१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९९

केपी ओली कप टी–२० क्रिकेट : आर्मी र मधेश प्रदेश विजयी 

पोखरा — पोखरा रंगशाला क्रिकेट मैदानमा जारी केपी ओली कप टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत सोमबार भएको खेलमा मधेश प्रदेश र त्रिभुवन आर्मी क्लब विजयी भएका छन् । मधेश प्रदेशले सुदूरपश्चिम प्रदेश र आर्मीले आयोजक मदन भण्डारी स्पोर्ट्स क्लब ‘निलो’ लाई पराजित गर्दै विजयी भएका हुन् ।

केपी ओली कप टी–२० क्रिकेट : आर्मी र मधेश प्रदेश विजयी 

पहिलो खेलमा मधेश प्रदेशले सुदूरपश्चिम प्रदेशमाथि ८ विकेटले सानदार जित निकाल्यो । सुदूरपश्चिमले दिएको ५८ रनको लक्ष्यलाई मधेशले २ विकेट गुमाउँदै ९२ बल बाँकी रहँदै जित निकालेको हो । टस जितेको सुदूरपश्चिमले १५.५ ओभर खेल्दै ५८ रनमा सबै विकेट गुमाउन पुग्यो । रुपेश सिंहको बलमा ओपनर अभिषेक पाल खाता नखोली पेभेलियन फर्किंदा गजेन्द्र बोहोरा पनि ४ रनमै आउट भए । कप्तान राजु रिजाल २ रनमा आउट भए । खडक बोहोरा ९ बलको सामना गर्दै एक रनमा पेभेलियन फर्किए । बसन्त कार्कीले ४ रन बनाए । किरण ठगुन्नाले १० रन जोडे । नरेश साउदले १८ रनको योगदान दिँदा भोजराज भाटले १० रन बनाउन सके । मधेश प्रदेशका हरिशंकर साहले ४, रुपेश सिंहले ३ र अनील साहले १ विकेट लिए ।

जवाफी ब्याटिङमा मधेश प्रदेशले २ विकेट गुमाउँदै लक्ष्य पूरा गर्न सफल भयो । मधेशले ६२ रन बनायो । तीन बल सामना गरेका हरिंशकर साहलाई गजेन्द्र बोहोराको बलमा शून्यमै आउट गरे पछि मधेश दबाबमा परेको थियो । तर अनील साहले जितको आधार तयार पारे । अनीलले ११ बल खेल्दा ३ चौका र २ छक्का प्रहार गर्दै २५ रन बनाए । उनी पनि बोहोराकै बलमा आउट भए । इमरान शेख र पवन सर्राफले २७ रनको साझेदारी गरे । दुबै नटआउट रहे । हरिशंकर साह खेलमा म्यान अफ दी म्याच घोषित भए ।

सोमबार दोस्रो खेलमा कुशल मल्लले अलराउन्ड खेल्दा विभागीय टोली त्रिभुवन आर्मी क्लबले आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमी ‘निलो’ विरुद्ध ११० रनको सानदार जित दर्ता गर्‍यो । राष्ट्रिय टोलीका खेलाडीबाट सुसज्ज्ति आर्मीलाई टस जितेर ब्याटिङको निम्तो दिएको आयोजक निलोविरुद्ध आक्रामक रुपमा प्रस्तुत भएको आर्मीले २० ओभर खेल्दै ६ विकेटको क्षतिमा १९५ रन बनाएको थियो ।

आर्मीका लागि पारीको सुरुआत गरेका सन्तोष कार्कीले ३५ बलमा ७ चौका प्रहार गर्दै टिमका लागि सर्वाधिक ४१ रन बनाए । उनी धवन सहनीको बलमा आउट भए । विनोद भण्डारी २४ बलमा ३ चौका र ३ छक्काको मद्दतले ३८ रन बनाउँदै शुभम् खनालको बलमा पेभेलियन फर्के । आर्मीका लागि कुशल मल्लले २५ रनको योगदान दिँदा वाशिर अहमदले २३ रन र रोहित पौडेलले १२ बनाए । सन्दिप रम्जाली र भीम सार्कीले समान ६–६ रन बनाउँदै नट आउट रहे ।

आयोजक निलोका लागि मेहुल श्रेष्ठले २ विकेट लिए भने शुभम् खनालले १ विकेट लिए । १ सय ९६ रनको विशाल लक्ष्य पछ्याएको आयोजक निलो १५.४ ओभरमा ८५ रनमा समेटियो । आर्मीका लागि १.४ ओभर वलिङ गरेका कुशल मल्लले २ रन दिएर ३ विकेट हात पारे ।

उनले आयोजक निलोका लागि १० रन बनाएका सिमोन रोय, २ रन बनाएका कुशल रुपाखेती र डायमन्ड मण्डललाई शून्य रनमा पेभेलियनको बाटो देखाए । आयोजक निलोका लागि निर्भिक पाठकले २८ रन बनाउँदै रन आउट हुन पुगे । रणविर यादवले १६ रनको व्यक्तिगत योगदान दिँदा ओपनर रोनिम तिवारीले १५ रन बनाए । आर्मीका लागि जितेन्द्र मुखिया र शाहव आलमले समान २–२ विकेट लिए भने रोहित पौडेल र विवेक यादवले समान १–१ विकेट हात पारे । खेलमा नेपाल आर्मीका कुशल मल्ल म्यान अफ दी म्याच घोषित भए ।

मंगलबार पहिलो खेल सुदूरपश्चिम र नेपाल पुलिस क्लब, दोस्रो खेल कोशी प्रदेश र नेपाल आर्मीबिच हुनेछ ।

प्रकाशित : मंसिर ११, २०८० १७:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवाका २७ सहसचिवलाई एक महिनादेखि काम नदिई संघीय मन्त्रालयमा हाजिर मात्रै गराएर राखिएकोबारे के टिप्पणी छ ?