पुराना दलमा वर्षाैं काम गरेका नेतादेखि जनप्रतिनिधिहरुको प्रवेशले पार्टी अधिवेशनको मुखमा रास्वपामा नेताको 'व्यवस्थापन' गर्न चुनौती देखिएको छ ।
What you should know
अछाम, रुपन्देही, जुम्ला र बर्दिया — गत फागुनको प्रतिनिध सभा सदस्य निर्वाचनमा ठूलो दल बनेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) यतिबेला वडा र पालिका तहको अधिवेशन सकेर जिल्ला अधिवेशनमा व्यस्त छ । आगामी असारमा महाधिवेशनको तयारीमा रहेकाे रास्वपामा तल्लो तहमा जारी अधिवेशनमा धेरैजसो ठाउँमा सर्वसम्मत नेतृत्व चयन गरिएको छ भने केहीमा मतदानबाट टुंगिएको छ ।
पार्टी अधिवेशनको मुखमा अन्य दलबाट प्रवेश गर्नेको संख्या बढिरहेकाले 'व्यवस्थापन' गर्नुपर्ने चुनौती देखिएको रास्वपा नेताहरुको दाबी छ । रास्वपा रुपन्देहीका संगठन विभाग प्रमुख ज्ञानेन्द्र पाण्डेले पार्टी संगठन विस्तारका क्रममा अन्य दलबाट पनि नेताहरु प्रवेश गर्ने क्रम बढेको बताए । यसरी प्रवेश गरेका नेतालाई समेटेरै अधिवेशन गरिरहेको उनले बताए । ‘पार्टी ठूलो हुने क्रममा आन्तरिक चुनौती पनि देखिएका छन्,’ उनले भने, ‘सबै कुरा व्यवस्थित गर्दै अगाडि बढेका छौं ।’ ठूलो दल भएकाले पार्टी प्रवेश गर्ने पनि बढेकाले यस्तो बेला संगठन खलबलिन नदिन ध्यान दिएको बताए ।
नयाँ नेतृत्व चयन भएसँगै कांग्रेस, एमाले, नेकपा छोडेर रास्वपा प्रवेश गर्नेको पनि संख्या बढिरहेको रास्वपा रुपन्देहीका सभापति डा. बुद्धिप्रसाद शर्माले बताए । रास्वपाले प्रवेशका लागि कुनै आह्वान नगरेको अवस्थामा पनि अन्य दलको जिल्ला, क्षेत्रीय र नगरकमिटिमा रहेकाहरु अहिले प्रवेश गरिरहेको उनले बताए ।
दुई साताअघि कांग्रेसका रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाका नगरसभापति कोशिषबहादुर खड्कासहित १४ जना कांग्रेस छोडेर रास्वपा प्रवेश गरेका थिए । खड्कासँगै रास्वपा प्रवेश गर्नेमा महाधिवशेन प्रतिनिधि तथा तरुण दल नगर अध्यक्ष दीपेन्द्र बुढा, कांग्रेस नगर उपसभापति किरण घिमिरे, सहसचिव कृष्ण साहनी, नविसंघ जिल्ला उपसभापति आकाश पौडेल, नगर सभापति प्रतिक भण्डारीसहितका कार्यकर्ता प्रवेश गरेको रास्वपा नगर सभापति पर्शुराम पराजुलीले बताए । उनीहरुसँग एमाले नगर कमिटि सदस्य विनोद थापा र नेपाली कम्युनिष्ट पार्टीका सन्तोष जैसवाल पनि रास्वपा प्रवेश गरेका थिए ।
जेठ पहिलो साता बुटवलका पुराना उद्योगी एवं नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य नवराज श्रेष्ठ, अभियान्ता अमृत भुसाललगायत पनि रास्वपा प्रवेश गरेका थिए । ‘धेरै साथीहरु अहिले अनौपचारिक रुपमै पार्टीको सदस्यता लिएर संगठन निर्माणकै काममा लाग्नु भएको छ,’ उनले भने, ‘केही जनप्रतिनिधि पनि पार्टीको सम्पर्कमा रहेको तर, पुराना पार्टीको पोर्टफोलियो, निर्वाचन कानून लगायतले औपचारिक घोषणा गर्न अप्ठ्यारो मानिरहनु भएको छ ।’
अछाममा पनि पुराना राजनीतिक दल छाडेर रास्वपा प्रवेश गर्ने बढेका छन् । कांग्रेस र नेपाल कम्युनिस्ट पार्टीका जिल्लादेखि वडा तहसम्मका स्थापित नेता–कार्यकर्ता रास्वपा प्रवेश गरेका हुन् । पार्टी प्रवेश गर्नेमा कांग्रेसका महासमिति सदस्य मानबहादुर शाही, कांग्रेस जिल्ला सदस्य राजेशबाबु बोगटी, जनक अधिकारी तथा पूर्व क्षेत्रीय सचिव टंक धामीलगायत रहेका छन् ।
