कांग्रेस-एमाले गठबन्धन टुटेसँगै सुदूरपश्चिममा नेकपाले मुख्यमन्त्री दाबी गरेको छ भने लुम्बिनी सरकारमा सहभागी हुने र बागमतीमा पनि मुख्यमन्त्रीको दाबी गर्ने तयारी छ ।
What you should know
काठमाडौँ — ०८२ असारमा संघ र प्रदेश सरकारबाट बाहिरिएको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश सरकार नेतृत्वसहित सरकारमा जाने दाउमा लागेको छ । सुदूरपश्चिम सरकारमा कांग्रेस-एमाले गठबन्धन टुटेसँगै नेकपाले त्यहाँको मुख्यमन्त्री दाबी गरेको छ ।
यस्तै, कर्णालीमा कांग्रेस, नेकपा, समाजवादीका सांसदले मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरी कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीलाई मुख्यमन्त्रीको रुपमा प्रस्ताव गरेका छन् ।
४० सदस्यीय कर्णाली प्रदेशसभामा सरकार बनाउन २१ सांसद आवश्यक पर्छ । कांग्रेसका १४ र नेकपाका १४ सांसद भएकाले स्पष्ट बहुमत छ । एमालेको १० सांसद छन् ।
सुदूर र कर्णाली प्रदेश सरकारमा कांग्रेस-एमाले गठबन्धन टुटेसँगै नेकपाले सुदूरप्रदेशमा एमाले र कर्णालीमा कांग्रेससित सत्ता गठबन्धन तयारी थालेको छ । कांग्रेस-एमाले गठबन्धनमा लुम्बिनी, बागमतीमा समस्या आए सरकारमा जाने मनस्थिति नेकपाले बनाएको हो । लुम्बिनीमा सरकारमा सहभागी हुने र बागमतीमा मुख्यमन्त्रीको दाबी गर्ने नेकपाको तयारी छ ।
लुम्बिनी प्रदेशसभाका नेकपा सांसद इन्द्रजित थारुले नयाँ गटबन्धन बन्ने अवस्थामा नेकपा सरकारमा सहभागी हुने बताए । ‘नयाँ गठबन्धन बन्ने अवस्था भए हामी नै सरकारमा जान्छौं,’ उनले भने । लुम्बिनी सरकारको बजेटमा कांग्रेसले असन्तुष्टि जनाउँदै आएको छ ।
८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा अहिले कायम संख्या ८३ छ । सरकार गठनका लागि ४२ सांसद आवश्यक हुन्छ । कांग्रेसका २७ र नेकपासँग १३ सांसद छन् । दुवै मिल्दा ४० हुने भएकाले अपुग २ सांसदका लागि कांग्रेस-नेकपाले नागरिक उन्मुक्ति, राप्रपा, जसपा र जनमत लगायतका साना दललाई फकाउनुपर्नेछ । एमाले-नेकपाबीचको गठबन्धनमा ठ्याक्कै ४३ पुग्छ । प्रदेशसभा एमालेका २९ सांसद छन् ।
त्यस्तै, बागमतीमा नयाँ गठबन्धन बन्ने अवस्था आए नेकपाले मुख्यमन्त्रीको दाबी गर्ने पूर्वमुख्यमन्त्री एवं सांसद शालिकराम जमकट्टेलले बताए । ‘बागमती प्रदेशमा अहिले कांग्रेस-एमाले गठबन्धनमा असन्तुष्टि भए पनि कायम छ । हामीसहित नयाँ गठबन्धन बने मुख्यमन्त्रीमा हाम्रो दाबी रहन्छ,’ उनले भने । बागमतीमा एमालेका मन्त्रीले राजीनामा दिने तयारी गरे पनि बिहीबार बेलुकासम्म रोकिएको छ ।
११० सदस्यीय बागमती प्रदेशसभा भए पनि कांग्रेस र एमालेका २/२, नेकपा र राप्रपाका १/१ गरी ६ सांसद पद रिक्त छ । हाल प्रदेश सभामा १०४ सांसद रहेका छन् । सरकार गठन गर्न बहुमत संख्या ५३ सांसद चाहिन्छ। कांग्रेसका ३६ र नेकपाका २६ सांसद छन्। कांग्रेस–नेकपाको सरकार सहजै बन्न सक्छ। बाग्मतीमा एमालेका २५ सांसद छन् । नेकपा एमाले सरकार बनाउन थप २ सांसदका लागि यो गठबन्धनले राप्रपा वा हामी नेपाली पार्टीसँग मिल्नुपर्ने हुन्छ। राप्रपासँग १२, नेपाल मजदूर किसान पार्टीका ३ र हाम्रो नेपाली पार्टीसँग २ सिट छ।
सुदूरपश्चिम प्रदेश र सम्भावित अन्य प्रदेशहरुको नेतृत्व लिन र सरकारमा सहभागी हुन नेकपाले कांग्रेस र एमालेसँग समानान्तर संवाद गरिसकेको छ । नेकपा संयोजक पुष्पकमल दाहालले कांग्रेस सभापति गगन थापा र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग यही साता कुराकानी गरेका छन् । दाहाल एक कार्यक्रमका लागि श्रीलंका गएकाले फर्केपछि सुदूर प्रदेशलगायत अन्य प्रदेशहरुमा गठबन्ध्न गर्नेबारे टुंगो लाग्ने छ । ‘संयोजक फर्केपछि अरु प्रदेशमा गठबन्धन गर्नेबारे थप स्पष्ट होला,’ ज्वालाले भने, ‘अहिले पनि केन्द्र र प्रदेशरुमा कांग्रेस, एमालेसँग कुराकानी त भएकै छ ।’
