‘एकीकृत क्रान्ति’ गर्ने भन्दै २०७४ को निर्वाचन चन्द नेतृत्वको तत्कालिन नेपाल कम्युनिस्ट पार्टीले बहिस्कार गर्दै भोजपुरलगायत जिल्लामा बम बिष्फोट समेत गराएको थियो । यसपटकको निर्वाचनमा भने नेकपा माओवादीले १३० क्षेत्रमा उम्मेदवारी दिएको छ ।
What you should know
काठमाडौं — विद्रोह गर्ने भन्दै मूल माओवादीबाट अलग भएको नेत्रविक्रम चन्दले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी (माओवादी)ले पहिलोपटक संसदीय निर्वाचनमा भाग लिएको छ । तत्कालीन एकीकृत माओवादीबाट ०६९ मा विभाजित भएपछि चन्दको पार्टीले प्रतिनिधिसभा निर्वाचनमा पहिलोपटक भाग लिएको हो ।
महासचिव नेत्रविक्रम चन्द भने उम्मेदवार छैनन् । नेकपा माओवादीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले कालीकोटबाट उम्मेदवारी दिएका छन् । उनले कालीकोटमा एमालेका नगेन्द्र शाही, कांग्रेसका हर्षबहादुर बम, नेकपाका महेन्द्रबहादुर शाही र रास्वपाका प्रकाश न्यौपानेसँग प्रतिस्पर्धा गर्दैछन् ।
‘एकीकृत क्रान्ति’ गर्ने भन्दै २०७४ को निर्वाचन चन्द नेतृत्वको तत्कालिन नेपाल कम्युनिस्ट पार्टीले बहिस्कार गर्दै भोजपुरलगायत जिल्लामा बम बिष्फोट समेत गराएको थियो । यसपटकको निर्वाचनमा भने नेकपा माओवादीले १३० क्षेत्रमा उम्मेदवारी दिएको छ । चुनाव चिन्ह गुलाबको फूल लिएर उम्मेदवारहरू मैदानमा छन् ।
नेकपा माओवादी नेता सुदर्शन मंगोलले पार्टीले चुनावलाई क्रान्तिको मोर्चाको रुपमा लिएको उल्लेख गर्दै यसपटक एक दर्जन स्थानमा मुख्य प्रतिस्पर्धा गरिरहेको बताए । ‘हामी पहिलोपटक चुनावी मोर्चामा छौं । यो चुनावलाई क्रान्तिको मोर्चाको रुपमा लिएका छौं । हामी कालीकोट, रोल्पा, काठमाडौं–९ लगायत दर्जन स्थानमा मुख्य प्रतिस्पर्धामा छौं,’ उनले भने । माओवादी कृषि, पशुपालनलगायत मुद्दा लिएर निर्वाचनमा होमिएको छ ।
तत्कालिन माओवादी शान्ति प्रक्रियामा आएपछि २०६४ को संविधानसभा निर्वाचनमा अध्यक्ष पुष्पकमल दाहालसहित शीर्ष नेताहरू निर्वाचित भएका थिए । तत्कालीन उपाध्यक्ष मोहन वैद्य, चन्दले भने निर्वाचनमा उम्मेदवारी दिएनन् । त्यतिबेला चन्दले समानुपातिकबाट सभासद् हुन अस्वीकार गरेका थिए ।
संविधान निर्माणको कार्यदिशाप्रति असमति जनाउँदै वैद्य र चन्द संसदीय राजनीतिमा सहभागी भएका थिएनन् । पहिलो संविधानसभामा वैद्यलाई समानुपातिक सांसद बनाए पनि उनले तीन महिना नपुग्दै राजीनामा दिएका थिए ।
पहिलो संविधानसभा निर्वाचनमा माओवादी शक्तिशाली हुँदा समेत चन्दले कुनै सुविधाको पद लिएनन् । तत्कालीन उपाध्यक्ष मोहन वैद्यको नेतृत्वमा विद्रोहबाट सत्ता कब्जा गर्ने बाटोमा चन्द पनि मिसिएका थिए । शान्ति प्रकियामा आएपछि पनि अर्को विद्रोह गर्ने जोखिम लिएका थिए तर त्यो बीच बाटोमै रोकियो ।
