काठमाडौँ — पाकिस्तान क्रिकेट टिमका प्रमुख छनोटकर्ता(चिफ सेलेक्टर) इन्जमाम-उल-हकले राजीनामा दिएका छन् । विश्वकप क्रिकेट चलिरहेका बेला सोमबार प्रमुख छनोटकर्ता इन्जमामले राजीनामा दिएको जी न्युज उर्दुले जनाएको छ ।
उनीमाथि खेलाडीहरूको व्यवस्थापनसँग सम्बन्धित कम्पनीमा साझेदार रहेको आरोप लागेको थियो । केही कम्पनीमा कप्तान बाबर आजम र मोहम्मद रिजवान पनि जोडिएको समाचारहरू प्रकाशित भएको थियो । तर यो समाचारको स्वतन्त्र रूपमा भने पुष्टि हुन सकेको छैन ।
पाकिस्तानी टेलिभिजन समा टीभीको 'जोर का जोर' कार्यक्रममा अन्तर्वार्ता दिने क्रममा इन्जमामले आरोपपछि आफू पाकिस्तान क्रिकेट बोर्डमा गएको र आरोपमाथि छानबिन गर्न आग्रह गरेको बताएका छन् ।
पाकिस्तान क्रिकेट बोर्ड उक्त आरोपको छानबिनका लागि ५ सदस्यीय टोलीको समिति गठन गरेको जनाएको छ । पाकिस्तानी क्रिकेट टिमका पूर्वकप्तानसमेत रहेका इन्जमामले छानबिनका लागि बोर्डलाई पूर्ण रूपमा सघाउने प्रतिबद्धता जनाएका छन् । 'हामी क्रिकेटर हौँ र हामी जुनबेला पनि देशको सेवाका लागि तयार छौँ । मविरुद्ध जाँच हुने मैले राजीनामा दिनु स्वाभाविक हो,' उनले भनेका छन् ।
Pakistan Cricket Board (PCB) has set up a five-member fact-finding committee to investigate allegations in respect of conflict of interest reported in the media pertaining to the team selection process.
— PCB Media (@TheRealPCBMedia) October 30, 2023
The committee will submit its report and any recommendations to the PCB…
उनले खेलाडी आबद्ध भएका कुनै पनि कम्पनीमा आफ्नो कुनै सम्बन्ध नभएको पनि स्पष्ट पारेका छन् । उनले गत अगस्टमा पाकिस्तानी क्रिकेट टिमको प्रमुख छनोटकर्ताको जिम्मेवारी सम्हालेका थिए ।
यसअघि सन् २०१६-१९ मा पनि उनी पाकिस्तानी क्रिकेट टिमका प्रमुख छनोटकर्ता थिए । पाकिस्तानले भारतमा जारी विश्वकपमा खराब प्रदर्शन गरिरहँदा इन्जमामको राजीनामा आएको हो । जारी विश्वकपमा पाकिस्तानले भारत, अफगानिस्तान, अस्ट्रेलिया र दक्षिण अफ्रिकासँष लगातार चार खेल हारेको छ । उसले नेदरल्यान्ड्स र श्रीलंकाविरुद्धको खेल भने जितेको थियो ।