गत असारमा केन्द्रमा कांग्रेस-एमाले गठबन्धन बनेपछि सत्ताबाट बाहिरिएको नेकपा (माओवादी र एकीकृत समाजवादी) का लागि प्रदेशमा कांग्रेस एमालेबीच खटपट भएसँगै प्रदेश सरकारको नेतृत्वको दाबी गर्ने बाटो खुलेको हो ।
नेकपा प्रवक्ता प्रकाश ज्वालाले सुदूरपश्चिम सरकारको मुख्यमन्त्रीमा आफ्नो दलको दाबी भएको बताए । ‘सुदूरपश्चिम प्रदेश मुख्यमन्त्रीमा हाम्रो दाबी छ,’ उनले भने, ‘त्यहीअनुसार छलफल भइरहेको छ ।’
नेकपाले सुदूरपश्चिममा कांग्रेसका कमलबहादुर शाहले राजीनामा दिनुपर्ने माग गरेको छ । त्यहाँ नेकपा र एमालेबीच गठबन्धन बनाउनेबारे संवाद भएको छ । सुदूरपश्चिम प्रदेशसभामा नेकपाका १५ र एमालेका ११ सदस्य छन् । कांग्रेसको मुख्यमन्त्री शाहलाई हटाएर नेकपाले मुख्यमन्त्रीको दाबी गरेको छ । प्रदेशसभामा कांग्रेसका २१ सदस्य छन् ।
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध नेकपा उभिएकाले कांग्रेसका जीवनबहादुर शाही मुख्यमन्त्री बन्ने सम्भावना बलियो छ ।
सकेसम्म संविधान निर्माण गरेका दलको प्रदेश सरकार बनाउनु उपयुक्त हुने भए पनि कांग्रेस-एमालेको खटपटका कारण सम्भव नभएको ज्वालाले बताए । ‘सकेसम्म कांग्रेस, एमाले र नेकपा मिलेर प्रदेश सरकार बनाऔं, सत्ताको लाग लुछाचुँडी नगरौं भन्ने हो,’ उनले भने, ‘कांग्रेस, एमालेको सुदूरपश्चिम सरकारबाट सुरु भएको खटपटले त्यो सम्भव देखिएन ।’
सुदूर र कर्णालीमा कांग्रेस-एमालेबीच गठबन्धन टुटे पनि अरु प्रदेशमा एमालेसँग सहकार्य कायम रहेको कांग्रेस महामन्त्री गुरुराज घिमिरेले बताए । ‘प्रदेशहरुमा कांग्रेस, एमाले र नेकपाले सत्ता गठबन्धन गर्नुभन्दा कुनै एक दल प्रतिपक्षमा बस्नु उचित हुन्छ भन्ने हाम्रो भनाइ हो,’ उनले भने, ‘त्यसैले सुदूरमा एमालेसँग गठबन्धन टुटे पनि अरु प्रदेशमा सँगै जानु हुँदैन भन्ने छैन । अरु प्रदेशमा एमालेसँग पनि सहकार्य हुन सक्छ ।’
नेकपा संयोजक पुष्पकमल दाहाल र कांग्रेस सभापति गगन थापाबीच भएको छलफलले सहकार्यको ढोका खोलेको उनको भनाइ छ । ‘दुई नेताबीच प्रदेशहरुका सहकार्यको ढोका खुला राख्ने कुरा भएको छ,’ उनले भने । उनले प्रदेशहरुलाई सत्ता गठबन्धनका लागि स्वतन्त्र अभ्यास गर्न दिनेबारे छलफल भइरहेको जानकारी दिए ।
एमाले सचिव पद्मा आर्यालले सुदूरपश्चिममा कांग्रेसका मुख्यमन्त्री शाहले एमालेका चार मन्त्री बर्खास्त गरेपछि गठबन्धनमा समस्या उत्पन्न भएको बताए । ‘हाम्रा मन्त्री बर्खास्त गरेपछि गठबन्धनमा समस्या आएको हो । अब अर्को गठबन्धनका लागि छलफल हुन्छ,’ उनले भनिन् ।
एमाले अध्यक्ष केपी ओली र नेकपा संयोजक दाहालबीच आगामी दिनमा वाम सहकार्य गर्ने तयारी भएकाले सम्भव भएका प्रदेशमा गठबन्धन गर्ने नेताहरुको भनाइ छ । ‘भोलि स्थानीय र प्रदेश सरकारमा सहकार्यका गर्ने हो भने सम्भव भएका प्रदेशमा कुरा हुन सक्छ,’ अर्याललले भनिन् ।
मधेशमा भने कांग्रेसको तर्फबाट मुख्यमन्त्री कृष्णप्रसाद यादव, एमाले दलका नेता सरोजकुमार यादव र नेकपा नेता एवं अर्थमन्त्री युवराज भट्टराईको बैठकले गठबन्धन कायम राख्ने सहमति गरेका छन् । सत्ताबाट बाहिरिएको एक वर्षपछि जेठ दोस्रो साता नेकपा सरकारमा सहभागी भएको थियो । हाल मधेश सरकारमा भट्टराईसहित चार मन्त्री सहभागी छन् ।
कोशी, गण्डकीमा कांग्रेस र एमाले गठबन्धनबीच समस्या देखिएको छैन । हाल कोशीमा एमालेका हिक्मत कार्की, गण्डकीमा कांग्रेसका सुरेन्द्र पाण्डे मुख्यमन्त्री छन् । यी प्रदेशमा नेकपा प्रतिपक्षमा छन् ।
