एमालेमा नेतृत्व र नीति पुनर्गठनको माग, अध्यक्ष र चार उपाध्यक्षबीच सवालजवाफ

उपाध्यक्षहरूले नेतृत्वमाथि प्रश्न उठाएपछि अध्यक्ष केपी शर्मा ओलीले त्यसको जवाफ फर्काएका थिए । पार्टीको मूल नेतृत्वमाथि नै प्रश्न उठाएपछि ओली आक्रोशित भएको एक नेताले बताए ।

जेष्ठ ८, २०८३

कान्तिपुर संवाददाता

Demand for leadership and policy reorganization in UML, Q&A between the chairman and four vice-chairmen

What you should know

काठमाडौं — एमालेको चार उपाध्यक्षले पार्टीको नीति र नेतृत्व पुनर्गठनको माग गरेका छन् । गुन्डु भक्तपुरमा जारी केन्द्रीय सचिवालय बैठकमा शुक्रबारको बैठकमा उपाध्यक्षहरू विष्णु पौडेल, गोकर्ण विष्ट, पृथ्वीसुब्बा गुरुङ र रघु पन्तले २१ फागुनको निर्वाचन परिणामले पार्टीको नीति र नेतृत्वको पुनगर्ठनको माग गरेको बताए ।

उपाध्यक्ष रामबहादुर थापाले भने अहिलेको नेतृत्वमा पार्टीलाई बलियो बनाएर जानु पर्ने धारणा राखेको एक नेताले बताए ।

‘रामबहादुर थापाबाहेक अरु उपाध्यक्षले नेतृत्व र नीतिको समीक्षा गर्दै पुनर्गठनमा जोड दिनुभयो,’ ती नेताले भने, ‘अध्यक्ष केपी ओलीले उपाध्यक्षहरूको उठाएका प्रश्नको जवाफ दिँदै पनि जानुभयो । एक हिसाबले बैठकमा वाद-विवाद चल्यो ।’ 

बिहीबार दिउँसो १२ बजेदेखि सुरु भई ६ बजेसम्म चलेको बैठकमा ५ उपाध्यक्षले मात्र भनाइ राखेका थिए । उपाध्यक्षहरूले नेतृत्वमाथि प्रश्न उठाएपछि ओलीले त्यसको जवाफ फर्काएका थिए । पार्टीको मूल नेतृत्वमाथि नै प्रश्न उठाएपछि ओली आक्रोशित भएको ती नेताले बताए ।

बैठकपछि उपमहासचिव लेखराज भट्टले ५ उपाध्यक्षले निर्वाचनको समीक्षा गरेको बताए । अध्यक्ष ओलीले उपाध्यक्षको भनाइमाथि थप धारणा राखेको बताए । ‘५ उपाध्यक्षले धारणा राख्नुभयो । अध्यक्षले बीचबीचमा सपोर्ट गर्नुभयो,’ उनले बैठकपछि भने । 

उपाध्यक्षहरूले आफ्नो धारणा ‘राम्रैसँग राखेको’ उनले बताए । ‘सायद यसरी लामो बैठक चलेको पहिलोचोटि होला । उपाध्यक्षहरूले खुलेर विचार प्रस्तुत गर्नुभएको छ,’ उनले भने ।

बैठकमा प्रस्ताव गरिएको नेताहरूको कार्यविभाजन संशोधन गर्न सुझाव आएको भट्टले बताए ।

गत पुसमा महाधिवेशन भए पनि नेताहरूको जिम्मेवारी तोकिएको थिएन । केन्द्रीय सचिवालयमा गरिएको प्रस्तावमा अध्यक्ष ओली समग्र पार्टी, उपाध्यक्षहरू रामबहादुर थापालाई सुशासन, सेवा प्रवाह, विष्णु पौडेललाई पार्टी विभागहरू, पृथ्वीसुब्बा गुरुङ सामाजिक विकाससम्बद्ध विभाग, गोकर्ण विष्टलाई पूर्वाधार, रघुजी पन्त मानवस्रोतको जिम्मेवारी दिएको छ ।

महासचिव शंकर पोखरेललाई पार्टी संगठनात्मक कामको संयोजन, केन्दीय कार्यालय, उपमहासचिवहरू लेखराज भट्टलाई नीति तथा योजना, रघुवीर महासेठलाई कृषि तथा उद्यमशीलता, योगेश भट्टराईलाई नीति तथा योजनाको संयोजक तोकेको छ ।  त्यस्तै सचिव पद्‌मा अर्याललाई संसदीय मामिला विभागको प्रमुख जिम्मेवारी दिइने प्रस्ताव  छ । 

सचिवहरूमध्ये छविलाललाई विश्वकर्मालाई लुम्बिनी इञ्चार्ज,  खगराज अधिकारीलाई गण्डकी, भानुभक्त ढकाललाई संगठन विभाग, यामलाल कँडेललाई कर्णाली, शेरधन राईलाई कोशी, राजन भट्टराईलाई राजधानी विशेष, हिक्मतबहादुर कार्कीलाई राष्ट्रियहित र महेश बस्नेतलाई बागमती इञ्चार्जमा प्रस्ताव गरिएको छ ।

कान्तिपुर

Link copied successfully