एभरेस्ट प्रिमियर लिग : चितवनको च्याम्पियन शैली

राउन्ड रोबिन लिग र क्वालिफायरमा दुवै पटक पोखरालाई पराजित गर्दै चितवन टाइगर्स फाइनल पुगेको हो
विनोद पाण्डे

काठमाडौँ — कमलसिंह ऐरीको सानदार बलिङ र भीम सार्कीको अर्धशतकमा चितवन टाइगर्सले बजाज पल्सर एभरेस्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटको उपाधि जितेको छ । चितवनले पहिलो पटक ईपीएल उपाधि जितेको हो । चितवनले शनिबार फाइनलमा पोखरा राइनोजलाई ४ विकेटले हराएको थियो । आकर्षक ट्रफीसहित विजेता चितवनले ५० लाख रुपैयाँ पुरस्कार जितेको छ । पोखराले उपविजेता हुँदा १५ लाख रुपैयाँ पुरस्कार पाए ।

एभरेस्ट प्रिमियर लिग : चितवनको च्याम्पियन शैली

चितवन टाइगर्स राउन्ड रोबिन लिग र क्वालिफायरमा दुवै पटक पोखरालाई पराजित गर्दै फाइनल पुगेको थियो । दुवै खेल चितवनले समान ९ विकेटले जितेको थियो । शनिबार फाइनलमा पनि चितवनले त्यही प्रभाव कायम राख्दै प्रदर्शनलाई निरन्तरता दिएको थियो ।

‘पोखरालाई फाइनल पुग्नुअघि दुई पटक हराइसकेकाले उनीहरूलाई हामीले कमजोरका रूपमा लिएका थिएनौं । फाइनल भनेको नयाँ खेल, नयाँ सिनारियो हो । त्यसैले हामीले सहज लिएका थिएनौं । यसअघि जस्तो खेलेका थियौं त्यस्तै खेल्ने हो भन्ने थियो, आखिरमा त्यस्तै भयो,’ चितवनका प्रशिक्षक श्यामसन जंग थापाले भने ।

चितवनले टस जितेपछि ब्याटिङमा आएको पोखरा राइनोज १७.५ ओभर खेल्दै १ सय ११ रनमै अलआउट भयो । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भीमले ४४ बलमा ६३ रन बनाएपछि चितवन १५.५ ओभरमै लक्ष्य पूरा गर्न सफल भयो । उनले ७ चौका र २ छक्का प्रहार गरे । भीम आउट भएपछि आएका कप्तान सोमपाल कामीले पहिलो बलमै विजयी चौका प्रहार गरेका थिए ।

प्रतियोगिताको इमर्जिङ प्लेयर घोषित भीमले दिलीप नाथसँग चौथो विकेटमा ५४ र राजेश पुलामीसँग पाँचौं विकेटमा २३ रनको महत्त्वपूर्ण साझेदारी गरी चितवनलाई विजय दिलाए । दिलीप १७ बल खेल्दै २ चौका प्रहार गरी १८ रन बनाउँदा किशोरको तेस्रो सिकार भए । राजेश पुलामी १२ बलमा १ चौका प्रहार गरी १४ रनमा नन्दन यादवको बलमा बोल्ड भए ।

चितवनको सुरुआत निकै दयनीय थियो । दोस्रो ओभरमै हासिम अन्सारीलाई नन्दनले शून्यमा आउट गरे । करिम जन्नतले पनि ४ बल खेलेर खाता खोल्न सकेनन् । ओनपर मोहम्मद साहजादले १४ बलमा २ चौका प्रहार गरी ११ रन बनाए । दुवै अफगान ब्याटरलाई किशोर महतोले आउट गरेपछि चितवन चौथो ओभरमा २०–३ को स्थितिमा पुगेको थियो ।

चितवनजस्तै पहिलो पटक फाइनल खेलिरहेको पोखरालाई रिचर्ड लेभी र विपिन रावतले राम्रो सुरुआत दिलाएका थिए । तर, करिम जन्नतको बलमा लेभीलाई दिलीप नाथले उत्कृष्ट क्याच गरेपछि पोखराको विकेट पतन सुरु भएको थियो । लेभीले १५ बल खेली ५ चौकासहित २६ रन बनाए । १५ बल नै खेलेका विपिनले १ चौका र १ छक्का प्रहार गरी १७ रन बनाए ।

