पोखरा पहिलोपल्ट ईपीएल फाइनलमा- खेलकुद - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पोखरा पहिलोपल्ट ईपीएल फाइनलमा

कान्तिपुर संवाददाता

काठमाडौँ — भैरहवा ग्लाडियटर्सको अपराजित यात्रामा पूर्णविराम लगाउँदै पोखरा राइनोज बजाज पल्सर एभरेस्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटको फाइनलमा पुगेको छ । पोखराले बिहीबार क्वालिफायर १ मा भैरहवा ग्लाडियटर्सलाई ७ विकेटले पराजित गरी पहिलो पटक ईपीएल फाइनल पुगेको हो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पोखराले १ सय २० रनको लक्ष्य १८.२ ओभरमा १ सय २३ रन बनाएर पार गर्‍यो । यसअघि पोखराले टस जितेपछि ब्याटिङ निम्तो पाएको भैरहवाले निर्धारित २० ओभरमा ६ विकेट गुमाई १ सय १९ रनमात्र बनाउन सक्यो । पोखराले शनिबार हुने फाइनलमा चितवन टाइगर्ससँग प्रतिस्पर्धा गर्नेछ । अघिल्लो दिन क्वालिफायरमा चितवनले पोखरालाई पनि ९ विकेटले हराएको थियो ।

गत सिजन पोखरा राउन्ड रोबिनका सबै ६ खेलमा पराजित भएको थियो । ‘बलरले आज खेल सजिलो बनाइदिए । भैरहवामा सबै राम्रा ब्याटरहरू छन्, फिल्डिङ राम्रो हुन सकेन तर राम्रो बलिङ गरेर हामीलाई सजिलो भएको हो,’ आफ्नो कप्तानीमा पहिलो पटक फाइनल खेल्न लागेका पोखराका विनोद भण्डारीले भने, ‘हाम्रो टिम भाग्यले यहाँ पुगेको होइन, मिहिनेत गरेर फाइनल खेल्न लागेका हौं ।’

यता शरद भेषावकरको कप्तानीमा रहेको भैरहवा पहिलोपल्ट ईपीएल फाइनलमा हुनेछैन । शरदको कप्तानीमा पञ्चकन्या तेज २०१६ मा विजेता बनेको थियो भने त्यसपछिको दुई संस्करणमा भैरहवा फाइनलमा पराजित रहँदै आएको थियो । कुल ९ फ्रेन्चाइज लिग प्रतियोगितामा शरदको कप्तानीमा रहेको टोली केवल दोस्रो पटक फाइनल पुग्न चुकेको हो । दुई वर्षअघि पोखरा प्रिमियर लिगमा शरदको कप्तानीमा रहेको टोली फाइनल पुगेको थिएन ।

भैरहवाले समूह चरणमा दुई खेल जितेको थियो भने बाँकी दुई खेल वर्षाका कारण रद्द भयो । त्यसमध्ये पहिलो खेल पोखराविरुद्ध थियो ।

भैरहवाका कप्तान शरद भेषावकर मैदानमा उपचार लिँदै। तस्बिर : हेमन्त श्रेष्ठ/कान्तिपुर

पोखरालाई भैरहवाले १०.१ ओभरमा ६५–७ मा पुर्‍याइदिएको अवस्थामा वर्षाले थप खेल हुन दिएन । ललितपुर प्याट्रियट्ससँग टोलीको खेल ‘टाइ’ भएको थियो ।

पोखराले सुरुमै दुई क्याच फुत्काए पनि अघिल्लो दिन काठमाडौं किंग्स इलेभेनलाई इलिमिनेटरमा पराजित गरेको भैरहवाले त्यसको फाइदा उठाउन सकेन । रोहित पौडेलले खेलको दोस्रो बलमै गरेको प्रहार विपिन रावलले फुत्काएका थिए । ओपनिङ ब्याटिङमा आएका रोहित १७ बलमा २ छक्का प्रहार गर्दै १८ रनमै आउट भए ।