नेकपा माओवादी शान्तिपूर्ण राजनीतिमा आएपछि चन्दले ‘जनाधार’ निर्माण गर्ने नौलो अभियान चलाए । ‘कृषि क्रान्तिबाट समाजवादको आधार बनाउने’ नीति लिँदै नेकपा माओवादीले कृषि उत्पादन सुरु गर्यो । सुरुवातमा करिब पाँच सय बिघामा खेती सुरु गरेको थियो । गतवर्ष उनले व्यवसायी विनोद चौधरीलाई दुई लाख किलो आलु बिक्री गरेर व्यवसायिक उत्पादन सुरु गरेको सन्देश दिए । पार्टी नेता तथा कार्यकर्ता आत्मनिर्भर हुने भन्दै गार्मेन्ट र मार्टसमेत सञ्चालन गरेको छ । माओवादीले कपिलवस्तु, चितवनलगायत जिल्लामा सामूहिक कृषि फार्म सञ्चालन गर्दै आएको छ ।
तत्कालिन माओवादी केन्द्रले नाम परिवर्तन गरेपछि सोही नाम चन्दले बोकेर चुनावी मैदानमा उत्रेका छन् । पार्टीले चुनावमा वाम सहकार्य गर्ने भन्दै एमाले, नेकपा, प्रगतिशील लोकतान्त्रिक पार्टी, नेकपा संयुक्तसँग चुनावी तालमेल बारे छलफल गरे पनि टुंगोमा पुग्न सकेन । चन्दले कपिलवस्तु–३ र रोल्पाबाट उम्मेदवारी दिने तयारी गरेका थिए । चुनाव आफ्नो अनुकूल हुने सम्भावना नदेखेपछि माओवादी स्थायी कमिटीले प्रवक्ता खड्गबहादुर विश्वकर्माको नेतृत्वमा उम्मेदवार उठाएको छ ।
यसै साता महासचिव चन्द रोल्पाको चुनावी सभा सकेर कपिलवस्तु फर्केका छन् । नेकपा माओवादीका नेता सन्तोष बुढामगरले रोल्पाका उम्मेदवार चुडामणि वलीलाई जिताउन टिम बनाएर घरदैलो गरिरहेको बताए ।
‘हामी टिम बनाएर पैदलै घरदैलोमा गइरहेका छौं । रोल्पामा नयाँलाई हेर्नुपर्छ भन्दै चासो देखाएका छन् । त्यहाँ हामी मुख्य प्रतिस्पर्धी हौं,’ उनले भने, ‘देशभक्त शक्तिलाई चुनाव जिताउन आग्रह गरिरहेका छौं ।’
रोल्पामा नेकपा नेता वर्षमान पुन, कांग्रेसका सुदनकुमार वली, एमालेका गोकुल घर्ती, राप्रपाका बलराम थापा प्रतिस्पर्धामा छन् ।
तत्कालीन उपाध्यक्ष मोहन वैद्यको नेतृत्वमा एक समूह एकीकृत माओवादीबाट असार ०६९ मा बिभाजन भएको थियो । वैद्य माओवादीले जनविद्रोह गर्ने रणनीति लिएका थिए । तर, उनको नेतृत्वमा जनविद्रोहमा अघि बढ्न सकेन । त्यसपछि मंसिर ०७१ मा वैद्यबाट अलग हुँदै चन्दले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)गठन गरेका थिए । नेकपा(चन्द)ले अर्धसशस्त्र संघर्ष सुरु गरी चन्दलगायतका नेता भूमिगत भएका थिए । तत्कालीन सरकारले हिंसात्मक गतिविधि गरेको भन्दै चन्दलगायत नेतामाथि मुद्दा दायर गरेको थियो ।
२८ फागुन ०७५ मा तत्कालीन केपी शर्मा ओली सरकारले नेकपामाथि प्रतिबन्ध समेत लगायो । नेकपाको हिंसात्मक गतिविधिबाट प्रहरी, शिक्षक, सर्वसाधारणलगायत ६ जनाले ज्यान गुमाएका थिए । नेकपाका १२ कार्यकर्ताको मृत्यु र १ सयभन्दा बढी कार्यकर्तामाथि हिंसात्मक गतिविधि गरेको अभियोगमा मुद्दा दायर भएको थियो । अझै पनि डेढ दर्जन कार्यकर्ता विभिन्न अभियोगमा जेलमा छन् ।
