कार्यदलको निष्कर्ष : चुनावमा एमालेको ठूलो हार हुनुमा सबै पदाधिकारी जिम्मेवार

उपाध्यक्ष रामबहादुर थापा नेतृत्वको कार्यदललाई देशभरबाट तीनथरि सुझाव : ओलीले नेतृत्व हस्तान्तरण गर्नुपर्ने, हालकै नेतृत्वमा आन्तरिक पार्टी एकता वा सबै पदाधिकारीले बिदा लिनुपर्ने

असार ३०, २०८३

गंगा बीसी

Task force's conclusion: All office bearers are responsible for UML's massive defeat in the election

काठमाडौँ — फागुन २१ को निर्वाचनमा एमालेको ठूलो हार हुनुमा अध्यक्ष केपी शर्मा ओलीमात्र नभई सम्पूर्ण पदाधिकारी जिम्मेवार रहेको निष्कर्ष निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनसम्बन्धी कार्यदले निकालेको छ । उपाध्यक्ष रामबहादुर थापाको संयोजकत्वमा गठन भएको कार्यदलले प्रदेशसहित पार्टीका महत्त्वपूर्ण विभागहरूसँग लिएको सुझावका आधारमा यो निष्कर्ष निकालेको कार्यदलका एक सदस्यले जानकारी दिए ।

गत वर्ष भदौको जेन-जी आन्दोलन र त्यसपछि उत्पन्न परिस्थितिको जिम्मेवार तत्कालीन प्रधानमन्त्री एवं पार्टी ओली हुनुपर्ने पार्टीभित्र आवाज उठिरहेका बेला कार्यदलले सामूहिक नेतृत्व (पदाधिकारी) जिम्मेवार भएको निष्कर्ष निकालेको हो । जेठ १० को केन्द्रीय सचिवालय बैठकले उपाध्यक्ष थापाको संयोजकत्वमा उपाध्यक्षहरू विष्णु पौडेल, पृथ्बीसुब्बा गुरुङ, महासचिव शंकर पोखरले, उपमहासचिव लेखराज भट्ट, सचिवहरू छविलाल विश्वकर्मा, पद्मा अर्याल, भानुभक्त ढकाल र प्रदेश इन्चार्जहरू सदस्य रहेका थिए । कार्यदलले १२ ठाउँमा छलफलको सुझावका आधारमा निष्कर्ष निकालेको हो ।

कार्यदलको प्रतिवेदनका आधारमा पार्टी र नेतृत्व पुनर्गठनका लागि कार्ययोजना बनाउने तयारी छ । ओलीले चाहेअनुसार प्रतिवेदन तयार भइरहको कार्यदलका सदस्यको भनाइ छ । ‘अध्यक्ष केपी ओलीले चाहेनुसार प्रतिवेदन बन्दैछ, यसले अध्यक्षलाई सजिलो बनाउने छ,’ ती नेताले भने ।

प्रतिवेदन केन्द्रीय सचिवालय र केन्द्रीय कमिटीले अनुमोदन गरेपछि कार्यान्वयनमा लगिने छ । एमालेमा उपाध्यक्षहरू पौडेल, गुरुङ, गोकर्ण बिष्ट, रघु पन्तलगायत नेताहरू ओलीले नेतृत्वबाट मार्गप्रशस्त गर्नुपर्ने मत राख्दै आएका छन् । कार्यदलको प्रतिवेदनमा टेकेर ओलीमाथि उठेका प्रश्न मत्थर पार्ने नीति लिइने तयारी भएको ओलीमाथि प्रश्न उठाउने अर्का नेताको भनाइ छ ।

कार्यदलले प्रदेशगत रूपमा पाएका लिखित र मौखिक सुझाव मिश्रित प्रकृतिका छन् । प्रदेश कमिटीका सदस्यहरू अधिकांश संस्थापन पक्षका भएकाले तत्काल ओलीको विकल्पभन्दा उनले अर्को महाधिवेशनबाट बिदा गर्नु उपयुक्त हुने सुझाव दिएका छन् । यद्यपि जेन-जी आन्दोलन र त्यसपछि भएको निर्वाचनको परिणामको मुख्य जिम्मेवार प्रमुख नेतृत्व ओली भएको भन्दै नेतृत्व हस्तान्तरण गर्नुपर्ने सुझाव पनि आएका छन् । एमाले बुद्धिजीवी परिषद्का पूर्वअध्यक्ष गजेन्द्र थपलियाको नेतृत्वमा करिब दुई हजार कार्यकर्ता र बाहिर व्यक्तिबीच गरिएको सर्वेक्षणमा ८७ दशमलव ६ प्रतिशतले नेतृत्व पुनर्गठन हुनुपर्ने मत राखेका थिए । त्यो प्रतिवेदनलाई पनि कार्यदलले सुझावका रूपमा लिएको छ ।

