एमाले केन्द्रीय सदस्य महेश बर्तौलाले भने- 'पदाधिकारी तहमा र केही साथीहरुले नेतृत्वको बढी आलोचना गरेर टिप्पणीहरु दिइरहनुभएको छ । पार्टीको वैधानिक संरचनाबाट भएका फैसलालाई अस्वीकार गर्न सकिन्न ।'
What you should know
काठमाडौँ — एमाले केन्द्रीय सदस्य महेश बर्तौलाले पार्टीको वैधानिक संरचनाबाट भएका फैसलाहरुलाई अस्वीकार गर्न नमिल्ने भन्दै महाधिवेशनमार्फत निर्वाचित नेतृत्वको विषयमा विवाद सिर्जना गर्नुको औचित्य नरहेको टिप्पणी गरेका छन् ।
बिहीबार पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीसँग कुरा गर्दै बर्तौलाले यस्तो टिप्पणी गरेका हुन् । पार्टीको नेतृत्व ११ औँ महाधिवेशनबाट स्थापित वैधानिक प्रक्रियाअनुसार नै अघि बढ्ने बताए । उनले नेतृत्व चयन पार्टीको स्थापित वैधानिक संरचना, विधि र अभ्यासअनुसार हुने भन्दै महाधिवेशनबाट भएका निर्णयलाई व्यक्तिगत चाहना वा असन्तुष्टिका आधारमा मान्दिनँ भन्न नपाइने बताए । पार्टीभित्र देखिएका अन्तरविरोधहरु हटाएर केपी शर्मा ओलीको नेतृत्वमा पार्टीलाई एकतावद्ध बनाउनुको विकल्प नरहेको समेत उनको भनाइ थियो ।
‘पार्टीको नेतृत्व कसले गर्ने भन्ने विषयमा कुनै विवाद छैन । अस्ति भर्खरै मात्र हाम्रो पार्टीको ११ औँ महाधिवेशनले पार्टीको विधानको पक्षमा फैसला गर्यौं । त्यसकारण कम्युनिस्ट पार्टीहरुभित्रै नेतृत्व निर्माणको एउटा आफ्नै वैधानिक संरचाना, विधि र अभ्यास छन्,' उनले भने, 'महाधिवेशनले जुन फैसला गरेको छ त्यही फैसलाको जगबाट पार्टीलाई एकता बनाउने हो । बहकाउमा लागेर होइन, कसलाई के इच्छा छ ? कसैको इच्छा पूरा गरिदिने ढंगबाट एमालेले आफ्ना निर्णयहरु अगाडि बढाउँदैन ।'
नेतृत्वको आलोचना गर्दा अलि धेरै लोकप्रिय हुन सकिन्छ कि भन्ने ढंगबाट पनि पार्टीका केही व्यक्ति उद्वेलित भइरहेको उनको भनाइ थियो । 'विशेषगरी पदाधिकारी तहमा पनि र केही साथीहरुले नेतृत्वको बढी आलोचना गरेर टिप्पणीहरु दिइरहनुभएको छ । तर एमालेको जुनसुकै तहका नेता कार्यकर्ताले के बुझ्नुपर्छ भने पार्टीको वैधानिक संरचनाबाट भएका फैसलाहरुलाई अस्वीकार गर्न सक्दैनौँ,’ उनले भने ।