लेभीले इनिङ्सको दोस्रो ओभर लिएर आएका कमललाई तीन चौकासहित १३ रन प्रहार गरेका थिए । पाँचौं ओभरमा दोस्रो स्पेल लिएर आएका कमलले रित गौतमलाई आउट गरेर विकेट लिन सुरु गरेका थिए । रित गौतम र सहन अराचिगे समान २ रनमै आउट भए । चौथो ओभरमा विनाक्षति ३७ रनमा रहेको पोखरा नवौं ओभरमा ५९–४ को स्थितिमा पुगेको थियो । असेला गुणरत्नेले ३४ रन जोडे । उनले २४ बल खेली ३ चौका र १ छक्का प्रहार गरे । विवेक यादव ४, लोकेश बम शून्य, विक्रम सोब १, नन्दन यादव शून्यमा आउट भए । कमलले लोकेश र विवेकलाई लगातार बलमा आउट गरेका थिए । कमल नै प्लेयर अफ द म्याचमा चुनिए ।

कप्तान विनोद भण्डारी आउट हुने अन्तिम खेलाडी थिए । उनले २६ बलमा २२ रन बनाए । उनले २ चौका प्रहार गरेका थिए । चितवनका कमलसिंह ऐरीले ४ विकेट लिए । उनले ३.५ ओभरमा २० रन खर्चे । जन्नतले ३ ओभरमा १५ र सेकुगे प्रसन्नले ३ ओभरमा १३ रन खर्चेर २–२ तथा सोमपाल कामी र सागर ढकालले १–१ विकेट लिएका थिए ।

देव्रेहाते स्पिनर सागर ढकाल प्रतियोगिताका उत्कृष्ट खेलाडीमा चुनिए । उनले कुल १४ विकेट लिँदै एकै सिजनको ईपीएलमा सर्वाधिक विकेट लिने कीर्तिमान बनाए । सन् २०१७ मा पोखराका इसारुल्लाह र २०१८ मा भैरहवा ग्लाडियटर्सका मोहम्मद नाभेदले समान १२ विकेट लिएका थिए । यसपालिको ईपीएलमा सर्वाधिक विकेट लिने ६ जनाको सूचीमा पहिलो तीनसहित चार बलर चितवनकै थिए । कमलले १२ र जन्नत ११ विकेटसहित पहिलो तीन बलरका रूपमा रहे । छैटौं नम्बरमा रहेका शाहब आलमले ८ विकेट लिएका थिए ।

चितवनलाई च्याम्पियन बनाएपछि टोलीका प्रशिक्षक र खेलाडी

श्यामसन जंग थापा (प्रशिक्षक)

हाम्रो टिम सन्तुलित थियो, मोहम्मद साहजाद टिममा हुनु ठूलो प्लस प्वाइन्ट थियो । उनी भएको समयमा हामीले पावर प्ले ब्याटिङको राम्रो सदुपयोग गर्न पाउथ्यौं । नेपालको उत्कृष्ट तीव्र गतिका बलर र स्पिनर हाम्रै टिममा थियो । करिम जन्नत र सेकुगु आएपछि हाम्रो बलिङ झनै बलियो भएको थियो । भीम सार्की, राजेश पुलामी भएकाले ब्याटिङमा हामीसँग अन्तिमसम्मै विकल्प थियो । कमलले अलराउन्ड प्रदर्शन गर्दै काठमाडौंसँगको खेल जिताएका थिए । त्यसैले हामी जुनसुकै स्थितिप्रति ढुक्क थियौं । प्रतियोगिता सुरु हुनुअगाडि नै पनि म सकारात्मक थिएँ । हामी ‘डार्कहर्स’ को रूपमा थियौं । अरूले महत्त्वमा नराख्नुको फाइदा हामीलाई थियो । हामीले अभ्यास सुरु गर्दा भीम सार्की, दिलीप नाथ टचमा थिएनन् । हामीले मिहिनेत गरेका थियौं, यसपालि उनीहरू लयमा फर्किए । ब्याटिङमा हाम्रो गहिराइ थियो । सागर ढकाल र शाहब आलमबाहेक सबै ब्याटिङ गर्न सक्थे ।

राजेश पुलामी

ईपीएल मैले पहिलो पटक जितेको छु । त्यसैले अवश्य पनि निकै राम्रो महसुस गरिरहेको छु । मिहिनेत धेरै गरेको थिएँ, त्यसैको फल पनि हो जस्तो लाग्छ । आज पनि फिनिस गर्नुपर्ने हो, अलिकतिले सकिएन । मलाई पोखराले रिलिज गरेको थियो, अहिले पोखरालाई नै हराउन पाएका छौं । त्योभन्दा पनि उपाधि ठूलो हो ।

पोखराबाट होस् वा चितवनबाट होस् उपाधि भनेको उपाधि नै हो । मलाई कसैले नलिइरहेको अवस्थामा सोमपाल र चितवन टाइगर्सका मालिकले विश्वास गर्नुभयो । उहाँहरूले विश्वासमा मैले पनि केही योगदान दिनुपर्छ भनेर अलिकति दबाब महसुस गरेको थिएँ । हाम्रो टिमले दुई साताभन्दा अगाडिदेखि नै तयारी गरेको थियो, त्यसैको प्रभाव होला टिम संयोजन निकै मिलेको थियो । अरू टिमको सन्तुलन मिलाउँदा मिलाउँदै प्रतियोगिता नै सकिएजस्तो लागेको छ ।

