झापाका ‘फुटपाथ आइडल’

‘काम पाइएला भन्दै होस्टलमा बसियो तर कामै पाइएन । केही उपाय नलागेपछि सडकमै गाउन थालियो ।’

भाद्र २१, २०८०

पर्वत पोर्तेल

झापा — झापाको केन्द्र, बिर्तामोड । अनि, बिर्तामोडको केन्द्र मुक्ति चोक । त्यसको पूर्वपट्टि दुर्गा मन्दिर । नजिकै सानो रूखको पोथ्रो । पोथ्राको छहारी मुन्तिर गुन्जिँदै छ, एउटा सुरिलो स्वर । राजमार्ग छ पूर्व–पश्चिम राजमार्ग । 

भदौरे घाम पश्चिमतिर ढल्किँदै छ । दृष्टिविहीन गायक जेठा मुर्मु असिनपसिन भएर गाउँदै छन् । गाडीको कर्कश हर्न छिचोल्दै उनको आवाज परसम्म गुन्जिरहेको छ :

कहाँ थियौ तिमी रंगमञ्च उठेपछि आयौ

समयले जवानी लुटेपछि आयौ ।

गन्तव्यमा पुग्न हतारिएका पैदल यात्रीलाई उनको स्वरले जबर्जस्त तान्छ । अनि पुलुक्क हेरेर आफ्नै बाटो लाग्छन् । कोही मनकारीले भने खल्तीबाट १०/२० रुपैयाँ झिकेर दिन्छन् । दिनभरि फुटपाथमा गीत सुनाएर जम्मा भएको केही नगद बटुलेर उनी डेरातिर लाग्छन् । ‘हिजोआज पहिलाजस्तो पैसा उठ्दैन,’ देब्रे हातले पसिना पुछ्दै जेठाले भने, सबैतिर आर्थिक मन्दी छ । असह्य गर्मी छ । बटुवाहरू पनि गर्मीले कम हिँड्न थालेका छन् ।’

जेठा मुर्मु दुई स्वयंसेवकसहित बिर्तामोडको दुर्गा मन्दिर, हनुमान कम्प्लेक्स, बिर्तासिटी, बीएन्डसी, बसपार्क आसपास बढी भेटिन्छन् । बेलाबेला अलि मास्तिर अर्जुनधारा र अलि तल्तिर भद्रपुरसम्म पनि पुग्छन् । ‘लकडाउनअघि त राम्रै कमाइ थियो,’ जेठाले दुःख बिसाए, ‘अहिले दिनभरि हिँड्दा पनि गाह्रो छ ।’

झापाका उम्दा गायक तथा सर्जक जेठा करिब ५ वर्षदेखि ‘फुटपाथ आइडल’ भएका हुन् । देशकै होचो भूभाग कचनकवलको पाठामारीमा जन्मिएका होचो काँटीका अग्ला गायकको संघर्षको कथा कम पीडादायी छैन । उनी सानैदेखि गीत गुनगुनाउँथे । विपन्न र लोपोन्मुख सन्थाल समुदायका जेठाले बडो दुःख गरेर पढे । पौने घण्टा हिँडेर विद्यालय पुग्थे । पृथ्वीनगरको हिमाली माविबाट एसएलसी सकेपछि उनी उच्च शिक्षासँगै संगीत अध्ययनका लागि सहर पसे । कचनकवलबाट बिर्तामोडसम्म करिब ४० किलोमिटर लामो बस यात्रा दिनहुँ गर्थे ।

२०६० सालतिरै बुबाको मृत्युपछि कचनकवलको झुप्रोमा आमा मात्रै छन् । तीन दिदीबहिनी बिहे गरी गए । एक्ला छोरा जेठाको कलिलो काँधमा सिंगो घरको गर्जो टार्ने जिम्मेवारी आइलाग्यो । अध्ययनसँगै संगीत पनि सिक्थे । गीत गाउन सिक्दा जीवन पाल्न सक्छु भन्ने आत्मविश्वास थियो । गुरु थिए, अग्रज संगीतकार कुशेश्वर राई । उनकै छत्रछायामा सिके ।

यसबीचमा उनी विभिन्न साहित्यिक सांगीतिक संघसंस्थाबाट सम्मानित भइसकेका थिए । सम्मानपत्रको चाङ नै थियो । तर, आम्दानी थिएन । बरु खर्च बढेको बढ्यै थियो । लामो समय पाठामारी–बिर्तामोड धाएपछि उनी थाके । अन्ततः काँकडभिट्टाको एक सहकारी संस्थाले उनलाई संगीत प्रशिक्षकका रूपमा अनुबन्धन गर्‍यो । उनी केही समय पूर्वी नाकातिर बसे । त्यहाँबाट आउने केही रकमले उनी परिवारको गर्जो टार्थे । 

सहकारीमा विवाद आएपछि बन्द भयो । सँगै बन्द भयो उनको संगीत कक्षा पनि । काँकडभिट्टाको संगीत कक्षा बन्द भएपछि उनी कहाँ जाने/के गर्ने भन्ने अन्योलमा परे । १२ कक्षा पास गरेका उनले बेरोजगार बस्नुभन्दा काठमाडौं गएर संघर्ष गर्छु भन्ने सोचे । कामको खोजीमा लामो समय भौंतारिए । ‘काम पाइएला भन्दै होस्टलमा बसियो तर कामै पाइएन । केही उपाय नलागेपछि सडकमै गाउन थालियो,’ उनले भने ।

एउटा समूहले अपांग बालबालिकाको लागि अक्षयकोष स्थापना गर्ने भनेर गाउँदै हिँडायो काठमाडौंमा । उनी केही महिना हिँडे । तर, त्यो समूहले अपांग बालबालिकाको नाम बेचेर कमाउने धन्धा गरेको थाहा पाएपछि अलग भए । अनि, आफ्नै ढंगले गाउँदै हिँड्न थाले । त्यही मेसोमा सिन्धुपाल्चोककी रमा विश्वकर्मालाई उनले भेटे । दृष्टिविहीन रमा पनि सडकमा गीत गाउँदै गुजारा गर्दै थिइन् । ‘लभ पर्‍यो, बिहे भयो,’ हाँस्दै जेठाले सुनाए, ‘त्यसपछि हामी झापा आयौं ।’

झापामा जेठा–रमाको जोडीले सडकमा तहल्का मच्चायो । त्यो बेला राम्रै आम्दानी पनि गरे । पछि त सडकमा गीत गाउनेको संख्या पनि बढ्दै गयो । उनीहरूको आम्दानी क्रमशः ओरालो लाग्यो । बिर्तामोडको लिटर फ्लावर स्कुल नजिकै डेरा छ जेठाको । भाडा मासिक ८ हजार ।

रमा अचेल सडकमा गाउन भ्याउँदिनन् । कक्षा ३ मा पढ्ने छोरीको हेरचाह गर्छिन् । स्थानीय इडन गार्डेन अंग्र्रेजी स्कुलले वार्षिक ५ हजार मात्रै बुझाउने सर्तमा छोरी पढाइदिएको हो । छोरीलाई डाक्टर बनाउने सोच भएको बताउँछन् जेठा । तर समस्या धेरै छन् । गाउनका लागि जेठासँग राम्रो माइक पनि छैन । केही अघि दाताले दिएको माइक बिग्रिन लागेको छ । ‘अहिलेका लागि त एउटा माइक किनिदिने मनकारी भेटिए पनि हुने,’ उनले भने ।

युवा ग्यालरी

पर्वत पोर्तेल कान्तिपुरका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।

Link copied successfully