ओलीकै नेतृत्व ठीक छ भन्ने पक्षमा १०.५ प्रतिशत मात्र
What you should know
काठमाडौँ — एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्व पुनर्गठन हुनुपर्ने पक्षमा ८७.६ प्रतिशत मत रहेको एक सर्वेक्षणले देखाएको छ । २१ फागुनको निर्वाचनको परिणामलाई लिएर एमालेभित्र नेतृत्व पुनर्गठनको माग भइरहेका बेला केन्द्रीय सदस्य गजेन्द्र थपलियाको सयोजकत्वमा गरिएको सर्वेक्षणमा नेतृत्व पुनर्गठनको पक्षमा दुईतिहाइभन्दा बढी मत देखिएको हो । ओलीकै नेतृत्व ठीक छ भन्ने पक्षमा १०.५ प्रतिशत मात्र मत रहेको छ । ।
‘एमाले रूपान्तरण र पुनःसंरचनाका लागि पुनर्जागरण अभियान’ ले गरेको सर्वेक्षण प्रतिवेदन बिहीबार महासचिव शंकर पोखरेललाई बुझाइएको छ । टोलीका संयोजक थपलियाले नेतृत्व पुनर्गठन गरी बलियो पार्टी बनाउन सर्वेक्षणको नतिजा सहयोगी हुने बताए । ‘देशभित्र र बाहिर बस्ने हजारौं नेपालीको मतका आधारमा हामीले नतिजा निकालेका हौं, नयाँ ढंगले पार्टी निर्माणमा यो उपयोगी हुने अपेक्षा गरेका छौं,’ उनले भने, ‘महासचिवलाई नतिजा प्रतिवेदन बुझाएर भरपर्दो सामग्रीका रूपमा उपयोग गर्न आग्रह गरेका छौं ।’
देशभित्र र बाहिर बस्ने हजारौं नेपालीको मतका आधारमा नतिजा निकालेका हौं, नयाँ ढंगले पार्टी निर्माणमा यो उपयोगी हुने अपेक्षा गरेका छौं – गजेन्द्र थपलिया, संयोजक, एमाले रूपान्तरण र पुनःसंरचनाका लागि पुनर्जागरण अभियानसर्वेक्षण प्रतिवेदन बुझ्दै महासचिव पोखरेलले यसलाई अध्ययन गर्ने बताएका थिए । ‘यसलाई हामी हेर्छौं’ पोखरेलको भनाइ थियो । एमाले प्रचार विभाग प्रमुख नीरज आचार्यले केन्द्रीय कार्यालयलाई बुझाएको प्रतिवेदन पार्टीको आधिकारिक नभए पनि सुझावका रूपमा आएको बताए । ‘पार्टीलाई सुझाव जसले पनि दिन सक्छन्,’ उनले भने, ‘यो सर्वेक्षण पार्टीको आधिकारिक होइन ।’
सर्वेक्षणको नतिजालाई केन्द्रीय सदस्यहरू थपलिया, रमेश पौडेल, नरेश रोकायालगायतले आगामी केन्द्रीय कमिटीमा उठाउने तयारी गरेका छन् । ‘हामीले सर्वेक्षणमा आएको नतिजा पार्टीलाई बुझाएर सार्वजनिक गरिसकेका छौं, यो नतिजाका आधारमा छलफलको विषय बनेको छ,’ पौडेलले भने, ‘पार्टी नेतृत्वले गम्भीर रूपमा लिनुपर्छ ।’
कान्तिपुरलाई प्राप्त सर्वेक्षण प्रतिवेदनअनुसार सबैभन्दा धेरै ४० देखि ६० वर्ष उमेर समूहका ४३.७, त्यसपछि ३० देखि ४० वर्ष उमेर समूहका ३७.१, ४० देखि ६० वर्ष समूहका १३.७ र ६० वर्ष माथिका ५.५ प्रतिशत सहभागी भएका थिए । त्यस्तै ९४ प्रतिशत पुरुष र ६ प्रतिशत महिलाले भाग लिएको सर्वेक्षणका संयोजक थपलियाले जानकारी दिए ।
गुगल अनलाइन फाराममार्फत करिब दुई हजार व्यक्ति सहभागी भएको सर्वेक्षणमा ७२.२ प्रतिशत एमालेका संगठित सदस्य रहेका थिए । त्यस्तै १५.९ प्रतिशत समर्थक, १० प्रतिशत स्वतन्त्र नागरिक र १.९ प्रतिशत अन्य दलसँग आबद्ध व्यक्ति थिए ।
