काठमाडौँ — लुम्बिनी लायन्सले क्यानेडियन खेलाडी साद बिन जाफरलाई नेपाल प्रिमियर लिगका लागि आबद्ध गरेको छ । पूर्व कप्तान जाफरले आईसीसी टी–२० विश्वकपमा क्यानडाको नेतृत्व सम्हालेका थिए ।
अन्तर्राष्ट्रिय अनुभव र नेतृत्व क्षमताले आफ्नो टोलाई थप मजबुत बनाउने लुम्बिनी लायन्सको विश्वास छ । पाकिस्तानमा जन्मिएका साद बिन जफरले सन् २००८ मा क्यानडाको प्रथम श्रेणीको क्रिकेटमा डेब्यु गरेका थिए । उनले राष्ट्रिय टोलीबाट सबै फर्म्याटमा निरन्तर प्रतिनिधित्व गरेका छन् ।
बायाँहाते स्लो स्पिन बलिङ र बायाँहाते ब्याटिङले मैदानमा बलियो उपस्थिति जनाएका जाफरले क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा सेन्ट लुसिया जोक्सबाट खेलेका थिए । जाफरले विश्व क्रिकेटमा एउटा बेग्लै स्थान बनाएका छन् । टी–२० अन्तर्राष्ट्रिय खेलमा ४ ओभरको बलिङ स्पेलमा एक रन पनि नदिई कीर्तिमान बनाउने उनी पहिलो खेलाडी हुन् ।सन् २०२१ को नोभेम्बरमा भएको पानामाविरुद्धको खेलमा उनले ४–४–०–२ को कीर्तिमानी प्रदर्शन गरेका थिए, जुन उपलब्धि अहिलेसम्म कायम छ ।
लुम्बिनी लायन्सबाट एनपीएल खेल्ने भएपछि जाफरले भनेका छन्, ‘नेपाल प्रिमियर लिगमा लुम्बिनी लायन्सबाट खेल्दै मैले अहिलेसम्म प्राप्त गरेको अनुभव प्रदर्शनसहित समग्र नेपाली क्रिकेटमा योगदान पुर्याउन चाहन्छु ।’
लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जीसीले साद बिनजस्ता अन्तर्राष्ट्रिय प्रतिभालाई आफ्नो टिमको हिस्सा बनाउन पाउँदा खुसी व्यक्त गर्दै अलराउन्ड क्षमता र कप्तानीबाट प्राप्त अनुभवले टोलीलाई बलियो बनाउने विश्वास व्यक्त गरे । एनपीएल मंसिर १५ देखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ । लुम्बिनी लायन्सको पहिलो खेल मंसिर १९ मा विराटनगर किंग्सविरुद्ध हुनेछ ।