ओपनर तमिम इकवाल चोटका कारण अघिल्लो दिन नै बंगलादेश फर्किनुपरेकाले भैरहवाले त्यसको ठूलो मुल्य चुकाउन पुग्यो । उनको स्थान लिन मध्यक्रमका रोहित ओपनिङमा आएका थिए । तमिममात्र नभई भैरहवाको टोलीमा चोटको लामै सूची थियो । उपुल थारङ्गा र प्रदीप ऐरीले चोटका कारण लगातार दोस्रो दिन फिल्डिङका क्रममा मैदान छाड्न पुगेका थिए । यी दुवैको अनुपस्थितिमा वैकल्पिकमा रहेका हिमांशु दत्तले विकेटकिपिङ गर्नुपरेको थियो ।

भैरहवाका अर्का ओपनर प्रदीप ऐरी १० रनमा आउट भए । श्रीलंकाका उपुल थारङ्गाले १२ बलमा १० रनमात्र बनाउन सके । मलेसियाका सर्भिन मुनिआन्डी ३ र कुशल मल्ल १ रनमै आउट भएपछि भैरहवा १० औं ओभरमै ५१–५ को नाजुक स्थितिमा पुगेको थियो । कप्तान शरद र आरिफ शेखले स्थिति सुधार्ने प्रयास गरे । आरिफले २४ बल खेल्दै १ चौका र १ छक्का प्रहार गरी २७ रन बनाए । शरद ३३ बलमा २ चौका र १ छक्का प्रहार गरी ३२ रन तथा धम्मिका प्रसाद ६ बलमा ४ रन बनाई अविजित रहे । पोखराका फिल्डरले चार नियमित क्याच छाडेका थिए । युवा बलरद्वय किशोर महतो र नन्दन यादवले भैरहवाका ब्याटरलाई नियन्त्रणमा राखेका थिए । किशोरले आफ्नो पहिलो ३ ओभरमा ५ रनमात्र दिएका थिए । उनले कुल ४ ओभर बलिङ गर्दै १ मेडन राख्दै २१ रन खर्चेर २ विकेट लिए । नन्दनले ४ ओभरमा १ मेडन राख्दै १९ रन खर्चेर १ विकेट लिए । सहन अराचिगेले ४ ओभरमा १५ रन खर्चेर २ विकेट लिए ।

रिचर्ड लेभीले २ चौका र १ छक्कासहित ११ बलमा १४ रन जोडेर पोखरालाई राम्रो सुरुआत दिलाए । तर युवा ब्याटर रित गौतमको कलमा उनलाई भुवन कार्कीले सानदार रनआउट गरिदिए । रितले पनि राम्रो खेल्न सकेनन् । उनी १९ बलमा ६ रन बनाई आउट भए । भुवनले लोकेश बमलाई पनि शून्यमा बोल्ड गरी भैरहवाको आस कायमै राखे ।

भैरहवाको पनि फिल्डिङ उस्तै रह्यो । टोलीले लगातार रूपमा तीन महत्त्वपूर्ण क्याच फुत्काउन पुग्यो । दुर्गेश गुप्ताले २ र सर्भिन मुनिआन्डीले १ क्याच छाड्नु भैरहवालाई महँगो पर्‍यो ।

८ ओभरमा ३५–३ को स्थितिबाट पोखरा उकासिएको हो । अराचिगे र विपिन रावलले अविजित ८८ रनको साझेदारी गरेर पोखरालाई विजय दिलाए । अराचिगे ५३ र विपिन ४० रन बनाई अविजित रहे । अराचिगेले ४४ बल खेल्दै ७ चौका र विपिनले ३४ बल खेली ३ चौका र १ छक्का प्रहार गरे ।

प्रकाशित : आश्विन २२, २०७८ ०७:५३
प्रतिक्रिया
पठाउनुहोस्

नेसन्स लिग : बदला लिँदै स्पेन फाइनलमा

बीबीसी

मिलान — इटालीको अपराजित विश्व कीर्तिमानलाई ३७ खेलमा रोक्दै स्पेन सान सिएरोमा भएको सनसनीपूर्ण खेलमा २–१ को जित रच्दै नेसन्स लिगको फाइनल पुगेको छ ।

