दौडमा दलबहादुरको दबदबा

जुम्लाको तातोपानीका धावक दलबहादुर कुँवरले राष्ट्रियस्तरका प्रतियोगितामा भाग लिन थालेको एक वर्ष मात्रै भयो । यसबीचमा उनी रुकुम पश्चिममा भएको गुरिल्ला म्याराथन, ताप्लेजुङमा भएको पाथीभरा म्याराथन, पोखरा फिस्टेल म्याराथनमा प्रथम भइसकेका छन् । गत वर्ष ७ प्रतियोगितामा भाग लिएका उनले यसवर्ष जुम्ला–रारा म्याराथनमा आफ्नै पुरानो रेकर्ड तोडेका छन् । 

भाद्र २१, २०८०

डीबी बुढा

जुम्ला — तातोपानी गाउॅपालिका–७ का २० वर्षीय दलबहादुर कुँवरले राष्ट्रियस्तरका प्रतियोगितामा भाग लिन थालेको झन्डै एक वर्ष मात्र पुग्यो । यो अवधिमा उनले झन्डै एक दर्जन प्रतियोगितामा भाग लिएर सबैमा उनी शीर्ष ३ मा परे भने एउटा मात्र उनी सातौं भए ।

पहिलो पटक २०७९ वैशाखमा जुम्ला–रारा अल्ट्रा म्याराथनमा सहभागी बन्दा उनलाई ४९ किलोमिटर दूरी पार गर्न सक्दिन कि भन्ने थियो । ‘सुरुमा जुम्लाबाट दौडिएर रारा ताल पुग्न सकिन्छ कि सकिँदैन भन्नेमै अन्योलमा थिएँ,’ उनले भने । 

तर गाउँका भीरपाखा र उकाली ओराली गरिरहेकाले उनलाई दौडन खासै समस्या भएन । झन्डै ७० खेलाडी सहभागी म्याराथनमा उनले स्वर्ण पदक जिते । उनी ५ घण्टा ५ मिनेटमै रारा तालमा पुगेका थिए । 

खासमा दलबहादुरले रहरमै म्याराथनमा भाग लिएका थिए । तर स्वर्ण जितेपछि भने सोच मोडियो । त्यसयता उनी निरन्तर दौडिरहेका छन् । कहिले गाउँबाट करिब ५ घण्टा दूरीको भुरिचुला चुचुरोमा दौडिरहेका हुन्छन् त कहिले पानसय पाटनमा । दलबहादुर अहिले गिनिज बुक अफ वर्ल्ड रेकर्डमा एभरेस्ट म्याराथन ह्याट्रिकर हरिबहादुर रोकायाको प्रशिक्षणमा जोडिएका छन् । सन् १९९७ देखि २००१ सम्म लगातार तीन पटक एभरेस्ट म्याराथन जितेर विश्व कीर्तिमानी कायम गरेका धावक रोकाया अल्ट्रा म्याराथनमा स्थापित नाम हो । 

गत वर्ष फागुन १ गते रुकुम पश्चिममा आयोजना भएको गुरिल्ला म्याराथनमा सहभागी भएका दलबहादुरले ६२ किलोमिटरको म्याराथन ५ घण्टा ५३ मिनेटमा पार गर्दै प्रथम स्थान हात पारे । म्याराथनमा करिब ७० जनाले प्रतिस्पर्धा गरेका थिए । लगातार दुई म्याराथनमा प्रथम भएपछि उनलाई अल्ट्रा म्याराथनमा केही गर्छु कि भन्ने लागेको छ । त्यसपछि उनी ताप्लेजुङमा भएको पाथीभरा म्याराथनको ६८ किलोमिटर दौडमा सहभागी भए । १ सय ६० खेलाडी सहभागी भएको प्रतियोगितामा पनि उनले बाजी मारे । त्यहाँ उनी ४ घण्टा १२ मिनेट दौडिएर प्रथम भएका हुन् ।

त्यसयता उनी ४२ किलोमिटरको पोखरा फिस्टेल म्याराथन र सुर्खेतमा आयोजित १० किलोमिटर दौडमा प्रथम भइसकेका छन् । गत वर्ष उनले ७ वटा प्रतियोगितामा भाग लिएका थिए भने यो वर्ष जुम्ला–रारा म्याराथनमा गत वर्षको आफ्नै रेकर्डलाई तोड्दै उनले ४ घण्टा ५४ मिनेट १ सेकेन्डमा ४० किलोमिटर दूरी पार गरे भने असारमा उनले एभरेस्ट म्याराथनमा भाग लिए । ४२ किलोमिटर दूरी ३ घण्टा ४९ मिनेटमा पार गरेर दोस्रो स्थान ल्याए । ‘पहिले दौडेर पनि कीर्तिमानी कायम गरेको भन्ने सुन्दा अचम्म लाग्थ्यो तर दौडनुमा पनि खेलाडीको ठूलो भविष्य जोडिएको हुँदोरहेछ,’ उनले भने, ‘दौडेर पनि विश्वसामु नेपाल र नेपालीको शिर उँचो बनाउन सकिँदोरहेछ ।’ 

