सुर्खेत — सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)को कर्णाली याक्स टिमले सुर्खेतको बुलबुल तालमा अवलोकन तथा भ्रमण गरेको छ । एनपीएल सुरु हुनुभन्दा केही दिन अघि मात्रै प्रचारप्रसारका क्रममा सुर्खेत आइपुगेको टोलील बुलबुल तालमा मोटरबोटमा मनोरञ्जन लिएको हो ।
प्रशिक्षक तथा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्ल र कप्तान सोमपाल कामीको नेतृत्वको टोलीले बुलबुल तालमा बिताएको मोटरबोट सञ्चालक कम्पनी सञ्चालक विष्णु ढकालले जानकारी दिए ।
टोलीका कप्तान कामीले आफूलाई मोटरबोट निकै रमाइलो लागेको बताए । 'यो मेरो पहिलो मोटरबोट अनुभव यो, पर्यटकीय हिसाबले निकै सम्भावना भएको पाएँ, सबैले एकपटक मोटरबोटको अनुभव लिन म आग्रह गर्दछु,' उनले भने ।
करिब एक करोड रुपैयाँ लगानीमा सुरु भएको मोटरबोटपछि पछिल्लो समय त्यहाँ आउने पर्यटक बढेका छन् । लामो समयदेखि अत्यधिक फोहोरका कारण अलपत्र अवस्थामा रहेको ताल सफाइ गरी कम्पनीले गत वैशाखदेखि मोटरबोट सेवा सञ्चालनमा ल्याएको हो ।
कम्पनीले बीरेन्द्रनगर नगरपालिकालाई वार्षिक १३ लाख रुपैयाँ बुझाउने गरी मोटरबोट सञ्चालन सुरु गरेको हो । तालमा कम्पनीले नेपालकै पहिलो र ठूलो मोटरबोट उत्पादक नेपाल सीप एण्ड बोट बिल्डिङ कम्पनीले निर्माण गरेको ११ सिटे दुई वटा फिस्टेल ब्राण्डका मोटरबोटमार्फत सेवा प्रवाह गरिरहेको छ ।
