विश्वकप क्रिकेट : इंग्ल्यान्डमाथि भारत ठूलो अन्तरले विजयी

कार्तिक १२, २०८०

एजेन्सी

लखनउ — भारतले विश्वकप क्रिकेट २०२३ मा आफ्नो लगातार जितको क्रमलाई आइतबार छ खेल पुर्‍याएको छ । यसका लागि इंग्ल्यान्डलाई सय रनले हरायो । जितसँगै भारतको १२ अंक भएको छ र अंक तालिकाको शीर्ष स्थानमा उक्लेको छ ।

डिफेन्डिङ च्याम्पियन इंग्ल्यान्ड भने प्रतियोगिताबाट बाहिरिने निश्चित जस्तै भएको छ । उसको छ खेलबाट एकै जितमा २ अंकमात्र रहेको छ । भारतको सेमिफाइनल प्रवेशको सम्भावना भने बलियो बनेको छ ।

ब्याटिङका लागि निकै कठिन लखनउ पिचमा जितका लागि २ सय ३० रन पछ्याएको इंग्ल्यान्डले ३४.५ ओभरमा १ सय २९ रन बनाएर समेटिएको थियो । उसका लागि लियान लिभिङस्टोनको २७ रन नै सर्वाधिक ठूलो व्यक्तिगत स्कोर रह्यो ।

भारतीय बलरमध्ये मोहम्मद सामीले ४ विकेट लिए भने जसप्रित बुमराहले ३ र कुलदीप यादवले २ विकेट हात पारे । त्यस अगाडि भारतले पहिले ब्याटिङ गर्दै ९ विकेटमा २ सय २९ रन बनाएको थियो र यसमा सबैभन्दा बढी ८७ रन कप्तान रोहित शर्माले बनाए ।

उनले १ सय १ बलको सामना गरेर १० चौका र ३ छक्का प्रहार गरे । उनलाई छाडेर सूर्यकुमार यादवले ४९ रन जोडे । इंग्लिस बलरमध्ये डाभिड विलीले ४५ रनमा ३ विकेट लिए । क्रिस वक्स र अदिल रसिदनको नाममा २/२ विकेट रह्यो । 

क्रिकेट

एजेन्सी

Link copied successfully