शान्तिपूर्ण राजनीतिक प्रतिस्पर्धामा आउने प्रतिबद्धता जनाएपछि ओली सरकारले नै नेकपामाथिको प्रतिबन्ध हटाएको थियो । सरकार र नेकपाबीच २१ फागुन ०७७ मा तीन बुँदे सहमतिपछि चन्द नेतृत्वको नेकपा शान्तिपूर्ण राजनीतिमा आएको हो ।
चुनावी प्रतिबद्धतापत्रः कृषि नेपालको मुख्य अर्थतन्त्रको आधार
नेकपा माओवादीले राजनीतिक पार्टीहरूको रुपान्तरण र राज्यको अर्थपूर्ण पुनः संरचनाका लागि नेपालको विविधता अनुरुप जनजाति, मधेसी, श्रमिक, महिला, किसान मजदुर, वैज्ञानिक, बुद्धिजीवी तथा सबै क्षेत्रको सहभागिता र समावेशीताको आधारमा सार्वजनिक संस्थाहरूलाई जनताप्रति उत्तरदायी, जिम्मेवार र पारदर्शी बनाउने राजनीतिक उद्देश्य लिएको छ ।
यस्तै, संविधान पुनर्लेखन गरी प्रत्यक्ष निर्वाचन प्रणालीबाट निर्वाचित कार्यकारी राष्ट्रपति हुने प्रस्ताव पनि अघि सारेको छ । ‘स्थिर सरकार, आर्थिक उन्नति, शिक्षा, स्वास्थ्य र रोजगारीप्रति राज्यको दायित्व हुने गरी राज्यको चरित्र नेपाली विशेषताको समाजवादमा आधारित हुनेछ’ प्रतिबद्धतापत्रमा भनिएको छ ।
नेपालको न्याय प्रणालीमा आमूल परिवर्तन गरिने, न्यायपालिकालाई स्वतन्त्र, निष्पक्ष, पारदर्शी र सक्षम बनाई जनताप्रति पूर्ण उत्तरदायी हुनेगरी जनताको न्याय, आशा र विश्वासको केन्द्रको रुपमा स्थापित गरिने माओवादीको प्रतिबद्धता छ ।
आर्थिक क्षेत्रमा राज्यको नीति आत्मनिर्भर, अन्तरनिर्भर हुँदै समृद्धितिर लैजाने उल्लेख छ । ‘कृषि अर्थतन्त्र नेपालको लागि अझै पनि मुख्य आधार हो र हुनुपर्छ । जमिन, जंगल, पानी, पर्यावरण, उर्वरता, जनशक्ति, आवश्यकता सबै दृष्टिले कृषिलाई राज्यले विशेष प्राथमिकतामा राखी उद्यमशीलताको प्रवर्द्धन, व्यवसायीकरण र बजारीकरणको व्यवस्था गर्नुपर्छ,’ प्रतिबद्धतापत्रमा भनिएको छ, ‘कृषिलाई आधुनिकीकरण गरी सबल र परिणाममुखी बनाउन राज्यले कृषि क्षेत्रमा लगानी वृद्धि गर्न विशेष नीति तर्जुमा गर्नुपर्छ ।’
गम्भीर भ्रष्टाचारी र मानवता विरोधी अपराधीलाई आजीवन कारावासको नीति लिइने, आम जनतालाई गुणस्तरीय शिक्षामा पहुँचको ग्यारेन्टी गरी शिक्षालाई वैज्ञानिक, प्राविधिक, जीवन उपयोगी र रोजगारमुलक बनाइने, आम नागरिकको स्वास्थ्यमा पहुँच, गुणस्तरीयता र सर्वसुलभताको सुनिश्चितता गरिने प्रतिबद्धतापत्रमा उल्लेख छ ।
अन्य मुलुकसँग नेपालको सम्बध सहअस्तित्व, स्वतन्त्रता, असंलग्नताका आधारमा मित्रवत सहकार्य गरिने नीति अवलम्बन गरिने, छिमेकी मुलुकसँग पहिलो, मित्रवत् सम्बन्ध, साझा लक्ष्य, सहकार्यको नीतिअनुरुप राष्ट्रियता, स्वाधीनता र सार्वभौमिकताको रक्षा र सम्मान गर्ने नीति अवलम्बन गरिने माओवादीले जनाएको छ ।