कार्यदलका संयोजक उपाध्यक्ष रामबहादुर थापा र महासचिव शंकर पोखरेलले प्रदेशहरुबाट आएका सुझावका आधारमा प्रतिबेदनलाई अन्तिम रुप दिने गृहकार्यमा लागेका छन् । कार्यदलका सदस्य उपमहासचिव लेखराज भट्टले प्रदेशबाट आएका सुझावमा टेकेर प्रतिवेदन तयार गरिने बताए ।

‘पार्टीलाई राजनीतिक, वैचारिक, सांस्कृतिक रूपमा तलदेखि माथिसम्म समग्र पुनर्गठन गर्नुपर्छ भन्ने सुझाव आएका छन्,’ उनले भने, ‘राजनीति, विचार, सिद्धान्त, नीति योजना र निर्वाचन परिणाममा कहाँ कमजोरी रहे, त्यसको समीक्षा हुनेछ,’ उनले भने, ‘पार्टी यो अवस्थामा आउनुमा अध्यक्ष मात्र जिम्मेवार होइन । एउटै व्यक्तिमाथि कमजोरी थोपर्ने कुरा होइन । समग्र नेतृत्व जिम्मेवार हुने कुरा हो ।’ निर्वाचनमा पार्टीको ठूलो हार हुनुमा ओलीले मुख्य जिम्मेवारी लिनुपर्ने केही नेताको मागको खण्डन गरे । ‘पार्टी सामूहिक नेतृत्वमा चुनावमा गएको हो । सबैको निशानामा पार्टी परेको थियो,’ उनले भने, ‘एउटै व्यक्तिमाथि हारको जिम्मेवारी थोपर्नु सही होइन ।’

सचिव भानुभक्त ढकालले एमालेमा नयाँ ढंगले कार्यक्रम बनाउने गरी प्रतिवेदनमा छलफल भइरहेको उल्लेख गर्दै पार्टीमा व्यक्तिकेन्द्रित पुनर्गठन सम्भावना नभएको बताए । ‘प्रतिवेदनले पार्टी बनाउन, नेता तथा कार्यकर्तामा ऊर्जा थप्न, जनतासँग जोडिन सहयोग पुर्‍याउनेछ । हामी विगतको आत्मसमीक्षा, कमजोरीहरूबाट शिक्षा लिएर समग्र पार्टी पुनर्गठनको बाटोमा अघि बढ्नेछौं,’ उनले भने, ‘तर व्यक्ति केन्द्रित पुनर्गठन सम्भावना छैन ।’

एमाले केन्द्रीय सदस्य खिमलाल भट्टराई औपचारिक रूपमा नेतृत्व हस्तान्तरण गर्नेसहित तीनथरि सुझाव आएको बताए । ‘नेतृत्व हस्तान्तरण गरेर अघि जानुपर्छ । दोस्रो, यही नेतृत्वको निरन्तरता दिएर पार्टीलाई एकताबद्ध लिएर जानुपर्छ । तेस्रो, अध्यक्ष केपी ओलीले मात्रै होइन, अरु पदाधिकारीले पनि बिदा लिनुपर्छ भन्ने छ,’ उनले भने,  ‘आम कार्यकर्ताले पार्टीको नीति र नेतृत्वमा परिवर्तन खोजेका छन् । त्यसरीनै अगाडि बढ्दा उपयुक्त हुन्छ भन्ने सुझाव पनि बलियो छ ।’

प्रदेश कमिटी सदस्यहरुले नेतृत्व हस्तान्तरण विधिसम्मत हुनुपर्ने तर्क गर्दै महाधिवेशनबाट निर्वार्चित भएका अध्यक्ष ओलीले त्यही विधिका आधारमा छाड्न सुझाव दिएका छन् । कोशी प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडाले विधिअनुसार पार्टी र नेतृत्व पुनर्गठन गर्नु उपयुक्त हुने सुझाव आएको बताए ।

