मोन्टेभिडियो — लुइस स्वारेज र गोलरकक्षक रोड्रिगो मुनोजलाई कोरोना संक्रमण भएको उरुग्वे फुटबल संघले सोमबार जनाएको छ ।
राष्ट्रिय टोलीका स्टाफ माटिएस फराललाई पनि संक्रमण भएकाले उनीहरू सबैले दक्षिण अमेरिकी विश्वकप छनोटमा नेपाली समय अनुसार बुधबार बिहान ब्राजिलविरुद्ध हुने खेल गुमाउने छन् ।
‘यी तीनैको स्वास्थ अवस्था ठिक रहेको छ र उनीहरूलाई चाहिने बन्दोबस्त गरिएको छ,’ उरुग्वे फुटबल संघले समाजिक संजालमा भनेको छ । स्वारेज र मुनोज बाहेक गोलरक्षक मार्टिन सिल्भा, रक्षक सेवास्टिएन कोट्जे, माटिएस भिना, मिडफिल्डर फेड्रिको भाल्भेर्डे र स्ट्राइकर म्याक्सी गोमेजलाई पनि उरुग्वेले ब्राजिलसँगको खेलमा गुमाउने छ । भिना पनि कोभिड १९ को संक्रमणमा रहेका छन् । स्वारेजले ब्राजिलसँगको खेलमात्र नभएर उनको क्लब एट्लेटिको म्याड्रिडले शनिबार स्पेनिस लिगमा पूर्व क्लब बार्सिलोनासँगको खेल पनि गुमाउने छन् ।
यता पछिल्लो पटक सोमबार प्रिमियर लिगका खेलाडी र क्लब स्टाफमा गरिएको परीक्षणमा १६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको इंग्ल्यान्डको शीर्ष डिभिजनले जनाएको छ । कोरोना महामारीका कारण स्थगित फुटबल जुनमा पुन सुरु भएयता गरिएको एक साताको परिक्षणमा यो संख्या सबैभन्दा बढी हो ।
प्रिमियर लिगले नोभेम्बर ९ देखि १५ सम्ममा गरी १ हजार २ सय ७ जना खेलाडी र क्लब स्टाफको परिक्षण गरेको थियो । क्लब छाडि अहिले राष्ट्रिय टोलीबाट खेलिरहेका खेलाडी परीक्षणको यो सूचिमा रहेका छैनन् । कोरोना संक्रमणमा परेका खेलाडीको नाम प्रिमियर लिगले सार्वजनिक गरेको छैन । संक्रमणमा परेकाले अनिवार्य १० दिन सेल्फ आइसोलेसनमा बस्नु पर्नेछ ।
लिभरपुलका स्ट्राइकर मोहम्मद सलाह इजिप्टबाट खेल्दा कोरोना संक्रमणमा परेका थिए । आर्सनलका मिडफिल्डर मोहम्मद इलनेनी पनि इजिप्टबाट खेल्दा नै संक्रमणमा परेको इजिप्ट फुटबल संघले जनाएको छ । २८ वर्षे यी खेलाडीलाई संक्रमणको कुनै संकेत भने देखिएको छैन ।
इजिप्टले शनिबार टोगोमाथि १–० को विजय हात पार्दा इलनेनीले पूरै ९० मिनेट खेलेका थिए । उनले यस सिजनमा आर्सनलबाट ११ खेलमा खेलिसकेका छन् । उनले अब आइतबार लिड्ससँग हुने प्रिमियर लिगको खेल र नोभेम्बर २६ मा मोल्डेविरुद्ध युरोपा लिगको खेल गुमाउने छन् ।
म्यानचेस्टर युनाइटेड भने आफ्ना लेफ्ट ब्याक एलेक्स टेलेजले शनिबार वेस्ट व्रुमविरुद्ध हुने प्रिमियर लिगको खेल खेल्ने अपेक्षामा छ । ब्राजिलको राष्ट्रिय टोलीबाट खेल्नेक्रममा उनलाई सप्ताहन्तमा कोरोना संक्रमण भएको थियो । तर दोस्रो परिक्षणमा नतिजा नेगेटिभ आएपछि उनले बुधबार बिहान उरुग्वेसँगको खेलका लागि राष्ट्रिय टोलीमा रहने ब्राजिल फुटबल संघले जनाएको छ ।
युनाइटेडले यसअघि उनी इंग्ल्यान्ड फर्किएपछि आवश्यक प्रकृया अगाडि बढाउने जनाएको थियो । दोस्रो रिपोर्ट नेगेटिभ आएपछि भने क्लबले अब उनी वेस्ट व्रोमसँगको खेलमा खेल्ने आशा राखेको छ । टेलेज अक्टोबरमा एफसी पोर्टोबाट चारवर्षे सम्झौतासहित युनाइटेड आएका थिए ।
