कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७२

स्पेनलाई ओलम्पिकको फुटबल स्वर्ण

श्रावण २७, २०८१
स्पेनलाई ओलम्पिकको फुटबल स्वर्ण

पेरिस —  वैकल्पिक खेलाडी सर्जियो कामेलोले अतिरिक्त समयमा दुई गोल गरेपछि स्पेनले शुक्रबार राति आयोजक फ्रान्सलाई पराजित गरी ओलम्पिक फुटबलको स्वर्ण जितेको छ । खेलमा १–३ ले पछाडि रहेको समयमा थिएरी हेनरीको टोलीले उत्कृष्ट पुनरागमन गर्दै खेल ३–३ को बराबरीमा ल्याए पनि स्पेनले अत्तिरिक्त समयमा बाजी मारेको थियो । 

इन्जो मिलोटले ११ औं मिनेटमा फ्रान्सलाई अग्रता दिलाए पनि फेर्मिन लोपेजको दुई र एलेक्स बाइनाको फ्रिकिक गोलमा स्पेनले मध्यान्तरसम्म ३–१ को अग्रता लिएको थियो । माघनेज अकलीओउचले ७९ औं मिनेटमा गोल गरी फ्रान्सको आस जगाए । भारको सहयोगमा प्राप्त पेनाल्टीमा जिन फिलिप माटेटाले इन्ज्युरी समयको तेस्रो मिनेटमा गोल गर्दै फ्रान्सलाई ३–३ को बराबरीमा ल्याएका थिए ।

रायो भालेकानोका फरवार्ड कामेलोले ३० मिनेट थपिएको खेलको १० औं मिनेटमा गोल गर्दै स्पेनलाई अग्रता दिलाए भने अन्तिम सेकेन्डमा काउन्टर एट्याकमा गोल गर्दै विजय निश्चित गरे । स्पेनले १९९२ यता ओलम्पिकमा पहिलो पटक फुटबलमा स्वर्ण जितेको हो । तीन वर्षअगाडि टोकियो ओलम्पिकमा स्पेन फाइनलमा पराजित भएको थियो ।

फ्रान्सले सन् १९८४ को लस एन्जल्स ओलम्पिकयता ओलम्पिक फुटबल स्वर्ण जितेको छैन । स्पेनले विश्व फुटबलमा वर्चस्व नै जमाइरहेको छ । अघिल्लो महिनामात्र स्पेनले जर्मनीमा युरोपियन च्याम्पियनसिप जितेको थियो भने हालैमात्र फ्रान्सलाई नै पराजित गरी युरो यू–१९ जितेको थियो । स्पेनको महिला टोलीले गत वर्ष विश्वकप पनि जितेको थियो ।

फ्रान्सको दुःख यतिमै सीमित छैन । २०२२ को विश्वकप फाइनलमा फ्रान्स पेनाल्टी शुटआउटमा अर्जेन्टिनासँग पराजित भएको थियो । विश्वकपमा पनि फ्रान्सले यस्तै पुनरागमन गरे पनि अन्तमा हार बेहोरेको थियो ।


प्रकाशित : श्रावण २७, २०८१ ०६:४८
×