‘प्रदेशमा आम रूपमा हाल नेतृत्व परिवर्तन गर्नु हुँदैन भन्ने छ । पार्टी नेतृत्व महाधिवेशनबाट आएको हुनाले छोड्नु परेमा त्यही विधिअनुसार जानुपर्ने सुझाव आएका छन्,’ उनले भने, ‘न्यून संख्यामा पार्टी बनाउन नेतृत्वले छाड्नु पर्ने सुझाव आएका छन् ।’

मधेश प्रदेश अध्यक्ष चन्द्रेश्वर मण्डलले आन्तरिक एकता गरेर जान नेतृत्वलाई सुझाव दिएको बताए । ‘पार्टीको आन्तरिक एकतालाई मजबुत गर्नु अहिलेको आवश्यकता भएकाले त्यसरी जान सुझाव आएको छ,’ उनले भने ।

बागमती प्रदेशका नेताहरूले भने पार्टी विधि, नीति र पद्धतिअनुसार नचलेको उल्लेख गर्दै पहिलो काम विधि बसाल्न सुझाव दिएका छन् । अध्यक्ष ओलीले आफूले चाहेअनुसार पार्टीका महत्त्वपूर्ण निर्णय गर्दै आएका छन् ।  

‘पार्टी नीति विधि, नीति, पद्धतिअनुसार चल्नुपर्छ । पार्टी नेतृत्व विधि विधानले चयन गरेको हुनाले बिदा गर्नुपरे, त्यही अनुसार गर्नुपर्छ,’ उनले बागमती प्रदेशको सुझाव सुनाए, ‘ओलीले अध्यक्ष छोड्नु परे विधि, पद्धति र प्रणालीले छोड्नु पर्ने हुन्छ ।’  एमाले उम्मेदवार छनोटदेखि जिम्मेवारी बाँडफाँटमा विधि अनुसार नभई नेतृत्वको तजबिजमा भएको गुनासो हुँदै आएको छ ।

गण्डकी प्रदेशका नेताहरूले पार्टी बनाउन केन्द्रदेखि स्थानीय तहसम्म पद छाड्न तयार हुनुपर्ने सुझाव दिएका छन् । गण्डकी प्रदेश अध्यक्ष नवराज शर्माले पार्टीको जनमत घटेको अवस्थामा कठोर ढंगले समीक्षा गर्ने बेला आएको सुझाव आएको बताए । ‘चुनावमा पाटीर्को जनमत धेरै घटेको छ । आगामी निर्वाचनमा यसलाई सुधार गर्न सकिन्छ । समग्रमा पार्टी भित्रका काम कार्यशैली सुधार गर्नुपर्छ,’ उनको सुझाव छ, ‘नेतृत्व पुनर्गठन गर्ने हो भने केन्द्रदेखि स्थानीय कमिटी विघटन गर्न तयार हुनुपर्छ ।’

लामो समयदेखि एमाले सत्तामा रहेको र अपेक्षा अनुसार काम गर्न नसकेकाले आम निराशा चिर्न पार्टी पुनर्गठनको विकल्प नभएको उनले बताए । पार्टी हितका लागि नीति र नेतृत्व पुनर्गठनका लागि तयार हुनुपर्छ भन्ने सुझाव आएको छ । यो व्यक्तिगत समस्याभन्दा लामो समयदेखि सत्तामा भएको हुनाले कामको क्रियाकलाप हेरिरहेकाले आम निराशा आएको हो,’ उनले थपे, ‘पार्टी पुननिर्माणका लागि सबै कमिटीको विशेष महाधिवेशन, अधिवेशन गर्न तयार हुनुपर्छ भन्ने सुझाव छ ।’

कर्णाली र सुदूरपश्चिम प्रदेशका नेताहरूले प्रत्यक्षमा उम्मेदवार भएका सबै पदाधिकारीले चुनाव हारेकाले यो निर्वाचन परिणाम आउनुमा सबै पदाधिकारी जिम्मेवार रहेको बताएका थिए । ‘चुनावी परिणाम हाम्रो पक्षमा आएन । मूल नेतृत्व दोषी हो भने उम्मेदवार भएका सबै पदाधिकारीले चुनाव हार्नु भएको छ । तर अध्यक्षलाई मात्र जिम्मेवार देखाएर अरु पदाधिकारी पन्छिन मिल्दैन,’ सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष कृष्णप्रसाद जैशीले भने, ‘सुदूरपश्चिम प्रदेशका अधिकांश नेताको सुझाव यस्तै थियो ।’

गंगा

Link copied successfully