कांग्रेसको संगठनमा लामो समय योगदान दिएका नेताहरू नै बाहिरिएपछि जिल्लाको राजनीतिक वृत्तमा तरंग पैदा भएको छ । वामपन्थी पृष्ठभूमि भएका स्थापित नेताहरू पनि रास्वपामा प्रवेश भएका छन् । उद्योग वाणिज्य संघ अछामका अध्यक्ष एवं कम्युनिस्ट नेता बमबहादुर रावल तथा अखिल नेपाल महिला संघ (क्रान्तिकारी) की जिल्ला सचिव शोधरा शाहीले पनि पुराना दल छोडेर घण्टी चिह्न रोजेका हुन् । रास्वपा अछामका नेता नामराज न्यौपानेका अनुसार विभिन्न पार्टी परित्याग गरी करिब ४ सय कार्यकर्ता रास्वपामा प्रवेश गरेका छन् । जिल्लामा रास्वपाप्रति आकर्षण तीव्र गतिमा बढिरहेको नेता न्यौपानेले दाबी गरे । आगामी २४ गते हुन गइरहेको रास्वपाको जिल्ला अधिवेशन तथा भेटघाट कार्यक्रमका लागि पार्टीका महामन्त्री भूपदेव शाह गृहजिल्ला अछाम आइपुगेका छन् । अधिवेशनको तयारी र नवप्रवेशीहरूको व्यवस्थापनका लागि महामन्त्री शाह आफैं मैदानमा खटिएका हुन् । पुराना र स्थापित अनुहारहरू नै भित्रिन थालेपछि सुदूरपश्चिमका पहाडी जिल्लाहरूमा रास्वपाले सांगठनिक रूपमा बलियो उपस्थिति जनाउन थालेको विश्लेषण गर्न थालिएको छ ।
गुठिचौर गाउँपालिका अध्यक्ष बुढा रास्वपा प्रवेश
जुम्लाको गुठिचौर गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढा रास्वपामा प्रवेश गरेका छन् । उनी गुठिचौर–३ का वडाध्यक्ष इन्द्रबहादुर बुढासहित रास्वपा प्रवेश गरेका हुन् । उनलाई रास्वपा जिल्ला सभापति मक्करबहादुर भण्डारीले स्वागत गरे । उनी कांग्रेसबाट २०७९ को स्थानीय तह निर्वाचनमा जितेका थिए । बुढाले गुठिचौरका एक सयभन्दा बढी कांग्रेस कार्यकर्ता साथमा प्रवेश गराए । रास्वपा प्रवेश नगर्दै बुढालाई कांग्रेस जिल्ला कार्यसमितिले तीन दिनभित्र स्पष्टीकरण दिन पत्र काटेको थियो ।
जेन–जी आन्दोलनपछि पालिकामा सुशासन अभियान चलाएका बुढाले कांग्रेसभित्र क्षमता र दक्षताको मूल्यांकन नहुने आरोप लगाए । सशस्त्र द्वन्द्वका बेला माओवादीमा लागेका अध्यक्ष बुढा शान्ति प्रक्रियासँगै एमालेमा आबद्ध थिए । २०७४ को स्थानीय तह चुनावमा टिकट नपाएपछि कांग्रेस प्रवेश गरेका थिए । उनी कांग्रेसको जिल्ला सचिव उम्मेदवार बनेर चुनाव हारेका थिए।
मेयरद्वारा उजुरी
बर्दियाको बासगढी नगरपालिकाका प्रमुख खड्गबहादुर खड्काले ‘फेक आइडी’ बनाएर रास्वपाको झण्डा र लोगोभित्र आफ्नो तस्बिर राखेर 'अबको विकल्प भन्दै' सामाजिक सञ्जालमा पोष्ट गरेको भन्दै प्रहरीमा उजुरी दिएका छन् ।
एमाले केन्द्रीय सदस्य रहेका खड्काले यस्तो पोष्टबाट भ्रममा नपर्न सामाजिक सञ्जालको माध्यामबाट अनुरोध गरेका छन् । एमाले जिल्ला अध्यक्ष शालिकराम अधिकारीसहित नगरप्रमुख खड्काले दोषी पत्ता लगाएर कारवाही गर्न प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालसँग माग गरेका छन् ।
खड्काले आफ्नो चरित्र हत्या हुने गरी रास्वपामा प्रवेश गरेको झुठो पोष्ट गरेकोले प्रहरीमा साइबर क्राइममा मुद्दा दायर गरेको बताए । प्रहरी निरीक्षक प्रकाशसिंह कार्कीले मेयर खड्काले सामाजिक सञ्जालमा झुठो सामग्री पोष्ट गर चरित्र हत्या गर्ने माथि साइबर क्राइम मुद्दा दर्ता गराएको बताए ।
