सुदूरपश्चिम प्रदेशमा नयाँ सत्ता समीकरणको सम्भावना ।
धनगढी — सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले एमालेका ४ मन्त्रीलाई बर्खास्त गरेका छन् । पदमुक्त हुनेमा भौतिक पूर्वाधार विकासमन्त्री सुरेन्द्रबहादुर पाल, आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्की, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री वीरबहादुर थापा र भौतिक पूर्वाधार विकास राज्यमन्त्री निर्मलादेवी साउद रहेका छन् ।
बजेटलाई लिएर सत्तारुढ दुई दलबीच खटपट चलिरहेको थियो । एमालेले आफैं सहभागी सरकारले ल्याएको बजेट अस्वीकार गरेका थिए । एमाले सांसदहरूले खर्च कटौतीको प्रस्तावसमेत दर्ता गराएका थिए ।
यससँगै सुदूरपश्चिम प्रदेश सरकार नयाँ सत्ता समीकरणअनुसार पुनर्गठन हुने भएको छ । सरकार पुनर्गठनबारे मुख्यमन्त्री कार्यालयले छलफल अघि बढाएको जनाएको छ ।
बजेट पारित गर्न २ दिन बाँकी रहँदा प्रदेशको विवाद भने केन्द्रसम्म पुगेको छ । दूरपश्चिमको बजेट विवादमाथि छलफल गर्न मुख्यमन्त्री कमलबहादुर शाहलाई कांग्रेसले काठमाडौं बोलाएर विमर्श गरेको थियो ।
मुख्यमन्त्री शाह सोमबार काठमाडौं पुगेर कांग्रेसका शीर्ष नेताहरुसँग छलफल गरेका थिए । मुख्यमन्त्री शाहले कांग्रेस सभापति गगन थापा, उपसभापित विश्वप्रकाश शर्मा, महामन्त्री प्रदीप पौडेललगायतसँग बजेटको उल्झन र एमालेसँगको विवादबारे जानकारी गराएका थिए ।
बजेट विनियोजनलाई लिएर सत्तारुढ दल कांग्रेस र एमालेबीच असमझदारी छ । एमाले सांसदहरुले बजेटमा कांग्रेसले एकलौटी गरेको दाबी गरिरहेका छन् भने मुख्यमन्त्री शाह एमालेले नेतृत्व गरेकै मन्त्रालयहरुमा यथेष्ट बजेट विनियोजन गरेको बताउँदै आएका छन् ।
त्यसक्रममा एमाले संसदीय दलको बैठकद्वारा बजेट अस्वीकार गर्ने निर्णय गरिसकेको छ । सरकारमै रहेको एमालेले शुक्रबार प्रदेशसभा सचिवालयमा खर्च कटौतीको प्रस्ताव दर्ता गराएपछि सुदूरपश्चिम प्रदेश सरकारको बजेट अन्योलग्रस्त छ ।