कमलसिंह ऐरी

सुरुका विकेटहरूभन्दा आज विकेट फरक थियो । अरू दिन विकेट स्किड थियो, ब्याटमा बल आइरहेको थियो । आज ब्याटिङका लागि विकेट त्यति सहज थिएन । त्यही भएर राइज बल अलिक प्रभावशाली हुन्छ जस्तो लागेर त्यहीअनुसारको योजना बनाएर बलिङ गरिरहेको थिएँ । लेभीले पहिलो ओभरमा मलाई जसरी खेले, त्यहींदेखि नै मेरो आत्मविश्वास बढेको थियो । त्यसपछि मलाई विकेट लिन सजिलो भयो । प्रतियोगिता सुर हुनु अगाडिदेखि नै म सबै खेलाडीसँग कुराकानी गरिरहन्थे । जित्नका लागि सोचौं नतिजा आफ्नो ठाउँमा छ भनेर भन्थें । हामी दाबेदार थिएनौं, त्यही भएर पनि जित्न सजिलो भयो । मलाईचाहिँ हामी च्याम्पियन बन्छौं भन्ने थियो, अरूको थाहा भएन । तर सबै आत्मविश्वासी देखिन्थे । पहिलो खेलदेखि नै हाम्रो बलिङ राम्रो भएको थियो, कसैलाई १ सय ५० रनभन्दा बढी बनाउन दिएनौं ।

भीम सार्की

आज लक्ष्य कम थियो, हाम्रो विकेट पनि सुरुमा चाँडो गयो । दोस्रो इनिङ्समा ब्याटिङ गर्नुपरेकाले सजिलो भयो । विकेट गइरहेका हुनाले मैले खेल्नुपर्छ भन्ने थियो । यसअघिका दुई खेलमा मैले सजिलै विकेट दिएर गएको थिएँ, त्यसैले आज सुधारिएर खेल्छु भनेर खेलेको हो । ठूलो स्कोर पनि नभएकाले गाह्रो भएन । बलिङ त उनीहरूको पनि राम्रो थियो, सामान्य हिसाबमै खेलेर लक्ष्य पूरा गर्‍यौं । लाइनमा आएको बल हेरेर खेल्यौं । म नेपाली सेनाको प्रशिक्षणमा थिएँ । क्रिकेट खेल्न नपाएको ६ महिना भइसकेको थियो । चितवन टाइगर्सका मालिकले भनेपछि नेपाली सेनाले विश्वास गरेर खेल्न छुट दिएको थियो । आफैंमा विश्वास थियो । मौका पाएँ भने आफ्नो उत्कृष्ट दिन्छु भनेर बसिरहेको थिएँ । सेनाको प्रशिक्षणमा हुँदा अनुशासन, समयको महत्त्व, ध्यान गर्दै आफैलाई कसरी अगाडि बढाउनेलगायतको कुरा सिकेको थिएँ, त्यसले राम्रो खेल्न प्रेरित गर्‍यो ।

सागर ढकाल

मैले प्लेयर अफ द सिरिज पाउनुभन्दा पनि टिमले उपाधि जितेको छ । त्यसले मलाई बढी खुसी बनाएको छ । टिमले जित्छ भन्दा पनि मैले उत्कृष्ट दिन्छु भन्ने थियो । एकले अर्कालाई विश्वास गरेको भएर नै टिमले सफलता पाएको हो जस्तो लाग्छ । म पोर्चुगिज फुटबलर क्रिस्टियानो रोनाल्डोको प्रशंसक भएकाले उनकै शैलीमा विकेट लिएपछि खुसी मनाउने गर्छु । रोनाल्डो जुन टिममा गयो त्यही टिमलाई समर्थन गर्छु । बल टु बल हरेक खेलमा राम्रो गर्छु भन्ने थियो, प्लेयर अफ द सिरिज नै हुन्छु भन्ने सोचेको थिइनँ । आफ्नो टिमलाई कसरी योगदान दिने भनेर मात्र सोचिन्छ । १४ विकेटको कीर्तिमान मैले भर्खरै थाहा पाएँ । हाम्रो एकदमै राम्रो बलिङ युनिट थियो । सोमपाल दाइ, कमल, जन्नत आफ्नो राष्ट्रिय टोलीका लागि खेलिसकेका भएर जहिले पनि चितवनलाई राम्रो सुरुआत दिलाउनुभएको थियो ।

प्रकाशित : आश्विन २४, २०७८ ०६:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?