यूईएफएको दोस्रो श्रेणीको प्रतियोगितामा आएर स्पेनले वेम्बलीमा भएको युरो २०२० को सेमिफाइनलमा बेहोरेको पेनाल्टी सुटआउटको बदला पनि इटालीविरुद्ध लियो । मिलानमा स्पेनका दुवै गोल म्यानचेस्टर सिटीका फेरान टोरेसले गरे । उनले दुवै अवसरमा मिकेल ओयरजबलको क्रस उपयोग गर्दै लुइस एनरिकेको टिमलाई आइतबार हुने फाइनलमा पुर्‍याए । इटालीले उपाधि होडमा बेल्जियम वा फ्रान्सविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।

कप्तान लियोनार्डो बोनुचीले दोस्रो पहेँलो कार्ड पाउँदै मैदान छाड्दा इटाली १–० ले पछाडि परिसकेको थियो । उनले सर्जियो बुस्केटसलाई कुहिनाले प्रहार गरेपछि दोस्रो कार्ड पाए । लोरेन्जो पेलेग्रिनीले अन्त्यतिर सान्त्वना गोल गर्नु अघिसम्म इटाली कमजोर देखिएको थियो । काउन्टर अट्याकमा फेडेरिको किएसाको उत्कृष्ट दौडाइमा पाएको अवसरमा गोल पेलेग्रिनीले गोल गरे पनि इटालीले त्यसपछि खेल बराबरी गर्न सकेन ।

बार्सिलोनाका १७ वर्षीय मिडफिल्डर गावीले पहिलो रोजाइमै खेल्ने अवसर पाए, जुन स्पेनको इतिहासकै सबैभन्दा कम उमेरको कीर्तिमान बन्यो । उनले क्लबका लागि डेब्यु गरेको ६ साताभित्रै यो स्तरमा अवसर पाएका हुन् ।

नेसन्स लिगलाई निष्पक्ष रूपमा भन्नुपर्दा विगतका केहीलाई छाडेर नयाँ प्रतियोगिता नै होला । तर, दुवै टिम ११ खेलाडीमा खेलिरहँदा प्रतिभा र उत्कृष्टले कुनै विश्वकप वा युरोपियन च्याम्पियनसिपको खेलजस्तै रह्यो । इटालीले सन् १९९९ यता घरेलु भूमिमा भएको प्रतियोगितात्मक खेलमा हार बेहोरेको यो नै पहिलोपल्ट हो ।

टोरेसले स्पेनका लागि आफ्नो महत्त्व देखाइदिए । उनी पछिल्लो वर्ष स्पेनको स्टार खेलाडीका रूपमा स्थापित भएका छन् । सेप्टेम्बर १, २०२० यता उनको यो ११ औं अन्तर्राष्ट्रिय गोल हो । कसैले पनि यो अवधिमा ५ गोलभन्दा बढी गरेका छैनन् ।

उनी फिनिसिङमा परिपक्व रहे । स्पेनका लागि उनले पोस्टमै प्रहार गरेका पछिल्ला ७ प्रहारमध्ये ६ गोल भएको छ । उनले इटालीविरुद्ध दुई प्रहारमात्रै गरे । उनको पहिलो प्रहार कठिन अवस्थामा पनि लोभलाग्दो ‘भली’ रह्यो । दोस्रो प्रहार हेडरमा पनि गोल निस्कियो । दुईपल्टै बल पेनाल्टी क्षेत्रमा ओरजबलले दिएका थिए । टोरेसलाई दोस्रो हाफको सुरुमै निकाल्दै युवा खेलाडी येरेमी पिनोलाई डेब्यू दिइएको थियो ।

विशेष गरी इटाली १० खेलाडीमा सीमित भएपछि खेल स्पेनलले पक्का गरिसकेको थियो । रोबर्टो मान्चिनीले भेट्रान डिफेन्डर जर्जियो केलिनीलाई अझै खराब हुनबाट जोगाउन फेडेरिको बर्नाडेचीको स्थानमा हाफ टाइममा ल्याएका थिए । इटालीले दोस्रो हाफमा एकपल्टमात्रै पोस्टमा प्रहार गर्‍यो । किएसा आफ्नै क्षेत्रबाट दौडिए निस्वार्थी रूपमा सब्स्टिच्युट पेलेग्रिनीलाई गोलका लागि बल उपलब्ध गराए ।

प्रकाशित : आश्विन २२, २०७८ ०७:४९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×