दलबहादुरको सानैदेखि नेपाली सेना बन्ने इच्छा थियो । दुई वर्षअघि उनले नेपाली सेनाका लागि प्रयास गरे । दौडदेखि शारीरिक अभ्यास सबै पास गरेका उनी लिखितमा भने उत्तीर्ण हुन सकेनन् । ‘अहिले पनि घरमा बुबाआमालगायत सबैले जागिर खानुपर्छ भन्नुहुन्छ,’ उनले भने, ‘तर मलाई अझै केही वर्ष दौडन मन छ ।’ ५ वटा दौडमा आफूले कीर्तिमानी बनाउन पाएकामा उनी दंग छन् । दौडिँदै परिवारको विपन्नता र अभावसँग संघर्ष गरिरहेको उनले बताए । सामान्य परिवारमा जन्मिएकाले दुःख गर्दै आफू हुर्किएको उनको भनाइ छ । 

अहिले दलबहादुर कर्णाली स्पोर्ट्स क्लबमा प्रशिक्षण लिइरहेका छन् । उनका अनुसार हाई अल्टिच्युटमा दौड अभ्यास गर्दा अल्ट्रा दौडका लागि फाइदा पुगिरहेको छ । ‘रोड रेसभन्दा पनि अल्ट्रा रेसलाई नै प्राथमिकता दिइरहेको छु,’ उनले भने, ‘सुरुमा आफ्नै पाराले कुदिन्थ्यो । क्लबमा आबद्ध भएर ट्रेनिङ लिएपछि कसरी दौडने भन्ने सीप पनि सिकिरहेको छु, पेस, टाइम, ट्रेनिङ तालिकादेखि डाइट प्लानबारे थाहा भएको छ ।’ क्लबले सातामा ६ दिन सोमबारदेखि शनिबारसम्म २ प्रकारको प्रशिक्षण दिइरहेको छ ।

‘पेस मेकिङ’ र ‘डिस्ट्यान्स कभर’ मा खेलाडीहरूलाई मुख्य गरी प्रशिक्षण दिइने प्रशिक्षक रोकायाले बताए । उनका अनुसार ‘पेस’ मा २० किमि ट्र्याकमा दौडिने दलबहादुर ‘डिस्ट्यान्स कभर’ मा बाहिर जंगलतिर गएर उकालो–ओरालो दौडने गर्छन् । शनिबार ५ घण्टासम्म कुद्ने उनी आइतबार बिदामा बस्ने गरेको क्लबले जनाएको छ । 

क्लबमा आबद्ध खेलाडीहरूको खानपिन गाउँमा जे पाइन्छ त्यही हुन्छ । ‘हामीले गाउँमै उत्पादन गरेको खाना खान्छौं । सातुदेखि सिस्नु गेडागुडी खान्छौं,’ उनले भने,‘प्रशिक्षणका लागि अझै राम्रो ट्र्याक र उचित डाइट आवश्यक पर्थ्यो, तर आर्थिक अवस्था कमजोर हुँदा पुर्‍याउन सकिएको छैन ।’ क्लबले छनोट गरेको ५ जनाका लागि सिपर्दी कम्पनीले जुत्ता उपलब्ध गराएको छ भने ५ जनाको खाजा खर्च पनि बेहोरिरहेको क्लबका अध्यक्ष सरोज शाहीले बताए । ‘दलबहादुर चरम गरिबी र कठिन भौगोलिक वातावरणमा हुर्केर पनि छोटो समयमै दौडमा जमेको खेलाडी हो,’ उनले भने, ‘उनको खेल क्षेत्रप्रति ठूलो लगाव छ ।’ 

तातोपानी गाउँपालिकाले धावक दलबहादुर कुँवरलाई खाजा खर्चस्वरूप मासिक ५ हजार रुपैयाँ दिने घोषणा गरेको छ । एकपछि अर्को अल्ट्रा म्याराथनमा सफलता पाइरहेका उनको हौसलाका लागि मासिक ५ हजार रुपैयाँ दिने निर्णय गरिएको गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंले बताए ।

 ‘दलबहादुरजस्ता अब्बल खेलाडीहरू पारिवारिक र आर्थिक समस्याले पलायन हुने समस्या छ,’ उनले भने, ‘तर गाउँपालिका सीप, क्षमता, कला र प्रतिभा संरक्षणको पक्षधर हो, त्यसैले जति सक्छौं, यस्ता प्रतिभाको संरक्षण गर्छौं ।’ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तीर्थ कठायतले धावक कुँवरलाई खर्च अभावले थप प्रतियोगिताको तयारी प्रभावित नहोस् भनेर पालिकाले सहयोग गरेको बताए ।

युवा ग्यालरी

डीबी बुढा कान्तिपुरका जुम्ला संवाददाता हुन् ।

Link copied successfully