विश्वकप क्रिकेट : बंगलादेशलाई हराएपछि पाकिस्तान उत्साहित

कार्तिक १४, २०८०

एजेन्सी

कोलकाता — साहिन अफ्रिदीको तीन विकेट तथा फाखर जमान र अब्दुल्लाह सफिकको अर्धशतक मदतमा पाकिस्तानले विश्वकप २०२३ मा मंगलबार बंगलादेशलाई ७ विकेटले पराजित गरेको छ । लगातार खराब प्रदर्शनपछि यो जितले पाकिस्तान टोलीमा उत्साह थप्नेछ । जितपछि पाकिस्तानको ६ अंक भएको छ । टोली अफगानिस्तानलाई उछिनेर पाँचौं स्थानमा उक्लेको छ ।

लगातार चार हारपछि यो जित निस्केको हो । यसले टोलीको सेमिफाइनल सम्भावना जीवन्त बनाएको छ । पाकिस्तानले अन्तिम चारको सम्भावनाका लागि आफ्नो अन्तिम दुई खेलमा निश्चित जित निकाल्नुपर्नेछ । अब पाकिस्तानले बेंग्लुरुमा न्युजिल्यान्डको सामना गर्नेछ भने कोलकातामा हुने अर्को खेलमा इंग्ल्यान्डविरुद्ध भिड्ने छ । त्यसबाहेक पाकिस्तानका लागि अन्य खेलका नतिजा पनि आफूअनुकूल हुन आवश्यक पर्नेछ ।

बंगलादेश भने २ अंकमै सीमित रहँदै नवौं स्थानमा छ । हारले बंगलादेश प्रतियोगिताबाट बाहिरिएको छ र यो दुर्भाग्य बेहोर्ने प्रतियोगिताकै पहिलो टिम बनेको छ । जितका लागि २ सय ५ रन पछ्याएको पाकिस्तानले ३२.३ ओभरमा ३ विकेट गुमाएर विजयी रन बनायो । त्यसमा सफिकले ६८ र जमानले ८१ रन बनाए । उनीहरूले पहिलो विकेटमा १ सय २८ रन बनाए ।

प्लेयर अफ द म्याच फाखरले ७४ बलमा ३ चौका र ७ छक्का प्रहार गरे । सफिकले ९ चौका र २ छक्का बनाए । उनले ६९ बलमात्र सामना गरे । बंगलादेशी बलरमध्ये मेहदी हसन मात्रै केही सफल रहे र उनले तीन विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको बंगलादेशले ४५.१ ओभरमा सबै विकेट गुमाएर २ सय ४ रन बनाएको थियो ।

बंगलादेशका लिटन दासले ४५, महमुदुल्लाहले ५६ तथा कप्तान सकिब अल हसनले ४३ रन बनाए । पाकिस्तानी बलरमध्ये साहिन अफ्रिदी र मोहम्मद वसिमले समान तीन विकेट लिए । अफ्रिदीले पहिलो सिकारका क्रममा ५१ औं खेलमा आफ्नो सय विकेट पूरा गरे । एक समय २३ रन बनाउँदासम्म तीन विकेट गुमाएको बंगलादेशका लागि लिटन र महमुदुल्लाहले ७९ रनको साझेदारी गरे ।

क्रिकेट

एजेन्सी

Link copied successfully