एमाले उपाध्यक्षहरू विष्णु पौडेल, गोकर्ण विष्ट, पृथ्वीसुब्बा गुरुङ, रघु पन्त, महासचिव शंकर पोखरेल, उपमहासचिव योगेश भट्टराई नेतृत्व पुनर्गठनको पक्षमा छन् ।
पहिलो पुस्ताका अध्यक्ष ओलीले दोस्रो पुस्तामा नेतृत्व हस्तान्तरण गर्नुपर्ने माग एमालेमा हुँदै आएको छ । तर सर्वेक्षणले केन्द्रीय कमिटीमा नेतृत्व हस्तान्तरण हुनुपर्नेमा ५० प्रतिशत मत देखिएको छ । पदाधिकारीमा १७.७ प्रतिशत मत छ ।
प्रत्यक्ष निर्वाचनबाट पार्टी नेतृत्व चयन गर्न ८३ प्रतिशतले मत दिएका छन् । हाल महाधिवेशन प्रतिनिधिले नेतृत्व चयन गर्ने एमाले विधानमा उल्लेख छ । यही विधिको पक्षमा १४ प्रतिशतको मत देखिएको छ । यस्तै हालकै अवस्थामा एमाले अघि बढ्न नसक्ने सर्वेक्षणको नतिजामा देखिएको छ । नेतृत्व रूपान्तरण हुनुपर्नेमा ९१.४ प्रतिशत र अहिलेकै अवस्थामा अघि बढ्न सक्नेमा ७.४ देखिएका छन् । बाँकी प्रतिशतले बोल्न चाहेका छैनन् ।
विद्यमान पार्टी नेतृत्वको कार्यशैली लोकतान्त्रिक नभएको, आफू केन्द्रित विधि बनाएको नेतृत्वले आलोचना खेप्दै आएको छ । ‘पछिल्लो समयमा हाम्रो पार्टीका कतिपय नेता, कार्यकर्ताको जीवनशैली भड्किलो बन्दै जानु र आचरणमा समेत स्खलन देखिनु दुःखद विषय हो’ गत वर्ष भदौमा विधान महाधिवेशनले पारित महासचिव शंकर पोखरेलको प्रतिवेदनमा उल्लेख छ ।
विद्यमान पार्टी नेतृत्वको कार्यशैलीबारे तपाईंको धारणा के छ ? भन्ने प्रश्नमा ९५ प्रतिशतले सुध्रिनुपर्ने मत राखेका छन् । नेतृत्व मात्र होइन, नीति पनि पुनर्गठन गर्नुपर्ने एमालेमा साझा मत छ । विधि परिमार्जित गरी जनतासँग जोडिने नीति बनाउने ओलीले धेरै पटक भन्दै आएका छन् ।
सबै आवधिक निर्वाचनमा केन्द्रले उम्मेदवार चयन गर्ने विधिको विपक्षमा सर्वेक्षणको नतिजा देखिएको छ । सबै संगठित सदस्यले मतबाट उम्मेदवार चयन गर्ने पक्षमा ८८ दशमलव एक प्रतिशत देखिएका छन् । हालकै व्यवस्थाको पक्षमा नौ प्रतिशतले मत राखेका छन् ।
एमालेमा पनि युवा पुस्तालाई नेतृत्वमा ल्याउनुपर्ने माग हुँदै आएको छ । सर्वेक्षणले क्षमतावान् र युवा पुस्तालाई सबै कमिटीमा सिधै प्रवेश गराउनुपर्ने पक्षमा ९१ प्रतिशत देखिएका छन् ।
गत भदौमा विधान महाधिवेशनमा विधान संशोधन गरी दुई पटक कार्यकारी पदमा र ७० वर्षे उमेर हद हटाएको थियो । तेस्रो कार्यकालका लागि ओलीले अध्यक्ष हुन चाहेपछि उक्त प्रावधान हटाइएको थियो । यसबारे गरिएको सर्वेक्षणले ८३ प्रतिशत दुई पटक मात्र जिम्मेवारीमा बस्न पाउने मत राखेका छन् । यसको विपक्षमा १५ प्रतिशत मत देखिएको छ ।
एमाले को पुनःसंरचनाको निकास कहाँबाट निकाल्नु उपयुक्त हुन्छ ? भन्ने प्रश्नमा ‘अर्ली’ महाधिवेशनको पक्षमा २५ र विशेष महाधिवेशन मत राख्नेमा ४७.७ प्रतिशत रहेका छन् । एमालेमा विशेष महाधिवेशन हुनुपर्ने भन्दै हस्ताक्षर संकलनसमेत भएको थियो । करिब चार सय महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेका थिए । एमाले तत्कालीन कार्यवाहक अध्यक्ष रामबहादुर थापाको आग्रहमा हस्ताक्षर अभियान रोकिएको थियो ।
