताइन् ।
